संसारबाट बिदा भइन ‘सुर साम्राज्ञी’ आशा भोसले, सोमबार शिवाजी पार्कमा अन्त्येष्टि गरिने


नयाँ दिल्ली (ब्युरो) – भारतीय प्रख्यात गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको छ। करिब सात दशक सम्म संगीत क्षेत्रमा सक्रिय रहँदै आफ्ना स्वरले श्रोतालाई मन्त्रमुग्ध बनाएकी भोसलेको आइतबार निधन भएको पारिवारिक स्रोतले जनाएको छ।

स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई शनिबार ब्रीच क्यान्डी अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको थियो। उपचार कै क्रममा उनको निधन भएको हो। उनका छोरा आनन्द भोसलेले निधनको पुष्टि गरेका छन।

परिवारका अनुसार अत्यधिक थकान र छातीमा संक्रमणका कारण उनलाई अस्पताल लगिएको थियो। उपचार भइरहेका बेला उनका शुभेच्छुक र प्रशंसकले स्वास्थ्य लाभको कामना गरेका थिए। तर, सबै प्रयासका बाबजुद उनलाई बचाउन सकिएन।

उनको पार्थिव शरीरलाई सोमबार बिहान ११ बजे मुम्बई स्थित निवासमा अन्तिम दर्शनका लागि राखिनेछ। त्यस पछि अपराह्न ४ बजे दादर स्थित शिवाजी पार्कमा अन्त्येष्टि गरिने परिवारले जनाएको छ। सोही स्थानमा उनकी दिदी लता मंगेशकरको पनि अन्त्येष्टि गरिएको थियो।

८ सेप्टेम्बर १९३३ मा जन्मिएकी भोसले संगीत परिवारमा हुर्किएकी थिइन्। उनका पिता पण्डित दीनानाथ मंगेशकर शास्त्रीय गायक तथा अभिनेता थिए। बाल्यकालमै पिताको निधन भए पछि परिवार पुणेबाट कोल्हापुर हुँदै मुम्बई सरेको थियो।

भोसलेले सन १९४३ मा मराठी फिल्म ‘माझा बाल’ बाट गायन यात्रा सुरु गरेकी थिइन। त्यस पछि हिन्दीसहित विभिन्न भाषाका हजारौँ गीतमा स्वर दिँदै उनी भारतीय संगीत जगतकी अग्रणी गायिकाका रूपमा स्थापित भएकी थिइन ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : [email protected]

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!