मुटुको जटिल शल्यक्रिया पछि डा. ज्ञानेन्द्र कार्कीको स्वास्थ्यमा सुधार, दिल्लीमा उपचाररत


काठमाडौँ – नेपाल मेडिकल तथा डेन्टल कलेज एसोसिएसन एवं विराट मेडिकल कलेज शिक्षण अस्पतालका अध्यक्ष डा. ज्ञानेन्द्रमानसिंह कार्कीको मुटुको जटिल शल्यक्रिया सम्पन्न भएको छ। भारतको नयाँ दिल्ली स्थित एक अस्पतालमा उनको सफल शल्यक्रिया गरिएको हो।

सोमबार सामाजिक सञ्जाल मार्फत एक भिडियो सन्देश जारी गर्दै डा. कार्कीले आफ्नो स्वास्थ्य अवस्था बारे जानकारी गराएका हुन। पेशाले स्त्री तथा प्रसूति रोग विशेषज्ञ समेत रहेका डा. कार्कीले अचानक मुटुमा समस्या देखिए पछि आकस्मिक रूपमा काठमाडौँ हुँदै दिल्ली पुगेको बताएका छन।

अस्पतालको शैय्याबाटै भिडियो सन्देश दिँदै डा. कार्कीले जीवन र मृत्यु मानिसको हातमा नरहेको भावुक अभिव्यक्ति दिएका छन। उनले भनेका छन, -‘प्रभु ईश्वर भन्दा ठूलो कोही छैन। न जीवन हाम्रो हातमा छ, न मृत्यु। मृत्यु वेदनाका बेला मागेर पनि कहाँ पाउँदो रहेछ र! अहिले मलाई ठीक छ, भगवानको कृपा र तपाईंहरूको आशीर्वादले केही दिन पछि अस्पतालबाट डिस्चार्ज हुन्छु।’

डा. कार्कीले आफ्नो शल्यक्रिया निकै जटिल प्रकृतिको भए तापनि अहिले स्वास्थ्यमा क्रमिक सुधार भइरहेको र आफूले स्वास्थ्य लाभ गरिरहेको बताएका छन। उनले सन्देशमा ‘सबै सुखी रहुन्, सबै निरोगी रहुन’, भन्दै सुस्वास्थ्यको कामना समेत गरेका छन।

नेपालको चिकित्सा क्षेत्र र मेडिकल शिक्षामा सक्रिय व्यक्तित्व डा. कार्की अचानक बिरामी भएर उपचारका लागि दिल्ली पुगेको खबर सार्वजनिक भएपछि उनका शुभेच्छुकहरूले सामाजिक सञ्जाल मार्फत  स्वास्थ्य लाभको कामना समेत गरेका छन ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : [email protected]

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!