स्वास्थ्य अनुसन्धानका नतिजालाई सरकारको नीतिसँग जोड्नुपर्छ: डा. प्रमोद जोशी


काठमाडौं-नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्य सचिव डा. प्रमोद जोशीले स्वास्थ्य क्षेत्रमा गरिने अनुसन्धानहरू प्रयोगशाला र जर्नलमा मात्र सीमित नभई सरकारको नीति र कार्यक्रममा अनिवार्य रूपमा समेटिनु पर्नेमा जोड दिएका छन ।

शुक्रबारदेखि काठमाडौंमा सुरु भएको ‘१२औं स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरूको राष्ट्रिय शिखर सम्मेलन’ लाई सम्बोधन गर्दै डा. जोशीले अनुसन्धानको वास्तविक सफलता नागरिकको स्वास्थ्य अवस्थामा आउने सुधारसँग जोडिने बताए ।

‘हामीले गरेका अनुसन्धानहरूले नागरिकको जीवनस्तर सुधार्न प्रत्यक्ष योगदान दिनुपर्छ,’ उनले भने, ‘वैज्ञानिकहरूले दिने तथ्यपरक सुझाव र अनुसन्धानबाट प्राप्त प्रमाणका आधारमा नै सरकारले प्रभावकारी र जनमुखी कार्यक्रम ल्याउन सक्छ।’

डा. जोशीले यस सम्मेलनले देशका स्थापित वैज्ञानिक र युवा अनुसन्धानकर्ताहरूलाई एउटै मञ्चमा ल्याएर नीतिगत बहस गर्ने ढोका खोलेको चर्चा गरे । परिषद्ले अनुसन्धानका निष्कर्षहरूलाई एकीकृत गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई बुझाउने र त्यसलाई कार्यान्वयनको तहमा लैजान पहल गर्ने प्रतिवद्धता समेत उनले व्यक्त गरे ।

अनुसन्धान राष्ट्रिय दायित्व: उपराष्ट्रपति यादव

सम्मेलनको उद्घाटन गर्दै उपराष्ट्रपति रामसहाय प्रसाद यादवले स्वास्थ्य अनुसन्धानलाई शैक्षिक अभ्यास मात्र नभई राष्ट्रिय दायित्वका रूपमा स्वीकार गर्नुपर्ने बताए । उनले नसर्ने रोगहरूको बढ्दो भार र जलवायु परिवर्तनका चुनौतीहरू सामना गर्न अनुसन्धानलाई राष्ट्रिय प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए ।  ‘वैज्ञानिक तथ्याङ्कलाई नीति निर्माणमा रूपान्तरण गर्नु नै हाम्रो संविधानको मूल मर्म हो,’ उपराष्ट्रपति यादवले भने ।

प्रमाणमुखी स्वास्थ्य प्रणालीको विकास: डा. नारायण विक्रम थापा

परिषद्का अध्यक्ष प्रा.डा. नारायण विक्रम थापाले विगत ३५ वर्षदेखि परिषद्ले स्वास्थ्य क्षेत्रलाई प्रमाणमुखी बनाउन नेतृत्वदायी भूमिका खेलेको बताए । उनले भने , ‘परिषद केवल एउटा नियामक निकाय मात्र होइन, यो राज्यको यस्तो साझेदार हो जसले स्वास्थ्य प्रणालीलाई थप जिम्मेवार र जवाफदेही बनाउन मद्दत गरिरहेको छ।’ उनले नयाँ संक्रामक रोग र स्वास्थ्य सुशासनका चुनौतीहरूलाई सम्बोधन गर्न पुराना रणनीतिमा पुनर्विचार गर्नुपर्ने बेला आएको उल्लेख गरे ।

सम्मेलनका मुख्य आकर्षण

तीन दिनसम्म चल्ने यस शिखर सम्मेलनमा जनस्वास्थ्य, नसर्ने रोग, जलवायु परिवर्तन, स्वास्थ्यमा समता र पहुँच जस्ता महत्त्वपूर्ण विषयमा देशभरका वैज्ञानिकहरूले आफ्ना शोधपत्रहरू प्रस्तुत गर्दैछन । विशेष गरी युवा अनुसन्धानकर्ताहरूको जिज्ञासा र सिर्जनशीलता लाई प्रोत्साहन गर्ने उद्देश्यले विभिन्न सत्रहरू सञ्चालन गरिने परिषद्ले जनाएको छ । सम्मेलनमा प्रस्तुत हुने निष्कर्षहरूले नेपालको आगामी स्वास्थ्य नीति र कार्यक्रम कार्यान्वयनका लागि ठोस मार्गनिर्देश गर्ने अपेक्षा गरिएको छ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : [email protected]

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!