डा. नागेन्द्र यादव र डा. सरोज यादवसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर


काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहा स्थित प्रादेशिक अस्पतालमा ओपीडी तथा सेवा शुल्क संकलनमा अनियमितता गरेको आरोपमा तत्कालीन कार्यालय प्रमुख डा. नागेन्द्र प्रसाद यादव र डा. सरोज यादव सहित १० जना विरुद्ध विशेष अदालत, काठमाडौँमा आरोप पत्र दायर गरेको छ।

आयोगका अनुसार आर्थिक वर्ष २०८०/८१ मा अस्पतालका बिल काउन्टरबाट संकलन भएको रकम राजस्व खातामा दाखिला नगरी ३८ लाख ७७ हजार ७ सय २४ रुपैयाँ ८३ पैसा हिनामिना गरिएको पाइएको छ। अस्पतालका आठ वटा बिल काउन्टरबाट संकलित रकम सफ्टवेयर अभिलेख र बैंक भौचरअनुसार फरक देखिए पछि अनुसन्धान थालिएको आयोगले जनाएको छ।

आरोपपत्रमा तत्कालीन कार्यालय प्रमुख डा. नागेन्द्र प्रसाद यादव र डा. सरोज यादव, प्रशासन प्रमुख अशोक कुमार सिंह, लेखा प्रमुख अशोक कुमार यादव तथा बिल काउन्टरमा कार्यरत कर्मचारीहरू श्याम कुमार मण्डल, पूजा कुमारी यादव, सरस्वती कुमारी यादव, रोशन कुमार यादव र अजय कुमार मण्डल संलग्न रहेको उल्लेख छ। साथै, तत्कालीन लेखाप्रमुख रत्नप्रसाद मण्डलकी श्रीमती मुस्कान कुमारी मण्डल समेत आरोपित छन्।

आयोगका अनुसार श्याम कुमार मण्डलले २५ लाख ४७ हजार रुपैयाँभन्दा बढी, पूजा कुमारी यादवले २ लाख ८८ हजार, सरस्वती कुमारी यादवले ५ लाख २ हजार, रोशन कुमार यादवले १ लाख ६४ हजार, अजय कुमार मण्डलले ३ लाख ७९ हजार र मुस्कान कुमारी मण्डलले ३८ लाख ७७ हजार रुपैयाँभन्दा बढी रकम राजस्व खातामा दाखिला नगरेको देखिएको छ।

यस प्रकरणमा भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार कैद, जरिवाना तथा बिगो असुल उपरको मागदाबी लिइएको आयोगले जनाएको छ। आयोगका प्रवक्ता सुरेश न्यौपानेद्वारा जारी विज्ञप्तिमा सार्वजनिक सम्पत्तिको दुरुपयोगमा संलग्न व्यक्ति विरुद्ध कडाइका साथ कानुनी कारबाही अघि बढाइएको उल्लेख छ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : [email protected]

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!