काठमाडौंमा स्वास्थ्य अनुसन्धान शिखर सम्मेलन सुरु हुँदै, १२०० भन्दा बढी विज्ञ सहभागी हुने


काठमाडौँ – नेपाल स्वास्थ्य अनुसन्धान परिषद्‌ले १२औं स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरूको शिखर सम्मेलन आगामी चैत २७ देखि २९ सम्म काठमाडौं स्थित सोल्टी होटलमा आयोजना गर्ने भएको छ।

सन २०१५ देखि नियमित रूपमा आयोजना हुँदै आएको यो सम्मेलन यस वर्ष ‘नेपालमा स्वास्थ्य अनुसन्धान सुशासनका लागि प्रमाणमा आधारित निर्णय तथा कार्यान्वयन प्रक्रिया’, भन्ने नारा सहित सञ्चालन गरिनेछ।

स्वास्थ्य क्षेत्रमा अनुसन्धान, नीति निर्माण र व्यवहार बीचको समन्वय सुदृढ गर्ने उद्देश्य राखेको सम्मेलनले नीति निर्माता, अनुसन्धानकर्ता, विश्वविद्यालय, स्वास्थ्य क्षेत्रका उद्योग तथा विकास साझेदारलाई एउटै मञ्चमा ल्याएर अनुभव, विचार र प्रमाणमा आधारित अभ्यास साझा गरिने परिषद्का कार्यकारी प्रमुख डा. प्रमोद जोशीले बताए। सम्मेलन को उद्घाटन उपराष्ट्रपति रामसहाय प्रसाद यादवले गर्ने कार्यक्रम छ।

यस वर्षको सम्मेलनमा १२०० भन्दा बढी राष्ट्रिय सहभागी तथा बेलायत, अमेरिका, भारत, फिलिपिन्स, अष्ट्रेलिया, कोरिया र युरोपका केही अन्तर्राष्ट्रिय विज्ञहरूको सहभागिता रहनेछ। मध्यपूर्व क्षेत्रको अस्थिरताका कारण अन्तर्राष्ट्रिय सहभागिता भने अघिल्लो वर्षको तुलनामा केही घटेको परिषद्ले उल्लेख गरेको छ।

सम्मेलनका लागि प्राप्त ४६५ वटा सारांश (एब्स्ट्र्याक्ट) मध्ये ९१ वटा मौखिक र १२० वटा पोस्टर प्रस्तुतीकरणका लागि छनोट गरिएको छ। तीन दिने कार्यक्रममा एक प्लेनरी सेसन, ३५ इनभाइटेड प्रेजेन्टेसन्स, १२ समानान्तर सत्र र ५ प्यानल छलफल समावेश गरिएका छन।

समानान्तर सत्रहरूमा नसर्ने रोग, प्रजनन तथा मातृ शिशु स्वास्थ्य, मानसिक स्वास्थ्य, स्वास्थ्य सुशासन, स्वास्थ्य वित्त, संक्रामक रोग, महामारी तयारी, क्लिनिकल विज्ञान, आयुर्वेद, युनिभर्सल हेल्थ कभरेज, जलवायु परिवर्तन, पोषण, बसाइँ सराइ, जनस्वास्थ्य, ज्येष्ठ नागरिक स्वास्थ्य लगायत विषय समेटिनेछन।

यस्तै, अनुसन्धान नियमन र नैतिकता, क्लिनिकल ट्रायल सञ्चालन, शैक्षिक संस्था र स्वास्थ्य उद्योग बीच सहकार्य तथा स्वास्थ्य बीमाको प्रभावकारिता जस्ता विषयमा विशेषज्ञ बीच छलफल हुने जनाइएको छ।

सम्मेलनमा स्वास्थ्य अनुसन्धान क्षेत्रमा उत्कृष्ट योगदान पुर्‍याउने व्यक्तिहरूलाई पुरस्कार प्रदान गरिनेछ । परिषद्ले सम्मेलन मार्फत अनुसन्धानको गुणस्तर अभिवृद्धि, नीति निर्माणमा प्रमाणको प्रयोग प्रवर्द्धन तथा स्वास्थ्य प्रणालीलाई थप समावेशी र दिगो बनाउने अपेक्षा गरेको छ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : [email protected]

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!