तातोपानीका विद्यालयले जंकफुड हटाए, विद्यार्थीको स्वास्थ्यमा सुधार


जुम्ला – तातोपानी गाउँपालिकाले विद्यालयमा जंकफुड पूर्ण रोक लगाएपछि विद्यार्थीको स्वास्थ्यमा देखिएको समस्या घटेको छ। पालिकाले २०८० सालदेखि लागू गरेको ‘दिवाखाजा सञ्चालन तथा व्यवस्थापन कार्य विधि’ अनुसार अब सबै विद्यालयले स्थानीय अन्नबालीबाट बनेको खाजा मात्रै दिन सक्छन्।

हाल २९ विद्यालयका २ हजार ६ सय विद्यार्थीले मकै, भटमास, जौं, गहुँ, गहत जस्ता स्थानीय परिकार दैनिक रुपमा पाउँदै आएका छन्। पालिकाका अभिभावकले घरमै उत्पादन भएको अन्न विद्यालयलाई बेच्ने भएकाले आम्दानी पनि बढेको छ।

तातोपानी कि संगीता कामीका अनुसार जंकफुड हटाएपछि बालबालिकाको स्वास्थ्यमा स्पष्ट सुधार आएको छ। पहिले चाउचाउ, बिस्कुटका कारण झाडापखाला र पेट सम्बन्धी समस्या बढ्ने गरेको विष्णुबहादुर रोकायाले पनि बताए।

गाउँपालिकाले खाजाको साप्ताहिक मेनु निर्धारण गरेको छ। खिचडी, खीर, क्वाटी देखि अन्डा मासु र दाल भात सम्मका परिकार दिनुपर्ने व्यवस्था छ। सहकारी मार्फत विद्यालयमा खाजा पुर्‍याइने भएकाले विद्यालय तथा अभिभावक दुवैलाई झन्झट कम भएको तातोपानी गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईले बताए।

कार्यविधि लागू भएपछि विद्यालयमा फर्जी विद्यार्थीको संख्या हटेको छ। पहिले ४ हजार ६ सय विद्यार्थी देखाइए पनि वास्तविक संख्या २ हजार ६ सय मात्र रहेको पालिकाले जनाएको छ। स्थानीय अन्न प्रयोग भएपछि दिवाखाजा खरिदका लाखौँ खर्च पनि गाउँमै रहेको पालिकाको दावी छ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : [email protected]

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!