क्यान्सरले थलिएका बिरामीमाथि ‘विवादास्पद’ शल्यक्रिया: वीरगञ्जका डा. मनोज गुप्तामाथि मेडिकल काउन्सिलको डन्डा
अतुल मिश्र (काठमाडौँ) – चिकित्सा क्षेत्रमा ‘बिरामीको हित गर्ने’ (बेनेफिसेन्स) र ‘अहित नगर्ने’ (डु नो हार्म) भन्ने एउटा सर्वमान्य सिद्धान्त हुन्छ। तर, वीरगञ्जको प्रभु हस्पिटल एन्ड रिसर्च सेन्टर प्राली का एक चिकित्सकले यी दुवै सिद्धान्तलाई लत्याउँदै अन्तिम अवस्थाको क्यान्सरले थलिएका बिरामी वाट व्यक्तिगत फाइदा लिनको लागि ‘जबरजस्ती’ शल्यक्रिया गरेको तथ्य खुलेको छ।
नेपाल मेडिकल काउन्सिलले बाराका ३७ वर्षीय सुरेश शाह कानुको मृत्यु प्रकरणमा छानबिन गर्दै शल्यक्रियामा संलग्न चिकित्सक डा. मनोज कुमार गुप्तालाई दोषी ठहर गरी कारबाहीको निर्णय गरेको छ। डा. गुप्ताको नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर ४७१८ हो ।
के थियो घटना?
मेडिकल काउन्सिलका रजिस्ट्रार डा. सतिश कुमार देवका अनुसार यो घटना २०८० साल कात्तिकको हो। पित्तथैलीको समस्या लिएर अस्पताल पुगेका सुरेशलाई डा. गुप्ताले कात्तिक २० गते ‘ल्याप्रोस्कोपिक कोलसिस्टेक्टोमी’ (पेटमा साना प्वाल पारेर पित्तथैली निकाल्ने प्रविधि) मार्फत शल्यक्रिया गरे। तर, शल्यक्रिया गर्नु भन्दा दुई दिन अघि गरिएको कन्ट्रास्ट एन्हान्स्ड कम्प्युटेड टोमोग्राफी (सिइसीटी) रिपोर्टले बिरामीलाई ‘एडभान्स्ड (उन्नत) गलब्लाडर (पित्त थैली) क्यान्सर’ भइ सकेको र त्यो शरीरका अन्य भागमा फैलिसकेको स्पष्ट देखाएको थियो ।
एडभान्स्ड गल्ब्लाडर क्यान्सर भनेको पित्ताशय को उन्नत चरणको क्यान्सर हो, जसलाई स्टेज ३ वा ४ को रूपमा चिनिन्छ। यस अवस्थामा ट्युमर गल्ब्लाडरको पर्खाल भेदेर नजिकैका अंगहरू, लिम्फ नोडहरू वा टाढाका अंगहरू (जस्तै कलेजो वा फोक्सो) मा फैलिएको हुन्छ।
चिकित्सा विज्ञानका अनुसार यस्तो अवस्थामा सामान्य शल्यक्रियाले बिरामीलाई फाइदा पुग्दैन, बरु जोखिम बढाउँछ। तर डा. गुप्ताले बिरामीका आफन्तलाई रोगको गम्भीरता र शल्यक्रियाको सीमा बारे कुनै जानकारी नगराई अपरेसन अगाडि बढाएको काउन्सिलको ठहर रहेको डा. देव बताउँछन ।
तर नेपालहेल्थप्रेस ले डा. मनोज कुमार गुप्तालाई मेडिकल काउन्सिलबाट गरिएको कारबाहीको विषयमा सोध्दा उनले आफूलाई यस बारेमा कुनै जानकारी नरहेको बताए ।
छानबिनमा खुलेका तीन डरलाग्दा तथ्य
काउन्सिलको १२औँ पूर्ण बैठकले डा. गुप्ताको काममा तीन वटा मुख्य ‘ब्लन्डर’ (गम्भीर गल्ती) भेटाएको छ ।
- प्रतिबन्धित शल्यक्रिया: क्यान्सर फैलिसकेको र निको नहुने अवस्था (इनओपरेबल) हुँदाहुँदै पनि शल्यक्रिया गरेर डाक्टरले मेडिकल ‘स्टान्डर्ड अफ केयर’ उल्लंघन गरे।
- शंकास्पद बायोप्सी रिपोर्ट: वीरगञ्जमै बायोप्सी सुविधा उपलब्ध हुँदाहुँदै अन्य रिपोर्टसँग मेल नखाने गरी विदेशको अस्पतालबाट बायोप्सी रिपोर्ट मगाइएको भेटियो। काउन्सिलले यसलाई प्रमाणको विश्वसनीयतामाथि नै गम्भीर नैतिक प्रश्न मानेको छ।
- सञ्चारको अभाव: बिरामीका आफन्तलाई रोग र उपचारका विकल्पबारे स्पष्ट जानकारी नदिई ‘अँध्यारोमा’ राखियो।
काउन्सिलको कडा ‘एक्सन’
उपचारमा चरम लापरबाही देखिए पछि नेपाल मेडिकल काउन्सिलले डा. गुप्तालाई तत्काल लागू हुने गरी कारबाही गरेको डा. देव बताउछन । यस अन्तर्गत उनलाई ६ महिनाको निगरानी (प्रोबेशन) गरिने भएको छ । डा. गुप्तालाई ६ महिना सम्म ‘जीआई अन्को-सर्जरी’ विधामा कडा निगरानीमा राखिनेछ।
यस्तै उनलाई अब अनिवार्य तालिम गर्नु पर्नेछ । उनले यो अवधिमा मान्यता प्राप्त संस्थाबाट थप क्लिनिकल तालिम लिनु पर्नेछ र आफ्नो प्रगतिको नियमित रिपोर्ट काउन्सिलमा बुझाउनु पर्नेछ।
यति मात्र नभए अब उनलाई पूर्व अनुमति समेत लिनु पर्नेछ । डा. गुप्ताले सो सेवा दिने अस्पतालमा काम सुरु गर्नु अघि काउन्सिलबाट अनिवार्य पूर्व स्वीकृति लिनुपर्ने सर्त राखिएको छ।
यो फैसलाले चिकित्सा क्षेत्रमा मनोमानी गर्ने र बिरामीको स्वास्थ्य माथि खेलबाड गर्नेहरूलाई कडा सन्देश दिएको डा. देव बताउँछन। काउन्सिलले यदि यी सर्तहरू पालना नगरे डा. गुप्तामाथि थप कठोर कारबाही गरिने चेतावनी समेत दिएको छ।

प्रतिक्रिया दिनुहोस