मधेश प्रदेशमा चिकित्सकको बिचल्ली: ५ महिनादेखि तलब नपाएपछि आन्दोलनको चेतावनी


अतुल मिश्र (काठमाडौँ) – मधेस प्रदेशको  प्रादेशिक अस्पताल मलंगवा सर्लाहीमा छात्रवृत्ति करारमा कार्यरत  मेडिकल अधिकृत आठौं तह का ९ जना चिकित्सकहरूले गत पुस महिना देखि तीन महिनाको तलब पाएका छैनन। तलब मात्र होइन उनीहरूलाई गत दशैंको पेस्की समेत दिइएको छैन ।

मधेसमा भएका सरकारी स्वास्थ्य निकायहरूको लागि यो कुनै नौलो कुरा होइन र यो मुद्दामा हाल सम्म प्रदेश र केन्द्र का सम्बद्ध निकायले  खासै ध्यान नदिएको देखिएको छ । मधेसका कतिपय ठाउँमा त छात्रवृत्ति करारमा कार्यरत डाक्टरहरू पाँच महिना सम्मको तलब पाएका छैनन।

प्रादेशिक अस्पताल मलंगवा का  निमित्त मेडिकल सुपरिटेन्डेड डा. रामप्रकाश साह भन्नुहुन्छ – ‘छात्रवृत्ति करार का चिकित्सकहरूको तलबको लागि हामी निरन्तर प्रदेश र केन्द्रका सम्बद्ध निकायहरूको सम्पर्कमा छौं। अस्पतालले मात्र सम्बद्ध चिकित्सकहरूको हाजिर पठाउने हो ।’

उक्त तलब मधेस प्रदेशको स्वास्थ्य मन्त्रालय बाट आउने हो। प्रदेशमा समेत केन्द्रको स्वास्थ्य मन्त्रालयबाट आउने हो ।

फ्रन्टलाइन डक्टर्स नेपाल (एफडीएन) का संयुक्त सचिव र प्रादेशिक अस्पताल मलंगवा का छात्रवृत्ति करारका चिकित्सक डा. पुरुषोत्तम प्रसाद यादव भन्छन – ‘मैले यो अस्पतालमा  काम गरेको डेढ वर्ष भयो। सुरुको बेला ज्वाइन गरेको तलब पनि पाँच महिना पछि आयो । कति चोटि त तलब पाउन आन्दोलन नै गर्नु पर्यो ।’

उनका अनुसार यो समस्या मधेस भरमा कार्यरत छात्रवृत्ति करारका चिकित्सक एव नर्सिंग स्टाफको छ ।

मधेसमा कार्यरत छात्रवृत्ति चिकित्सक एवं नर्सिंग स्टाफमा देखिएको यो समस्या  अन्तर्गत बारम्बार तलब पाउन आन्दोलन नै गर्नुपर्ने अवस्था रहेको समेत डा. यादव बताउँछन।

प्रादेशिक अस्पताल मलंगवा का छात्रवृत्ति करारमा कार्यरत चिकित्सकहरूले नेपाल चिकित्सक संघ लाई पत्र लेख्दै विगत तीन महिनादेखि तलब र दशैं भत्ता समेत नपाएको गुनासो गरेका छन ।

छात्रवृत्ति करार अन्तर्गत दुर्गम सेवामा खटिएका स्वास्थ्यकर्मीहरूले लामो समय देखि तलब र भत्ता नपाउँदा उनीहरूको दैनिक जीवनयापन नै संकटमा परेको औल्याउँदै चिकित्सक संघलाई दिइएको पत्रको बोधार्थ मधेस प्रदेश एवं काठमाडौँमा भएको स्वास्थ्य मन्त्रालय, नेपाल मेडिकल काउन्सिल र टेकु स्थित स्वास्थ्यमा सेवा विभागलाई समेत दिएको छ ।

यति मात्र नभई फ्रन्टलाइन डक्टर्स नेपाल ले मधेश प्रदेशको स्वास्थ्य मन्त्रालयलाई ध्यानाकर्षण पत्र पठाउँदै मधेसमा छात्रवृत्ति करारमा रहेका डाक्टरहरू को ३ देखि ५ महिना सम्मको तलब रोकिएको खुलासा गरेको छ। अहोरात्र बिरामीको सेवामा खटिने स्वास्थ्यकर्मीलाई सरकारले आधारभूत पारिश्रमिक समेत उपलब्ध नगराउनु राज्यको चरम लापरबाही भएको ठहर एफडीएनको छ।

आन्दोलनको चेतावनी

तलब रोकिएका कारण स्वास्थ्यकर्मीहरूको मनोबल खस्किएको र यसले समग्र स्वास्थ्य सेवाको प्रभावकारितामा नै गम्भीर असर पर्ने देखिएको छ। एफडीएनको पत्रमा भनिएको छ, ‘यदि यथाशीघ्र वक्यौता तलब र भत्ताको निकास नभए, हामी थप सशक्त कदम चाल्न बाध्य हुनेछौँ।’

मन्त्रालयको मौनता माथि प्रश्न

स्वास्थ्यकर्मीहरूले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, स्वास्थ्य मन्त्रालय र स्वास्थ्य सेवा विभाग लगायतका निकायहरूमा बोधार्थ पठाउँदै समस्या समाधानका लागि गुहार मागेका छन।

जनतालाई स्वास्थ्य सेवाको ग्यारेन्टी गर्ने सरकारले सेवा प्रवाह गर्ने जनशक्तिलाई नै भोकै राखेर कस्तो स्वास्थ्य सुधार गर्न खोजेको हो, एफडीएनका अध्यक्ष डा. चेवन राज कार्की भन्छन -‘समयमै तलबको लागि आन्दोलन गरेपछि सामाजिक सञ्जाल र नागरिक स्तरमा समेत आलोचना सुरु हुन थाल्दा मात्र मधेसमा तलब पाउने अवस्था देखिएको छ।’ डा. कार्कीका अनुसार धेरै समय देखि जारी यो समस्या को जिम्मेवारी प्रदेशले केन्द्र लाई र केन्द्रले प्रदेशमा थोपर्ने गरेको छ ।

अस्पताल जस्तो संवेदनशील क्षेत्रमा कार्यरत जनशक्तिलाई महिनौँ सम्म तलब नदिनुले प्रदेश सरकारको कार्यक्षमता माथि मात्र होइन, मानवीय संवेदना माथि पनि ठुलो प्रश्न चिन्ह खडा गरेको उनी बताउँछन ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : [email protected]

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!