शक्तिको आडमा काज मिलाएका डाक्टर माथि स्वास्थ्य मन्त्रालयको ‘डण्डा’: दुई दिनमै २० जना विशेषज्ञको काज फिर्ता
काठमाडौँ – वर्षौँदेखि राजनीतिक शक्तिको आडमा राजधानी र सुगमका अस्पतालहरूमा ‘काज’ मिलाएर बसिरहेका शक्ति केन्द्रका निकटका चिकित्सकहरूको मनपरी माथि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कठोर लगाम लगाउन सुरु गरेको छ।
मन्त्रालयले पछिल्लो ४८ घण्टा भित्रै २० जना विशेषज्ञ डाक्टरको काज फिर्ता गर्दै उनीहरूलाई दरबन्दी भएकै ठाउँमा खटाएको छ।
विगतमा सरकार परिवर्तन हुना साथ सरुवा र काजको नाममा हुने राजनीतिक चलखेलका कारण स्वास्थ्य क्षेत्र थिलथिलो बनेको थियो। पहुँचवाला डाक्टरहरू काठमाडौँका ठुला अस्पताल मै रमाइ रहने र दूरदराजका नागरिकले विशेषज्ञ सेवा नपाएर अकालमै ज्यान गुमाउनुपर्ने बेथितिलाई अन्त्य गर्न स्वास्थ्य मन्त्री निशा मेहताले पद भार सम्हाले लगत्तै देखि यो ‘क्लिन अप’ अभियान सुरु गरेकी छिन ।
दुई दिनमै २० डाक्टरको काज फिर्ता: के छ विवरण?
स्वास्थ्य मन्त्रालयले पछिल्लो पटक ७ जना वरिष्ठ चिकित्सकहरूलाई फिर्ता पठाउने निर्णय गर्नु भन्दा दुई दिन अघि मात्रै अन्य १३ जना चिकित्सक र १ जना स्वास्थ्यकर्मी गरी १४ जनालाई उनीहरूको दरबन्दी कायम रहेको निकायमा पठाइ सकेको छ। यो सँगै दुई दिन भित्रै काज फिर्ता हुने विशेषज्ञ डाक्टरको सङ्ख्या २० पुगेको छ।
राजनीतिक संरक्षणको पर्खाल ढल्दै
स्वास्थ्य क्षेत्रमा ‘काज’ शब्द राजनीतिक संरक्षणको पर्याय जस्तै बनेको थियो। सत्ता र शक्तिको निकट रहेका चिकित्सकहरूले मन्त्रालयका उच्च अधिकारी र राजनीतिक नेतृत्वलाई प्रभावमा पारेर वर्षौँ सम्म दरबन्दी अर्कै ठाउँमा भए पनि काठमाडौँ वा आफूले मन परेको स्थान छाड्न नपर्ने ‘सेटिङ’ मिलाउँदै आएका थिए। तर, यस पटक मन्त्रालयले कुनै पनि दबाब र प्रभावलाई बेवास्ता गर्दै ‘जहाँ दरबन्दी, त्यहाँ सेवा’ भन्ने कठोर नीति अख्तियार गरेको छ
मोफसलमा विशेषज्ञ सेवाको आशा
यो निर्णयले काठमाडौँ लगायत ठूला सहर केन्द्रित स्वास्थ्य सेवालाई विकेन्द्रीकरण गर्न ठुलो मद्दत पुग्ने अपेक्षा गरिएको छ। लामो समय देखि विशेषज्ञ चिकित्सकको अभाव झेलिरहेका भेरी, नारायणी, भरतपुर र गजेन्द्र नारायण सिंह लगायतका अस्पतालहरूले अब अनुभवी जनशक्ति पाउने भएका छन्।
यो अभियान केवल केही दिनको चर्चाका लागि मात्र हो वा वर्षौँ देखि ‘काज’ का नाममा काठमाडौँ कब्जा गरेर बसेका अन्य सयौँ कर्मचारीहरू माथि पनि यस्तै एक्सन हुन्छ, त्यो भने आगामी दिनले स्पष्ट पार्नेछ। यद्यपि, मन्त्रालयको यो ‘बोल्ड’ मुभले पहुँचको भरमा काम ठग्नेहरूलाई भने निकै ठुलो झट्का दिएको छ।
मन्त्रालयको मिति २०८२/१२/१७ को पछिल्लो निर्णयले यी ७ वरिष्ठ विशेषज्ञहरूलाई सुगमको मोह त्याग्न बाध्य पारेको छ ।
कुन चिकित्सक कहाँ पठाइए?
मन्त्रालयले सार्वजनिक गरेको नामावलीअनुसार काज फिर्ता हुने चिकित्सकहरू र उनीहरूको नयाँ कार्यस्थल यस प्रकार छ ।
- डा. दिनेश शिवाकोटी: कान्ति बाल अस्पताल, काठमाडौँबाट भेरी अस्पताल, नेपालगन्ज पठाइएको छ। उनी दशौँ तहका वरिष्ठ कन्सल्टेन्ट डर्माटोलोजिस्ट हुन्।
- डा. प्रमोध कट्टेल: परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल, काठमाडौँबाट पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा फिर्ता पठाइएको छ। उनी दशौँ तहका वरिष्ठ कन्सल्टेन्ट अब्स्ट्रेट्रिक्स तथा गाइनोकोलोजिस्ट हुन्।
- डा. सोहनी बज्राचार्य: राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौँबाट पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ। उनी नवौँ तहको कन्सल्टेन्ट माइक्रो बायोलोजिस्ट हुन्।
- डा. श्याम किशोर चौधरी: चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (वीर अस्पताल) बाट भरतपुर अस्पताल, चितवन फिर्ता पठाइएको छ। उनी नवौँ तहका ओरल तथा म्याक्जिलो फेसियल सर्जन हुन्।
- डा. चुनु दर्नाल: भरतपुर अस्पतालबाट पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ। उनी नवौँ तहको ई.एन.टी. सर्जन हुन्।
- डा. दिबस सापकोटा: भरतपुर अस्पतालबाट नारायणी अस्पताल, पर्सा पठाइएको छ। उनी नवौँ तहका कन्सल्टेन्ट रेडियोलोजिष्ट हुन्।
- डा. रन्जु पोखरेल: पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट गजेन्द्र नारायण सिंह अस्पताल, सप्तरी पठाइएको छ। उनी नवौँ तहको डर्माटोलोजिष्ट हुन्।

प्रतिक्रिया दिनुहोस