चिकित्सा शिक्षा आयोगले एमबिबिएस र अपटोमेट्री गरी दुई उम्मेदवार दलित सूचीबाट हटायो
काठमाडौं – चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा स्नातक तहको एकीकृत प्रवेश परीक्षाको समूहगत नतिजामा परेका दुई उम्मेदवारका नाम दलित समूहबाट हटाएको जनाएको छ।
आयोगले २०८२ मंसिर १० गते प्रकाशित समूहगत नतिजामा एमविविएस कार्यक्रममा सिम्बोल नम्बर २६११२५६७, योग्यताक्रम २०८२ का राहुल कुमार चौरसिया र बी अप्टोमेट्री कार्यक्रममा सिम्बोल नम्बर २६१७२०५५, योग्यताक्रम ७४ का विष्णु कुमार ठाकुरको नाम दलित समूहबाट उल्लेख भएको बताएको छ।
तर, दुवै उम्मेदवारले आवेदन फाराम भर्दा पेश गरेको जिल्ला प्रशासन कार्यालयद्वारा प्रमाणित कागजातमा दलित प्रमाणित नभएको आयोगले स्पष्ट गरेको छ। उम्मेदवारहरूले आवेदन भर्दा क्याटेगोरीमा दलित टिक गरेको कारण समूह फरक परेको आयोगले जनाएको छ।
आयोगले समूहगत नतिजामा देखिएको त्रुटि सच्याउँदै दुवै उम्मेदवारको नाम दलित समूहबाट हटाइएको सूचना सार्वजनिक गरेको छ।

प्रतिक्रिया दिनुहोस