साम्बाको उपचार नेपालमै सम्भव: ८० हजार डलर विदेश पठाउनु सट्टा स्वदेशी प्रविधि रोज्न चिकित्सक संघको आग्रह


काठमाडौँ – नेपाल चिकित्सक संघले राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ को घुँडाको चोटको उपचार स्वदेश मै पूर्ण रूपमा सम्भव भएको भन्दै नेपाल मै गराउन आग्रह गरेको छ।

कतारमा उपचारका लागि करिब ८० हजार अमेरिकी डलर खर्च अपुग भएको समाचार सार्वजनिक भएपछि संघले नेपालका अस्पतालहरूमा दक्ष विशेषज्ञ र अत्याधुनिक उपकरण पर्याप्त रहेको भन्दै साम्बालाई स्वदेशमै उपचार गर्न सुझाव दिएको हो।

चिकित्सक संघका महासचिव डा. सन्जिब तिवारीद्वारा जारी विज्ञप्तिमा नेपालका विभिन्न अस्पतालहरूमा यस्ता गम्भीर चोटको शल्यक्रिया र उपचारका लागि आवश्यक पर्ने विशेषज्ञ चिकित्सक तथा प्रविधि उपलब्ध रहेको स्पष्ट पारिएको छ। राष्ट्रिय गौरवका खेलाडीले स्वदेश मै उपचार गराउँदा नेपाली चिकित्सक, स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाको हौसला बढ्ने संघको भनाइ छ।

स्वदेशी पुँजी र जनशक्तिको जगेर्ना

सेलिब्रेटी र प्रतिष्ठित व्यक्तिहरू उपचारका लागि विदेश जाँदा ठुलो परिमाणमा स्वदेशी मुद्रा बाहिरिने भन्दै संघले चिन्ता व्यक्त गरेको छ। नेपालको धन विदेशिनबाट जोगाउन र आफ्नै देशको स्वास्थ्य सेवामा विश्वास गर्न आग्रह गर्दै संघले साम्बाको उपचारका लागि आवश्यक समन्वय र सहजीकरण गर्न आफूहरू पूर्ण रूपमा तयार रहेको समेत जनाएको छ।

विज्ञप्ति मार्फत संघले कप्तान साम्बाको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै सम्बन्धित पक्षलाई स्वदेशमै उपचारको व्यवस्था मिलाउन हार्दिक अनुरोध गरेको छ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : [email protected]

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!