प्रत्येक १० मध्ये १ लाई मिर्गौला रोगको जोखिम: भक्तपुरमा जनचेतनामूलक ‘किड्नी वाक’
भक्तपुर– विश्व भर टाउको दुखाइ बनिरहेको मिर्गौला रोग नेपाल मा पनि तीव्र रूपमा फैलि रहेको छ। तथ्याङ्क अनुसार अहिले प्रत्येक १० मध्ये १ जनालाई कुनै न कुनै प्रकारको मिर्गौला रोग लाग्ने गरेको छ।
यही गम्भीर अवस्थालाई मध्यनजर गर्दै ‘सबैका लागि मिर्गौला स्वास्थ्य’ भन्ने नाराका साथ बिहीबार भक्तपुरमा विश्व मिर्गौला दिवस भव्य रूपमा मनाइएको छ।
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको आयोजनामा बिहानै निकालिएको ‘किड्नी वाक’ (मिर्गौला पदयात्रा) ले भक्तपुर नगरका विभिन्न भागको परिक्रमा गरेको थियो। धिमे बाजा, प्लेकार्ड र ब्यानर सहित निस्किएको उक्त -यालीमा स्वास्थ्यकर्मी, अङ्ग प्रत्यारोपण गरेका व्यक्तिहरू र सर्वसाधारणको उत्साह जनक सहभागिता थियो।
सेवा विस्तारमा ठाउँको अभाव
कार्यक्रममा प्रत्यारोपण केन्द्रकी कार्यकारी निर्देशक डा. कल्पना कुमारी श्रेष्ठले अस्पतालको सफलता र चुनौती दुवै पक्ष बारे जानकारी दिइन्। उनका अनुसार केन्द्रले हाल सम्म १ हजार ५ सय ८६ जनाको मिर्गौला र ३६ जनाको कलेजो सफल प्रत्यारोपण गरिसकेको छ।
‘हामी दैनिक १५० जनाको डायलाइसिस गरिरहेका छौँ, तर ठाउँ निकै साँघुरो भयो,’ डा. श्रेष्ठले भनिन्, ‘सेवालाई अझै विस्तार गर्ने इच्छा हुँदा हुँदै पनि जग्गा अभावले हामी रोकिएका छौँ। सरकारले उचित स्थानमा जग्गा उपलब्ध गराइदिए धेरै बिरामीले राहत पाउने थिए।’
स्वास्थ्य मन्त्रीको प्रतिबद्धता: ‘जग्गा खोज्न पहल गर्छु’
कार्यक्रमकी प्रमुख अतिथि स्वास्थ्यमन्त्री सुधा शर्माले केन्द्रको सेवाको प्रशंसा गरिन्। आफू स्वास्थ्य सचिव हुँदा नै यस केन्द्रको परिकल्पना गरिएको स्मरण गर्दै उनले भनिन्, ‘बिरामीले सहज सेवा पाउनुपर्छ। केन्द्रको भवन विस्तारका लागि जग्गा उपलब्ध गराउन म मन्त्री पदमा रहँदा वा नरहँदा पनि सधैँ पहल गरिरहनेछु।’
त्यस्तै, मानव अङ्ग प्रत्यारोपण विकास समितिका अध्यक्ष डा. केशरबहादुर ढकालले यस केन्द्रलाई ‘सेन्टर अफ एक्सीलेन्स’ (विशिष्टीकृत केन्द्र) का रूपमा विकास गर्न आफ्नो पूर्ण सहयोग रहने प्रतिबद्धता जनाए।
अङ्गदान: जीवन बचाउने महादान
मिर्गौला दिवसको अवसरमा आयोजित कार्यक्रमले अङ्गदान बारे रहेको भ्रम चिर्न र जनचेतना फैलाउन विशेष जोड दिएको थियो। अङ्ग प्रत्यारोपण गरेका व्यक्तिहरू पनि स्वस्थ मानिस सरह सामान्य जीवन बिताउन र श्रम गर्न सक्छन् भन्ने सन्देश दिनु कार्यक्रमको मुख्य उद्देश्य थियो।
विशेषज्ञहरूका अनुसार खानपानमा सुधार, नियमित व्यायाम र समय समयमा स्वास्थ्य परीक्षण गर्ने हो भने मिर्गौला रोगबाट बच्न सकिन्छ। मिर्गौला फेल भइसकेकाहरूको हकमा भने अङ्गदान र प्रत्यारोपण नै जीवन बचाउने उत्तम विकल्प हो।


प्रतिक्रिया दिनुहोस