त्रिवी शिक्षण अस्पतालमा अब सातामा दुई दिन शनिबार र आइतबार बिदा: कस्तो पर्छ प्रभाव
काठमाडौँ – त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगंजले आफ्नो सेवा प्रवाहमा ठुलो परिवर्तन गरेको छ। सरकारको नीति र त्रिवि कार्यकारी परिषदको निर्णयलाई पछ्याउँदै अस्पतालले अब सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो। यो दुई दिने बिदा त्यहाँ कार्यरत डाक्टर, चिकित्साकर्मी देखि लिएर सबै कर्मचारीहरूको लागि लागू हुन्छ।
यस अघि शनिबार मात्र बिदा हुने गरेकोमा अब आइतबार पनि अस्पताल का ओपिडी र इलेक्टिभ (नियमित) सेवाहरू बन्द रहनेछन। यो नियम कार्यान्वयन सँगै अस्पतालको कार्यालय समय पनि बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म कायम गरिएको छ।
किन गरियो यस्तो निर्णय?
अस्पतालका कार्यकारी निर्देशक प्रा. डा. सुभाष प्रसाद आचार्यका अनुसार यो निर्णय पछाडि कानुनी बाध्यता र आर्थिक भार मुख्य कारण रहेका छन। अस्पतालमा चिकित्सक र कर्मचारी गरी झन्डै २,००० जनशक्ति कार्यरत छन।
डा. आचार्यले नेपालहेल्थप्रेस सँग कुरा गर्दै स्पष्ट पारे, ‘यदि आइतबार कर्मचारीलाई बिदा नदिने हो भने सरकारी नियम अनुसार उनीहरूलाई थप पारिश्रमिक दिनुपर्छ। त्यसका लागि मात्रै अस्पताललाई महिनाको थप झन्डै २ करोड रुपैयाँ आवश्यक पर्छ।’
बिरामीलाई के असर पर्ला?
हप्तामा दुई दिन बिदा हुँदा बिरामीलाई पर्न सक्ने असुविधा कम गर्न अस्पतालले नयाँ कार्ययोजना अघि सारेको छ ।
शुक्रबार अब पूरा दिन सेवा: यस अघि शुक्रबार आधा दिन मात्र सञ्चालन हुने ओपिडी र शल्यक्रिया सेवाहरू अब शुक्रबार पनि अन्य दिन जस्तै पूरा समय सञ्चालन हुनेछन।
कार्यबोझ व्यवस्थापन:आइतबार बिदा भए पछि सोमबार बिरामीको चाप अत्यधिक बढ्ने अनुमान गरिएको छ। यद्यपि, डा. आचार्यले ३-४ हप्ता भित्र यो समस्या व्यवस्थित भइसक्ने दाबी गरेका छन ।
अत्यावश्यक सेवा:आइतबारको दिन अत्यावश्यक सेवामा खटिने कर्मचारीहरूलाई भने सट्टा बिदाको व्यवस्था गरिने अस्पतालले जनाएको छ।
शुक्रबारको समय थप गर्दा र दैनिक कार्य घन्टा बढाउँदा बिरामीको कार्यबोझ व्यवस्थापनमा सन्तुलन आउने विश्वास अस्पताल प्रशासनले लिएको छ। तर, दूरदराजबाट आइतबारको आशमा आउने बिरामी हरूले भने अब आफ्नो तालिका परिवर्तन गर्नु पर्ने देखिन्छ।

प्रतिक्रिया दिनुहोस