नेपाल मै पहिलो पटक गङ्गालालमा ‘टाकेउची’ प्रविधिबाट मुटुको सफल शल्यक्रिया


काठमाडौँ – शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा जन्मजात जटिल मुटुरोगबाट पीडित १० वर्षीया बालिकामा पहिलो पटक सफल ‘टाकेउची’ शल्यक्रिया गरिएको छ।

उक्त शल्यक्रियाको नेतृत्व गर्ने मुटु शल्यचिकित्सक डा. रबीन्द्र भक्त तिमलाका अनुसार प्रारम्भिक अपरेशनका क्रममा अपेक्षित संरचना नमिल्दा छाती बन्द गरी थप अध्ययन र छलफल पछि दोस्रो चरणमा शल्यक्रिया सफल भएको हो। डा. तिमलाले भने, ‘कतिपय जन्मजात मुटुरोग यति जटिल हुन्छन् कि छाती खोलेर पनि तत्काल निर्णय लिन सम्भव हुँदैन।’

रोग पहिचान र उपचारको मोड

ती बालिका ‘अलकापा’ (एनोमोलोस ओरिजिन अफ लेफ्ट कोरोनरी आर्ट्री फ्रम पल्मोनरी आर्ट्री) नामक दुर्लभ जन्मजात मुटुरोगबाट ग्रसित थिइन्। यस रोगमा मुटुको देब्रे कोरोनरी धमनी महाधमनी (एओर्टा) बाट आउनु पर्नेमा पल्मोनरी आर्टरीबाट निस्कन्छ। पल्मोनरी आर्टरीको रक्तचाप कम हुने भएकाले मुटुको ठूलो भागमा पर्याप्त रक्तसञ्चार हुन सक्दैन।

यसका कारण बालिकामा छाती दुख्ने, चाँडै थकान हुने र माइट्रल भल्भबाट रगत चुहिने समस्या देखिएको थियो। तीन वर्षदेखि मुटुको वाथरोगको आशंकामा औषधि खाइरहेकी ती बालिकाको पछिल्लो इको परीक्षणमा वातरोग नभई अलकापा रहेको कुरा बाल मुटुरोग विशेषज्ञ डा. शिल्पा अर्यालले पत्ता लगाएकी थिइन्। त्यस पछि उपचारको दिशा पूर्ण रूपमा परिवर्तन भयो।

परीक्षण र शल्यक्रियाको तयारी

रोग यकिन गर्न डा. मनीष श्रेष्ठ र डा. सुवास शाहले कोरोनरी एन्जियोग्राम गरेका थिए। परीक्षणबाट देब्रे कोरोनरी धमनी स्पष्ट रूपमा पल्मोनरी आर्टरीबाट निस्केको पुष्टि भयो। थप जानकारीका लागि गरिएको सिटी स्क्यानमा डा. अर्यालले थ्रीडी संरचनाको विश्लेषण गर्दै विकृत रक्तनलीको उत्पत्ति र मुटुका अन्य भागसँगको स्थानिक सम्बन्ध स्पष्ट गरेकी थिइन्।

गंगालाल अस्पतालको नियमित प्रक्रिया अनुसार बाल मुटु युनिट, बाल मुटु शल्यचिकित्सा युनिट र बाल आईसीयूको संयुक्त छलफलपछि शल्यक्रिया गर्ने निर्णय गरिएको थियो।

पहिलो प्रयास र पुनः शल्यक्रिया

पहिलो पटक छाती खोलेर हेर्दा विकृत कोरोनरी धमनी महाधमनीसँग असामान्य रूपमा टाँसिएको, पल्मोनरी आर्टरीको दायाँ हाँगाको उत्पत्तिसँग अत्यन्त नजिक रहेको र सामान्य ‘अलकापा’ मा गरिने प्रविधिबाट अपरेशन गर्न नमिल्ने देखियो। त्यस पछि छाती बन्द गरी थप अध्ययन र विस्तृत छलफल गरियो।

चार दिनपछि पुनः शल्यक्रिया गरिएको थियो। डा. रबीन्द्र भक्त तिमलाको नेतृत्वमा डा. सिद्धार्थ प्रधान, डा. समृद्ध कार्की र डा. प्रकृति थापाको टोलीले शल्यक्रिया गरेको हो। एनेस्थेसियाको जिम्मेवारी डा. रनीस श्रेष्ठले सम्हालेका थिए।

टाकेउची’ प्रविधिबाट सफल शल्यक्रिया

शल्यक्रियामा विकृत कोरोनरी धमनीलाई जहाँको त्यही राखी महाधमनीबाट रगत पुर्‍याउने ‘टाकेउची’ प्रविधि प्रयोग गरिएको थियो। शल्यक्रिया पछि गरिएको इको परीक्षणमा मुटुको संकुचन क्षमतामा सुधार देखिनुका साथै माइट्रल भल्भको चुहावट पनि घटेको पुष्टि भयो।

शल्यक्रियापछि बाल गहन चिकित्सा युनिटमा डा. राजेश पाण्डे र डा. कुल थापाको टोलीको निगरानीमा उपचार गरिएको थियो। केही घण्टामै भेन्टिलेटरबाट हटाइएकी ती बालिका हाल पूर्ण स्वास्थ्यलाभ गरी डिस्चार्ज भइसकेकी छन्।

के हो ‘टाकेउची’ शल्यक्रिया?

महाधमनीबाट आउनुपर्ने कोरोनरी धमनी पल्मोनरी आर्टरीबाट आएको अवस्थामा ‘टाकेउची’ (TAKEUCHI) शल्यक्रिया गरिन्छ। यसमा कोरोनरी धमनीलाई यथा स्थान मै राखी महाधमनी र पल्मोनरी आर्टरीबीच मार्ग बनाइन्छ। पल्मोनरी आर्टरी भित्रै ‘पर्खाल’ निर्माण गरी महाधमनीबाट आएको रगत कोरोनरी धमनी सम्म पुर्‍याइन्छ।

चिकित्सकीय महत्व

‘अलकापा’ आफैंमा दुर्लभ रोग हो। उपलब्ध तथ्यांक अनुसार करिब तीन लाख जीवित शिशु मध्ये एकमा मात्र यो रोग देखिन्छ। त्यसमा पनि देब्रे कोरोनरी धमनी दायाँ पल्मोनरी आर्टरीबाट निस्कनु अत्यन्तै दुर्लभ मानिन्छ। हालसम्म प्रकाशित मेडिकल लिटरेचरमा विश्वभर ४०–५० जनामा मात्र यस्तो संरचनागत विकृति वर्णन गरिएको छ।

यस जटिलताका कारण कुन शल्यप्रविधि उपयुक्त हुन्छ भन्नेमा चिकित्सकहरू बीच एकमत छैन। ‘टाकेउची’ शल्यक्रियाको दीर्घकालीन प्रभाव अझै अध्ययनको विषय रहेको डा. तिमलाले बताए। उनका अनुसार यो नेपालमा गरिएको पहिलो सफल ‘टाकेउची’ शल्यक्रिया हो।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : [email protected]

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!