राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका तत्कालीन उपकूलपति डा.संगीता भण्डारी सहित १९ जना विरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका तत्कालीन उपकूलपति प्रा.डा. संगिता सिंह भण्डारी सहित १९ जना व्यक्ति र एक निजी कम्पनी विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगका अनुसार प्रतिष्ठानका लागि १२८ स्लाइसको सिटी स्क्यान मेसिन खरिद गर्ने क्रममा ७ करोड ३१ लाख ८२ हजार ९ सय ८५ रुपैयाँ ९९ पैसा बराबरको आर्थिक अनियमितता भएको ठहर गर्दै बिहीबार आरोपपत्र दायर गरिएको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा यस विषयमा जारी गरिएको प्रेस विज्ञप्ति पढ्न 👉यहाँ क्लिक गर्नुस् ।
खरिद प्रक्रियामा देखिएका अनियमितता
अख्तियारले अनुसन्धानका क्रममा सिटी स्क्यान मेसिन खरिदमा गम्भीर कानुनी त्रुटि र बदनियत देखिएको जनाएको छ। आयोगका अनुसार खरिद गुरुयोजना नबनाई र वास्तविक आवश्यकता पहिचान नगरी प्रक्रिया अघि बढाइएको थियो।
बोलपत्र खोल्नु अघि सरोकारवाला निकायको उपस्थिति बिनै प्राविधिक स्पेसिफिकेशन बदनियतपूर्वक संशोधन गरिएको र त्यस अनुसार लागत अनुमान परिमार्जन नगरिएको आयोगको दाबी छ।
हिमालयन मेडिटेक प्रालि ले पेस गरेको ‘न्यूभिज १२८ सिटी स्क्यान’ मेसिनले आवश्यक प्राविधिक मापदण्ड पूरा नगरे पनि त्यसलाई मापदण्ड अनुसार भएको देखाई गलत प्रतिवेदन तयार पारिएको उल्लेख छ। आयोगका अनुसार प्रति सेकेन्ड ६० तस्बिर उत्पादन हुनु पर्नेमा सो मेसिनले ४० तस्बिर मात्र उत्पादन गर्ने क्षमता थियो।
यस्तै, राष्ट्रिय प्रतिस्पर्धी बोलपत्र आह्वान गरिएको अवस्थामा कानुन विपरीत अमेरिकी डलरमा सम्झौता गरी भुक्तानी दिइएको पनि अख्तियारले जनाएको छ।
भुक्तानी र प्रमाणीकरणमा पनि लापरबाही
आयोगका अनुसार मेसिनको प्राविधिक परीक्षण तथा स्वीकार प्रमाणपत्र जारी नगरी बाँकी २० प्रतिशत रकम भुक्तानी गरिएको थियो। साथै, खरिद गरिएको मेसिनको अमेरिकी खाद्य तथा औषधि प्रशासन (युएस एफडीए) को प्रमाणीकरण समेत फिर्ता बोलाइएको अवस्थामा रहेको पाइएको छ।
यसरी सार्वजनिक खरिद ऐनको उल्लङ्घन गर्दै राज्य कोषमा अतिरिक्त आर्थिक भार पारेको निष्कर्ष सहित विशेष अदालतमा मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
कस कस विरुद्ध मुद्दा
आयोगले मुख्य प्रतिवादीहरू विरुद्ध ७ करोड ३१ लाख ८२ हजार ९ सय ८५ रुपैयाँ ९९ पैसा बिगो कायम गरी कैद, जरिवाना र बिगो असुलको माग गरेको छ।
प्रतिष्ठानका पदाधिकारी तथा कर्मचारीहरू
- प्रा.डा. संगिता सिंह भण्डारी: तत्कालीन उपकूलपति
- कैलाश प्रसाद देव: तत्कालीन कायम मुकायम रजिष्ट्रार
- डा. सागर पन्थी: तत्कालीन निर्देशक
- डा. बोम वि.सी.: रेडियोलोजी विभाग प्रमुख
- शरद भण्डारी: तत्कालीन बायोमेडिकल इन्जिनियर
- आशुतोष भण्डारी: तत्कालीन बायोमेडिकल इन्जिनियर
- डा. श्रीसिया पोखरेल: तत्कालीन लेक्चरर
- झन्कार लामिछाने: तत्कालीन शाखा अधिकृत
- लीला कुमारी देवकोटा: तत्कालीन शाखा अधिकृत
- मेघ बहादुर अधिकारी: तत्कालीन शाखा अधिकृत
- हिरालाल भण्डारी: तत्कालीन सूचना प्रविधि अधिकृत
- राजीब बस्नेत: तत्कालीन लेखा अधिकृत
- कृष्ण प्रसाद जोशी: तत्कालीन फार्मेसी सुपरभाइजर
- विन्दु पौडेल: तत्कालीन स्टाफ नर्स
- पूजा ठाकुर: तत्कालीन फिजियोथेरापिष्ट
- सतिश बहादुर शाह (शाही): तत्कालीन कम्प्युटर सहायक
अन्य विशेषज्ञ तथा निजी क्षेत्र
- अमित कुमार चौधरी: परामर्शदाता बायोमेडिकल इन्जिनियर (त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल)
- अमर श्रेष्ठ र सन्जु राजकर्णिकार: हिमालयन मेडिटेक प्रा.लि.का तर्फबाट कार्य गर्ने व्यक्ति
यी सबै प्रतिवादीहरू विरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कसूर अनुसार कैद, जरिवाना र बिगो असुल उपरको मागदाबी लिइएको अख्तियारले जनाएको छ।

प्रतिक्रिया दिनुहोस