अंग प्रत्यारोपणका सारथी डा. पुकारको अगुवाइमा मनाइयो विश्व मृगौला दिवस: ‘प्रत्यारोपी पनि अरू सरह सक्षम’
ललितपुर – ‘सबैका लागि मृगौला स्वास्थ्य: मानिसको हेरचाह, पृथ्वीको संरक्षण’, भन्ने अन्तर्राष्ट्रिय नाराका साथ नेपालमा पनि विभिन्न कार्यक्रम गरी विश्व मृगौला दिवस मनाइएको छ। स्वास्थ्य अभियान नेपाल (शान अस्पताल) को आयोजनामा भएको प्रभात फेरी र मैत्रीपूर्ण फुटबल खेलले अंग दान र मृगौला स्वास्थ्यबारे समाजमा नयाँ सन्देश प्रवाह गरेको छ।
मैदानमा देखियो प्रत्यारोपीको उत्साह
ग्वार्को चोक देखि सातदोबाटो स्थित एन्फा खेलमैदान सम्म निकालिएको प्रभात फेरीमा मृगौला फेल भएका बिरामी, अंगदाता, चिकित्सक, कलाकार र सञ्चारकर्मीको बाक्लो उपस्थिति थियो। कार्यक्रमको मुख्य आकर्षण भने एन्फा मैदानमा भएको मैत्रीपूर्ण फुटबल खेल बन्यो।
उक्त खेलमा अंग प्रत्यारोपण गराएका व्यक्तिहरूको टोलीले कलाकार, पत्रकार र चिकित्सक सम्मिलित टोलीलाई ३–२ गोल अन्तरले पराजित गर्यो। यो नतिजाले अंग प्रत्यारोपण पछि पनि मानिस अरू सरह नै स्वस्थ, सबल र सक्रिय जीवन बिताउन सक्छन् भन्ने तथ्यलाई मैदानमै प्रमाणित गरिदिएको छ।
डा. पुकार चन्द्र श्रेष्ठ: प्रत्यारोपणमा शून्यबाट शिखर सम्मको यात्रा
कार्यक्रममा स्वास्थ्य अभियान नेपालका अध्यक्ष एवं वरिष्ठ प्रत्यारोपण विशेषज्ञ डा. पुकार चन्द्र श्रेष्ठले अंग दान र प्रत्यारोपणको क्षेत्रमा सबैको साथ आवश्यक रहेको बताए। नेपालको चिकित्सा इतिहासमा डा. श्रेष्ठको नाम अंग प्रत्यारोपणको पर्यायवाची मानिन्छ। शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरलाई १३ वर्ष सम्म नेतृत्व दिएर शून्यको अवस्थाबाट देशकै नमुना संस्था बनाएका डा. श्रेष्ठ ६ महिना अघि मात्रै सरकारी सेवाबाट निवृत्त भएका हुन । उनको नेतृत्वमा नेपालमा पहिलो पटक मस्तिष्क मृत्यु भएका दाताबाट अंग प्रत्यारोपण सुरु भएको हो भने एउटै व्यक्तिमा कलेजो र मृगौला दुवैको सफल प्रत्यारोपण गरियो। डा. पुकार मुलुक मै सबै भन्दा बढी मृगौला र कलेजो प्रत्यारोपण गर्ने कीर्तिमान समेत कायम गरेका छन।
एउटै व्यक्तिमा तेस्रो पटक सम्म मृगौला प्रत्यारोपण गर्ने सफल शल्य चिकित्सकका रूपमा चिनिने डा. श्रेष्ठ सरकारी सेवा निवृत्ति भएर पछिल्लो छ महिनादेखि ‘शान अस्पताल’ मार्फत स्वास्थ्य सेवा अभियानमा सक्रिय छन ।
कलाकार र सामाजिक व्यक्तित्वको ऐक्यबद्धता
वरिष्ठ कलाकार हरिवंश आचार्यको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा अभिनेत्री श्वेता खड्का, पल्पसा डंगोल (चमसुरी), गायिका बिन्दु परियार, पूर्व मिस नेपालहरू सरिसा श्रेष्ठ र श्रीच्छा प्रधान लगायतको उपस्थिति थियो।
यस्तै, गिनिज बुक रेकर्डधारी प्रत्यारोपी सगरमाथा आरोही पेम्बा शेर्पा र फुटबलका पूर्व कप्तान गणेश थापाले पनि अभियानमा ऐक्यबद्धता जनाए ।
विजेता टोलीका कप्तान झमक श्रेष्ठलाई ट्रफी र उप विजेता टोलीकी सदस्य श्वेता खड्कालाई प्रमाणपत्र वितरण गर्दै कार्यक्रम समापन गरिएको थियो। नेपाल किड्नी समाज, मृगौला पीडित सरोकार समाज र राष्ट्रिय मिर्गौला पीडित सरोकार केन्द्रले यस कार्यक्रममा सह आयोजना गरेका थिए।



प्रतिक्रिया दिनुहोस