बालेन्द्र शाह प्रधानमन्त्री, स्वास्थ्यमन्त्री निशा मेहता, १५ सदस्यीय मन्त्रिमण्डल गठन
काठमाडौं – रास्वपा संसदीय दलका नेता बालेन्द्र शाह ले प्रधानमन्त्री पदको शपथ लिएका छन्। राष्ट्रपति रामचन्द्र पौडेल ले शीतल निवासमा आयोजित समारोहमा उनलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।
३६ वर्षीय शाहले प्रधानमन्त्रीसँगै रक्षा र उद्योग मन्त्रालयको जिम्मेवारी पनि सम्हालेका छन्। नेपालको संविधान २०७२ जारी भएपछि सो धाराअनुसार प्रधानमन्त्री नियुक्त भएको यो पहिलो घटना हो। साथै, मधेशी समुदायबाट प्रधानमन्त्री बन्ने यो पहिलो अवसर समेत हो।
प्रधानमन्त्री शाहको नेतृत्वमा १५ सदस्यीय मन्त्रिमण्डल गठन गरिएको छ। मन्त्रिमण्डलमा निशा मेहता स्वास्थ्य तथा जनसंख्या मन्त्री बनेकी छन् भने स्वर्णिम वाग्ले अर्थमन्त्री नियुक्त भएका छन्। वाग्ले मन्त्रिपरिषद्को दोस्रो वरीयतामा रहेका छन्।
सुधन गुरुङ ले गृह मन्त्रालय सम्हालेका छन् भने शिशिर खनाल परराष्ट्रमन्त्री बनेका छन्।
यस्तै, सुनिल लम्साल ले भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालयको जिम्मेवारी पाएका छन्। विराजभक्त श्रेष्ठ ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री बनेका छन्।
खड्कराज पौडेल पर्यटनमन्त्री नियुक्त भएका छन् भने सस्मित पोखरेल लाई शिक्षा, विज्ञान तथा प्रविधि र युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिइएको छ।
विक्रम तिमिल्सिना सञ्चारमन्त्री बनेका छन्। प्रतिभा रावल सामान्य प्रशासन, दीपक साह श्रम, रोजगार तथा सामाजिक सुरक्षा र सोविता गौतम कानुन मन्त्रालयको जिम्मेवारीमा छन्।
त्यसैगरी, गीता चौधरी कृषि तथा पशुपन्छी विकास र वन तथा वातावरण मन्त्री बनेकी छन् भने सीता वादी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नियुक्त भएकी छन्।

प्रतिक्रिया दिनुहोस