६ महिना मै १०० मिर्गौला प्रत्यारोपण, प्रत्यारोपण केन्द्रको उपलब्धि विस्तार


भक्तपुर – शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले पछिल्लो ६ महिनामा १०० जनामा सफल मिर्गौला प्रत्यारोपण गरेको जनाएको छ। डा. कल्पना कुमारी श्रेष्ठ कार्यकारी निर्देशक बने पछिको पछिल्लो समयमा सय जनामा सफल प्रत्यारोपण गरिएको हो ।

केन्द्रमा मिर्गौला प्रत्यारोपण कार्यक्रमको नेतृत्व युरोलोजिस्ट तथा प्रत्यारोपण शल्यचिकित्सक डा. दिपेश श्रेष्ठले गरिरहेका छन । उनकै नेतृत्वमा हालसम्म ३१४ जनामा ल्यापारोस्कोपिक नेफ्रेक्टोमी सम्पन्न भइसकेको छ।

स्थापनाको १३ वर्षमा केन्द्रले कुल १,६०६ मिर्गौला र ३६ कलेजो प्रत्यारोपण गरिसकेको छ। सीमित स्रोत साधनका बाबजुद सातामा ४ देखि ६ जना सम्म मिर्गौला प्रत्यारोपण हुँदै आएको केन्द्रीय जनाएको छ। चालु आर्थिक वर्ष २०८२/८३ को अन्त्य सम्म २०० जनामा प्रत्यारोपण गर्ने लक्ष्य राखिएको डा. कल्पना श्रेष्ठले बताए।

मानव अंग प्रत्यारोपण क्षेत्रमा केन्द्रले विभिन्न नयाँ अभ्यास स्थापना गरेको दाबी गरिएको छ। नेपालमै पहिलो पटक कलेजो प्रत्यारोपण, एकै दिन चार जनामा जीवित दाताबाट मिर्गौला प्रत्यारोपण, मस्तिष्क मृत्यु भएका व्यक्तिबाट अंग प्रत्यारोपण, एकै व्यक्तिमा मिर्गौला र कलेजो प्रत्यारोपण तथा एउटै व्यक्तिमा तेस्रो पटक मिर्गौला प्रत्यारोपण जस्ता उपलब्धि केन्द्रका नाममा छन।

यी सफलतामा नेफ्रोलोजी, एनेस्थेसिया, युरोलोजी, कार्डियोलोजी, प्याथोलोजी, रेडियोलोजी, नर्सिङ, ट्रान्सप्लान्ट कोर्डिनेसन, प्रशासन र फार्मेसी लगायत विभागका स्वास्थ्यकर्मी तथा कर्मचारीको संयुक्त प्रयास रहेको केन्द्रले जनाएको छ।

कार्यकारी निर्देशक डा. श्रेष्ठका अनुसार केन्द्रले अंग प्रत्यारोपणसँगै सिएपिडि र हेमोडायलाइसिस सेवा देशका सातै प्रदेशमा विस्तार गर्ने पहल समेत गरिरहेको छ। उनले प्रतिकूल अवस्थामा समेत जीवन सम्भव बनाउने उद्देश्य सहित स्थापना भएको यो केन्द्रले देशमा कुल प्रत्यारोपणको झन्डै दुई तिहाइ हिस्सा सम्हालेको दाबी गरिन।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : [email protected]

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!