पाटन अस्पताल पूर्ण डिजिटल, मोबाइलबाटै टिकट देखि रिपोर्टसम्म
ललितपुर – नेपालको एक मात्र पूर्ण रूपमा पेपरलेस बहुविशेषज्ञता अस्पतालका रूपमा पाटन अस्पतालले आकस्मिक, बहिरङ्ग र अन्तरङ्ग सहित सबै सेवा डिजिटल प्रणाली मार्फत सञ्चालन गरिरहेको छ।
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको १८ औँ वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै प्रतिष्ठानका रजिस्ट्रार प्रा. डा. पारस कुमार आचार्यले पाटन अस्पतालबाट प्रवाह हुने सम्पूर्ण सेवा डिजिटल बनाइ सकिएको जानकारी दिए ।
उनका अनुसार अस्पतालले विगत सात दशकका बिरामीका अभिलेख स्क्यान गरी डिजिटल प्रणालीमा सुरक्षित गरेको छ। सेवा प्रवाहसँग जोडिएका सबै सहयोगी विभाग र निकायलाई पनि एउटै डिजिटल प्रणालीमा समेटिएको छ ।
‘आजको मिति सम्म बिरामीले टिकट काटि सके पछि टिकट मै पेसेन्ट पोर्टलमा पहुँच गर्न मिल्ने युजरनेम र पासवर्ड दिइन्छ,’ डा. आचार्यले नेपालहेल्थप्रेससँग भने,’लगइन गरे पछि बिरामीले आफ्नो डायग्नोसिस, परीक्षण विवरण, उपचार र चिकित्सकीय सल्लाह हेर्न सक्छन।’
डाक्टरको जाँच पछि बिरामीले पुर्जा, रिपोर्ट र प्रेस्क्रिप्सन मोबाइल मै हेर्न सक्ने व्यवस्था गरिएको छ। सिटी स्क्यान, एमआरआई, एक्सरे लगायतका रिपोर्ट घर बाटै डाउनलोड गर्न सकिने भएकाले रेडियोलोजी लगायतका विभाग धाउनु पर्ने बाध्यता हटेको छ।
भुक्तानी प्रणाली पनि पूर्ण रूपमा डिजिटल बनाइएको छ। क्यूआर कोड र कार्ड मार्फत भुक्तानी गर्न सकिने भएकाले काउन्टरमा नगद बोकेर लाइन बस्नुपर्ने झन्झट अन्त्य भएको डा. आचार्यले बताए। ‘डाक्टरलाई भेट्ने बित्तिकै अनलाइन भुक्तानी गरेर बिरामी सिधै औषधि लिन वा परीक्षणतर्फ जान सक्छन,’- उनले भने।
पाटन अस्पतालले प्रयोग गरि रहेको ‘डिकोड’ सफ्टवेयर ओपन सोर्समा आधारित छ। यसमा स्वास्थ्य बीमा, सामाजिक सुरक्षा कोष, विपन्न नागरिक उपचार कोष र आन्तरिक राजस्व विभागका प्रणाली पूर्ण रूपमा एकीकृत छन। यसले सरकारी सुविधा लिन चाहने बिरामीलाई अतिरिक्त कागजी प्रक्रिया गर्नु पर्ने आवश्यकता हटाएको छ।
अस्पतालले छिट्टै आफ्नै मोबाइल एप सार्वजनिक गर्ने तयारी पनि गरेको छ। ‘एप मार्फत बिरामीले स्वास्थ्य सेवा लिनुका साथै आफ्नो सम्पूर्ण चिकित्सकीय विवरण मोबाइल मै सुरक्षित र डाउनलोड गर्न सक्नेछन,’ डा. आचार्यले बताए।
उनका अनुसार हाल बहिरङ्ग सेवा पूर्ण रूपमा पेपरलेस भइसकेको छ भने अन्तरङ्ग सेवामा मात्र हाल केही ‘डुअल सिस्टम’ प्रयोग भइ रहेको छ। ‘नेपालका मल्टिस्पेसियालिटी अस्पताल मध्ये हामी मात्र पूर्ण पेपरलेस प्रणालीमा पुगेका छौँ,’उनले दाबी गरे।
पाटन अस्पतालले कृत्रिम बुद्धिमत्ता (एआई) प्रयोग तर्फ पनि कदम चालि सकेको छ। मेडिकल कार्य प्रवाहमा एआई मोडल समावेश गर्ने काम सुरु गरिएको अस्पतालले जनाएको छ, जसले रोग निदान र तथ्याङ्कीय अनुसन्धानमा थप सहयोग पुर्याउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस