रास्वपा सभापति रवि लामिछाने अस्पताल भर्ना: ‘सेलुलाइटिस’ संक्रमणका कारण केही दिन अस्पतालमै रहनु पर्ने


काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने उपचारका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा भर्ना भएका छन।

मंगलबार अस्पताल भर्ना भएका लामिछानेको स्वास्थ्य अवस्था बारे अस्पतालले औपचारिक जानकारी दिएको छ। अस्पतालका कार्यकारी निर्देशक प्रा. डा. सुभाषप्रसाद आचार्यका अनुसार, गत माघ ५ गते जनकपुरमा आयोजित चुनावी कार्यक्रमका क्रममा उनको देब्रे खुट्टामा चोट लागेको थियो।

अस्पतालका उपनिर्देशक प्रा. डा. पवनराज चालिसेले लामिछानेलाई अहिले हाडजोर्नी विभागमा राखेर विशेष निगरानीमा उपचार भइरहेको बताए।

संक्रमणका कारण थप उपचार आवश्यक

प्रारम्भिक रूपमा सामान्य देखिएको चोट भए पनि हाल छालाको भित्री तहमा संक्रमण (सेलुलाइटिस) देखिएकाले चिकित्सकहरूले उनलाई अस्पतालमै बसेर उपचार गर्न सल्लाह दिएका हुन।

रवि लामिछानेलाई अस्पताल भर्ना गर्नुको मुख्य कारण पनि यही हो ।सेलुलाइटिसमा प्रायः नसाबाट एन्टिबायोटिक दिनुपर्ने हुन्छ ताकि औषधि सिधै रगतमा पुगेर छिटो काम गरोस। साथै, प्रभावित खुट्टालाई अलि उच्च स्थानमा राखेर आराम गर्नु पर्ने हुन्छ।

हाडजोर्नि  विभागका एक चिकित्सकले​ भने, ‘हामीले आवश्यक परीक्षण गरिरहेका छौँ, चिकित्सकको टोलीले उहाँको घाउको अवस्था हेरिरहेको छ।’

चितवन–२ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार समेत रहेका लामिछाने चुनावी दौडधुपका बीच अस्पताल भर्ना हुनु परेको हो। उनको स्वास्थ्य अवस्था अहिले स्थिर रहेको र केही दिन अस्पतालमै रहनु पर्ने चिकित्सकहरूले बताएका छन।

सेलुलाइटिस के हो ?

सेलुलाइटिस एक प्रकारको गम्भीर ब्याक्टेरियाबाट हुने संक्रमण हो, जसलाई समयमै उपचार नगरे यसले जटिल रूप लिन सक्छ। यो छालाको गहिरो तह र त्यस मुनिको कमलो तन्तु (सफ्ट टिस्यु) मा हुने संक्रमण हो। सामान्यतया हाम्रो छालाले बाहिरी कीटाणुलाई भित्र पस्न दिँदैन, तर जब छालामा चोट लाग्छ, ब्याक्टेरियाहरू भित्र पस्छन र संक्रमण फैलाउँछन ।

यो कसरी हुन्छ?

रवि लामिछानेको हकमा जनकपुरमा चोट लागेको भनिएको छ। सेलुलाइटिस हुने मुख्य कारणहरू

  • चोटपटक: काटिएको, कोतरिएको वा सुई लगाएको ठाउँबाट ब्याक्टेरिया छिर्नु।
  • कीराको टोकाइ: लामखुट्टे वा अन्य कीराले टोकेको ठाउँ कन्याउँदा हुने घाउ।
  • छालाको समस्या: पहिले देखि नै दाद, एक्जिमा वा छाला फुटेको छ भने त्यहाँबाट संक्रमण हुनु।

मुख्य लक्षणहरू

सेलुलाइटिस भएमा शरीरको प्रभावित भाग (प्रायः खुट्टा) मा निम्न लक्षण देखिन्छन ।

  • रातोपना: छाला एकदमै रातो भएर आउँछ र यो बिस्तारै फैलिँदै जान्छ।
  • सुन्निने: प्रभावित ठाउँ र वरिपरिको भाग सुन्निन्छ।
  • दुखाइ: छुँदा पनि दुख्ने वा कडा हुने हुन्छ।
  • तातोपन: संक्रमण भएको ठाउँ अन्य भाग भन्दा तातो महसुस हुन्छ।
  • ज्वरो: संक्रमण रगतमा फैलिन थाल्यो भने बिरामीलाई ज्वरो आउने र काँप छुट्ने हुन सक्छ।

यो किन खतरनाक हुन सक्छ?

यदि यसको समयमै एन्टिबायोटिक मार्फत उपचार गरिएन भने यो सङ्क्रमण रगतमा फैलिन सक्छ (सेप्सिस), हाडजोर्नी वा हड्डीसम्म संक्रमण पुग्न सक्छ र तन्तुहरू मर्न (नेक्रोसिस) सक्छ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : [email protected]

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!