एमबिबिएस डाक्टरको बेहाल: बिदा माग्दा राजीनामा दिनुपर्ने, २४ घण्टा ड्युटी र श्रम शोषणको पराकाष्ठा
काठमाडौँ – नेपाल भर कार्यरत एमबिबिएस मेडिकल अफिसरहरू अत्यन्त असुरक्षित, न्यून तलब र श्रम शोषणको अवस्थाबाट गुज्रिरहेका तथ्यहरू सार्वजनिक भएका छन।
फ्रन्टलाइन डाक्टर्स नेपाल (एफडीएन) को राष्ट्रिय भेटघाट २०२६ मा सहभागी चिकित्सकहरूले बिदा माग्दा राजीनामा दिन बाध्य हुनु पर्ने, महिनौँ सम्म तलब नपाउने, २२ हजार रुपैयाँ सम्मको न्यून मासिक तलबमा काम गर्नु पर्ने र २४ घण्टा भन्दा बढी निरन्तर ड्युटी गर्नु पर्ने यथार्थ सार्वजनिक गरेका हुन । एफडीएन मुलुकमा दर्ता भएको एमबिबिएस गरेका मेडिकल अफिसरहरूको एक मात्र सोसाइटी हो।
काठमाडौँमा सम्पन्न उक्त भेलामा नेपाल भरका एमबिबिएस डाक्टरहरूले सरकारी, निजी र गैरसरकारी सबै क्षेत्रमा मेडिकल अफिसर माथि संरचनागत श्रम शोषण भइरहेको गुनासो गरे। एउटै देश भित्र अस्पताल अनुसार फरक-फरक, अस्पष्ट र एक पक्षीय कन्ट्र्याक्ट मार्फत चिकित्सकलाई काममा लगाइँदै आएको उनीहरूको भनाइ छ।
उक्त कार्यक्रममा नेपाल मेडिकल काउन्सिलका उपाध्यक्ष डा. कुन्जाङ शेर्पाले सम्झौता हुने तर कार्यान्वयन नहुने प्रवृत्तिका कारण चिकित्सकहरू जोखिममा परेको बताए। उनले सातामा ५५ घण्टा भन्दा बढी काम गर्दा कार्डियोभास्कुलर जोखिम बढ्ने विश्व स्वास्थ्य संगठनको निष्कर्ष उल्लेख गर्दै भने, ‘निरन्तर २४ घण्टा ड्युटी पछि फेरि अर्को दिन काम गर्दा चिकित्सकीय त्रुटि हुन्छ, यसले बिरामीको स्वास्थ्य समेत प्रभावित भएको छ।’ उनका अनुसार ड्युटी आवर सुनिश्चित नहुनु मेडिकल अफिसर र बिरामी दुवैका लागि गम्भीर समस्या हो।
एफडीएनका नेशनल कोअर्डिनेटर डा. चेतन राज (सिआर) कार्कीले एमबिबिएस मेडिकल अफिसरहरूको अवस्था ‘अत्यन्तै कमजोर’ रहेको बताए। ‘सरकारी, निजी र गैरसरकारी सबै क्षेत्रमा काम गर्ने एमबिबिएस डाक्टरको तलब, सेवा सुविधा र कन्ट्र्याक्टमा कुनै एकरूपता छैन,’ उनले भने। उनले मेडिकल अफिसरहरूको लागि नेसनल कन्ट्र्याक्ट अभियान सुरु गर्ने जनाउँदै आठौँ तह अनुसार तलब र सेवा सुविधा लागू गर्न माग गरे । त्यसको पालना नगर्ने निजी स्वास्थ्य संस्था विरुद्ध कानुनी लडाइँ लडिने चेतावनी समेत दिए।
एफडीएन कोशी प्रदेश का डा. दिपेश यादवले आफ्नै ब्याचका चिकित्सकहरूले तीन महिना सम्म तलब नपाएको उदाहरण प्रस्तुत गरे। ‘देशभर अस्पतालहरूले आ आफ्नै तरिकाले कन्ट्र्याक्ट गर्छन्, कतै तलब ढिला, कतै कम, कतै स्पष्ट सर्त नै हुँदैन,’ उनले भने। उनका अनुसार डाक्टर लक्षित सेवा सुविधा नहुँदा अन्ततः बिरामीको सुरक्षा जोखिममा पर्छ।
एफडीएन मधेस प्रदेशकी डा. सोनी कुमारी साहले भनिन्, ‘हाम्रो माग ठूलो छैन। हामीलाई काम गर्ने क्रममा सुरक्षा, सम्मान र न्यायोचित तलब र सेवा सुविधा चाहिएको मात्र हो।’
एफडीएन बागमती प्रदेशका डा. अनिल रेग्मीले मेडिकल अफिसरलाई अस्पतालमा सम्मान जनक हैसियत नदिइने अवस्था रहेको बताए। ‘कानुन राम्रो छ, तर कार्यान्वयन शून्य जस्तै छ,’ उनले भने। उनका अनुसार कतिपय मेडिकल अफिसरले आधारभूत तलब समेत नपाई २४ घण्टा भन्दा बढी निरन्तर ड्युटी गर्नु परेको छ। उनले सरकारी देखि निजी क्षेत्र सम्म व्यापक श्रम शोषण भइरहेको उल्लेख गर्दै विभिन्न निकायमा उजुरी दिँदा पनि प्रभावकारी कारबाही नभएको बताए।
एफडीएन उपत्यकाका डा. विकास गुप्ताले राजधानी कै त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा भोगेको अनुभव सुनाउँदै भने, ‘अत्यावश्यक कामका लागि १५ दिनको बिदा माग्दा स्वीकृति दिनुको सट्टा हेड अफ द डिपार्टमेन्टले ‘रिजाइन गरेर घर जाऊ’ भनियो।’ अन्ततः उनले राजीनामा दिनु परेको बताए। उनले उपत्यकाका निजी अस्पतालमा २२ हजार रुपैयाँ मासिकमा काम गर्नु परेको उल्लेख गर्दै स्नातकोत्तर रेजिडेन्टका लागि ४८ हजार रुपैयाँ स्टाइपेन्ड लागू हुन सके पनि मेडिकल अफिसरका लागि न्यूनतम तलब समेत सुनिश्चित हुन नसकेको प्रति प्रश्न उठाए।
सोसाइटी अफ नेपालीज डक्टर्स अफ बंगलादेशका संस्थापक अध्यक्ष डा. राकेश साहका अनुसार नेपालमा करिब १७–१८ हजार एमडी/एमएस नगरेका एमबिबिएस डाक्टर छन्। उनीहरू मध्ये ठूलो संख्या मेडिकल अफिसरका रूपमा कार्यरत भए पनि उनीहरूको श्रम, समय र सीपको उचित मूल्यांकन नभइरहेको बताए ।
भेलामा नेसनल हस्पिटल कलङ्कीका प्रबन्ध निर्देशक डा. प्रकाश पौडेल, नेपाल मेडिकल एसोसिएसनका वरिष्ठ उपाध्यक्ष डा. बद्री रिजाल, अफिनका डा.पदमबहादुर खड्का लगायतले मेडिकल अफिसरको अवस्था दीर्घकालीन स्वास्थ्य प्रणालीकै समस्या भएको भन्दै तत्काल संरचनागत सुधार आवश्यक रहेको बताएका थिए।

प्रतिक्रिया दिनुहोस