प्रख्यात भारतीय गायिका आशा भोसलेलाई हृदयाघात, मुम्बईको अस्पतालमा उपचाररत
नयाँ दिल्ली (ब्युरो)- प्रख्यात भारतीय पार्श्वगायिका आशा भोसले लाई शनिबार (२८ चैत) हृदयाघात भए पछि मुम्बई स्थित ब्रीच क्यान्डी अस्पताल मा भर्ना गरिएको छ। हाल उहाँको आपतकालीन सेवा कक्षमा उपचार भइरहेको अस्पताल स्रोतले जनाएको छ।
अस्पतालका चिकित्सक डा. प्रतीत समदानीका अनुसार भोसलेको स्वास्थ्य अवस्थाको निगरानी भइरहेको छ। यसै बीच, उहाँकी नातिनी जनाई भोसलेले सामाजिक सञ्जाल मार्फत स्वास्थ्य अवस्था सार्वजनिक गर्दै अत्यधिक थकान र छातीमा संक्रमणका कारण अस्पताल भर्ना गर्नुपरेको जानकारी दिएकी छन। ‘उहाँको उपचार भइ रहेको छ, चाँडै सुधार हुने आशा गरेका छौँ,’ उनले भनेकी छन। साथै परिवारले निजताको सम्मान गर्न आग्रह गरेको छ।
दीर्घ सांगीतिक यात्रामा भोसलेले हिन्दी, नेपाली सहित करिब २० भाषामा गीत गाएकी छन। सन २००६ मा उनले करिब १२ हजार गीत रेकर्ड गरि सकेको बताएकी थिइन। उनले शंकर जयकिशन, सचिन देव बर्मन, आरडी बर्मन, ओपी नय्यर, इलैयाराजा, बप्पी लहरी र एआर रहमान जस्ता चर्चित संगीतकारसँग सहकार्य गरेकी छन।
भोसलेले आफ्नो करियरमा सात वटा फिल्मफेयर पुरस्कार सहित विभिन्न सम्मान प्राप्त गरेकी छन। उनलाई सन २००० मा दादासाहेब फाल्के पुरस्कार र सन २००८ मा पद्म विभूषण प्रदान गरिएको थियो। साथै, सन २०१३ मा उनले मराठी फिल्म ‘माई’ मा अभिनयसमेत गरेकी थिइन।

प्रतिक्रिया दिनुहोस