स्वास्थ्य बीमा संकटमा: ५०% दाबी ‘फर्जी’ हुन सक्ने मन्त्री दीपक साहको दाबी


काठमाडौँ – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री दीपक कुमार साहले स्वास्थ्य बीमा कार्यक्रम गम्भीर संकटमा रहेको बताएका छन ।१०औँ स्वास्थ्य बीमा दिवसका अवसरमा बुधबार आयोजित कार्यक्रम मा बोल्दै मन्त्री साहले वर्तमान अवस्थामा बीमा कार्यक्रमलाई अगाडि बढाउन कठिन रहेको औँल्याएका हुन ।

मन्त्री साहले बीमा दाबी प्रक्रियामा ठूलो अनियमितता भइरहेको आशंका व्यक्त गरे । ‘स्वास्थ्य बीमाको क्लेममा ठूलो समस्या छ, ‘उनले भने, ‘राम्ररी छानबिन गर्ने हो भने ५० प्रतिशत सम्म फर्जी (फ्रड) केसहरू देखिन सक्छन।’

खर्च र आम्दानीको असन्तुलन

मन्त्री साहले बोर्डको वित्तीय अवस्था निराशाजनक रहेको तथ्याङ्क प्रस्तुत गरे । बोर्डको वार्षिक खर्च २८ – ३० अर्ब रुपैयाँ हाराहारी रहेको तर आम्दानी दुई–तीन अर्ब मात्र हुँदा प्रणाली सकारात्मक दिशामा नरहेको उनको तर्क थियो।

मन्त्री साहले बोर्ड सधैँ सहसचिवको दबाबमा चल्नु पर्ने बाध्यता रहेको भन्दै कर्मचारीतन्त्रको कडा आलोचना समेत गरे । ‘ब्युरोक्रेसीले नेताको दाँजोमा बढी देश डुबाएको हो, अब नेतालाई घुमाउने काम बन्द गर्नुस,’ उनले चेतावनी दिए । स्वास्थ्य बीमाको हालको नाजुक अवस्थाका लागि बोर्ड, स्वास्थ्य मन्त्रालय, स्वास्थ्यकर्मी र अस्पताल सञ्चालक लगायत सबै जिम्मेवार रहेको उनले बताए।

गुनासोको चाङमा बीमा

कार्यक्रममा स्वास्थ्य मन्त्रालयका सचिव डिल्लीराम शर्माले स्वास्थ्य क्षेत्रमा सबैभन्दा बढी गुनासो आउने निकाय नै स्वास्थ्य बीमा भएको बताए। नागरिक र सेवा प्रदायक दुवै पक्ष असन्तुष्ट रहेको उल्लेख गर्दै उनले स्रोतको अभाव नै प्रमुख चुनौती रहेको स्वीकार गरे ।

त्यसै गरी, मन्त्रालयका अतिरिक्त सचिव डा. श्रीकृष्ण श्रेष्ठले बीमा कार्यक्रम संकटमा रहेकै बेला दिवस मनाउनुपर्ने अवस्था आएको बताए ।  उनले भने, ‘हामी अहिले संघर्षको चरणमा छौँ।’

स्वास्थ्य बिमा बोर्डका अध्यक्ष चन्द्रबहादुर थापा क्षेत्रीको अनुसार आजको दिनमा स्वास्थ्य बीमाको लागि तिर्नुपर्ने रकम १५ अर्बभन्दा बढी पुगि सकेको छ।

कैलालीबाट सुरु भएको यात्रा ७७ जिल्लामा

२०७२ साल चैत २५ गते कैलाली जिल्लाबाट सुरु भएको यो कार्यक्रम अहिले मुलुकका ७७ वटै जिल्ला र ७५० स्थानीय तहमा विस्तार भइसकेको छ। दशौँ वर्षमा प्रवेश गर्दा उपलब्धिका तुलनामा चुनौती र नीतिगत सुधारका पक्षहरू बढी पेचिलो बन्दै गएका छन।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : [email protected]

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!