अदालतबाट दोषी ठहर डा. यशोदा रिजाललाई अन्तत: मेडिकल काउन्सिलद्वारा निलम्बन


काठमाडौँ- झुटो स्वास्थ्य प्रतिवेदन बनाएर फौजदारी कसुरमा अदालतबाट दोषी ठहरिएकी डा. यशोदा रिजाललाई नेपाल मेडिकल काउन्सिलले अन्ततः निलम्बन गरेको छ । बिहीबार बसेको काउन्सिलको पूर्ण बैठकले उनलाई निलम्बन गर्ने निर्णय गरेको हो ।

काउन्सिलले निर्णय गरि सके पनि आधिकारिक रूपमा सार्वजनिक गरेको छैन । काउन्सिलका रजिष्ट्रार डा. सतिस देव सँग यो निर्णय भए पछि सम्पर्क हुन सकिरहेको छैन। काउन्सिलका एक सदस्यका अनुसार चौतर्फी दबाब पछि मात्र उनलाई जोगाउने गरी केही समयका लागि मात्रै निलम्बन गरिएको हो ।

के थियो घटना ?

घटनाको सुरुवात २०७३ सालदेखि हुन्छ, जहाँ एक महिला र दिवाकर रिजाल बीच अंश मुद्दाका क्रममा चिनजान भएको थियो । सोही सम्बन्धको आडमा दिवाकरले २०७९ जेठ ४ गते ती महिला माथि जबर्जस्ती करणी गरेका आरोप थियो ।

मुद्दा प्रक्रियामा जाँदा दिवाकरले आफू उक्त समयमा नुवाकोटको खरानीटार अस्पतालमा उपचाररत रहेको भन्दै कागजात पेस गरेका थिए । अनुसन्धानका क्रममा उक्त झुटो चिकित्सकीय विवरण अस्पतालकी प्रमुख डा. यशोदा रिजालले नै तयार पारेको खुल्यो, जो दिवाकरकी आफ्नै छोरी हुन् । उनले बुबालाई बचाउन उच्च रक्तचापको बहानामा भर्ना भएको नक्कली रेकर्ड बनाएकी थिइन ।

अदालतको फैसला र काउन्सिलको ढिलासुस्ती

काठमाडौँ जिल्ला अदालतले २०८२ असार २३ मा डा. यशोदालाई अदालतलाई भ्रममा पारेको कसुरमा १ महिना कैद र ५ हजार जरिवाना सुनाएको थियो । त्यस्तै, मुख्य अभियुक्त दिवाकरलाई ७ वर्ष कैदको फैसला भएको थियो ।

अदालतको फैसला पछि पीडित महिलाले साउन ६ गते डा. यशोदाको लाइसेन्स खारेजीको माग गर्दै काउन्सिलमा निवेदन दिएकी थिइन् । तर, काउन्सिलले समय मै कदम नचाल्दा डा. रिजाल ‘गुड स्ट्यान्डिङ सर्टिफिकेट’ लिएर अमेरिका पलायन भइ सकेकी छिन् ।

नियम र विवाद

मेडिकल काउन्सिल नियमावली अनुसार झुटो प्रमाणपत्र जारी गर्नु र फौजदारी अभियोगमा दोषी ठहरिनु गम्भीर आचारसंहिता उल्लंघन हो । यस्तो अवस्थामा चिकित्सकको लाइसेन्स सिधै खारेज गर्न सकिने प्रावधान छ ।

‘नैतिक पतन देखिने फौजदारी कसुरमा सजाय पाएका चिकित्सकको लाइसेन्स खारेज नै गर्नु पर्ने स्पष्ट व्यवस्था छ । तर काउन्सिलले चौतर्फी दबाब पछि मात्र उनलाई जोगाउने गरी केही समयका लागि मात्रै निलम्बन गरेको देखिन्छ,’  काउन्सिलका एक सदस्यले बताए ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : [email protected]

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!