श्रममन्त्री दीपककुमार साह बर्खास्त, स्वास्थ्य मन्त्री निशा मेहतालाई सचेत गराइयो, रास्वपाको सिफारिस पछि प्रधानमन्त्रीको निर्णय
काठमाडौँ- प्रधानमन्त्री वालेन्द्र शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार साहलाई पदबाट हटाएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सिफारिसपछि बिहीबार उक्त निर्णय गरिएको हो।
रास्वपाले मन्त्री साह माथि पदीय मर्यादा उल्लंघन गरेको आरोप लगाउँदै कारबाहीको माग गरेको थियो। पार्टीका अनुसार साहले आफ्नी पत्नीलाई लामो समय देखि निष्क्रिय रहेको स्वास्थ्य बीमा बोर्डमा सक्रिय रूपमा संलग्न गराएर पदको दुरुपयोग गरेका थिए।
यस विषयमा रास्वपाको केन्द्रीय अनुशासन आयोगले अध्ययन पछि तयार पारेको प्रतिवेदन बुधबार पार्टी नेतृत्वलाई बुझाएको थियो। प्रतिवेदनमा साहको कार्यले पार्टीको छवि र सिद्धान्तमा नकारात्मक असर परेको निष्कर्ष निकालिएको थियो। त्यसकै आधारमा सभापति रवि लामिछानेले प्रधानमन्त्रीसमक्ष कारबाही सिफारिस गरेका हुन।
प्रधानमन्त्री शाहले सोही सिफारिसलाई आधार मानेर साहलाई जिम्मेवारीबाट हटाएको जानकारी प्रेस विज्ञ दीपा दाहालले दिएकी छन।
रास्वपाले पार्टी विधान अनुसार सभापतिलाई पार्टीको आदर्श र मर्यादा जोगाउने दायित्व रहेको उल्लेख गर्दै पदको दुरुपयोग भएको अवस्थामा ‘राइट टु रिकल’ व्यवस्था प्रयोग गर्न सकिने स्पष्ट पारेको छ।
यसै बीच, स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहताले पनि उक्त प्रकरणमा अपेक्षित संवेदनशीलता नदेखाएको भन्दै उनलाई सचेत गराउन सिफारिस गरिएको थियो। प्रधानमन्त्री शाहले उनलाई औपचारिक रूपमा सचेत गराइसकेका छन।

प्रतिक्रिया दिनुहोस