पूर्वयुवराज पारस शाहको मुटुको पेसमेकर फेरियो, स्वास्थ्य अवस्था स्थिर
काठमाडौं- पूर्वयुवराज पारस शाहको मुटुमा राखिएको उपकरण ‘पेसमेकर’ को ब्याट्री सफलतापूर्वक फेरिएको छ। मुटुमा समस्या देखिए पछि उनलाई थापाथली स्थित नर्भिक अस्पताल भर्ना गरिएको थियो।
अस्पतालका चिकित्सकहरूका अनुसार बिहीबार बिहान पारसको मुटुमा रहेको पेसमेकरको ब्याट्री परिवर्तन गरिएको हो। यसअघि नै मुटुको समस्याका कारण बैंककमा उनको मुटुमा यो उपकरण जडान गरिएको थियो।
उपचारमा संलग्न एक चिकित्सकले जानकारी दिए अनुसार अहिले उनको स्वास्थ्य अवस्था स्थिर छ। ‘ब्याट्री सकिएकाले त्यसलाई परिवर्तन गरिएको हो, अहिले उहाँको अवस्था सामान्य छ र सम्भवतः दुई तीन दिन भित्रै डिस्चार्ज गरिनेछ,’ उनले भने।
लामो समय देखि मुटुको समस्या झेल्दै आएका ५४ वर्षीय शाह लाई अस्पतालले केही दिन पूर्ण आराम गर्न सल्लाह दिएको छ।
के हो पेसमेकर र किन चाहिन्छ?
पेसमेकर मुटुको चाललाई नियमित गराउने एउटा सानो विद्युतीय यन्त्र हो। यसको मुख्य काम र उपयोगिता यस प्रकार छ ।
मुटुको चाल मिलाउने: जब मानिसको मुटुले प्राकृतिक रूपमा आवश्यक विद्युतीय तरंग उत्पन्न गर्न सक्दैन, तब पेसमेकरले मुटुलाई कृत्रिम चाल दिने काम गर्छ।
धड्कन सुस्त हुँदा सहयोगी: यदि कसैको मुटुको धड्कन निकै ढिलो चल्छ (ब्राडिकार्डिया) भने पेसमेकरले त्यसलाई सामान्य गतिमा ल्याउन मद्दत गर्छ ।
रक्त सञ्चारमा सुधार: मुटुको चाल अनियमित हुँदा शरीरका अंगहरूमा पर्याप्त रगत पुग्न पाउँदैन। पेसमेकरले मुटुलाई लयमा राखेर शरीरभरि रक्तप्रवाह सन्तुलित बनाउँछ।
ब्याट्रीको भूमिका: यो यन्त्र छातीको छालामुनि सानो शल्यक्रिया गरेर राखिन्छ। यसको ब्याट्री निश्चित वर्षपछि फेर्नुपर्ने हुन्छ, जुन अहिले पारस शाहको हकमा गरिएको हो ।

प्रतिक्रिया दिनुहोस