भारत विश्वमा जीवित दाताबाट प्राप्त सबै भन्दा बढी कलेजो प्रत्यारोपण गर्ने मुलुक


नयाँ दिल्ली (ब्युरो) – भारत विश्वमा सर्वाधिक लिभिङ डोनर (जीवित दाता) बाट प्राप्त कलेजो  प्रत्यारोपण गर्ने देश बनेको छ। यो तथ्यांक लिभर ट्रान्सप्लान्टेशन सोसाइटी अफ इन्डियाको आइतबार सम्पन्न चार दिने वार्षिक सम्मेलनमा सार्वजनिक गरिएको हो । जहाँ नेपाल सहित विभिन्न देशका विशेषज्ञहरू दिल्लीमा सहभागी भएका छन ।

उक्त सम्मेलनमा नेपालबाट डा.पुकार चन्द्र श्रेष्ठ, डा. दिलिप शर्मा, डा. एकानन्द सिंह,  डा. सागर पौडेल, डा. रामबाबु साह, डा.सञ्जय यादव लगायतका सहभागी भएका थिए। नेपालका प्रत्यारोपण सर्जन डा. पुकारले दिल्ली स्थित मेदान्ता मेडिसिटीका लिभर ट्रान्सप्लान्ट विभाग प्रमुख डा. ए. एस. सोइनको अतिथि वक्तृत्व कार्यक्रममा एक सत्रको अध्यक्षता समेत गरेका थिए ।

ग्लोबल अब्जर्भेटरी अन अर्गन डोनेशन एन्ड ट्रान्सप्लान्टेशन तथा नेशनल अर्गन एन्ड टिस्यु ट्रान्सप्लान्ट अर्गनाइजेशनका अनुसार सन २०२४ मा भारतमा करिब ५ हजार कलेजो प्रत्यारोपण सम्पन्न भएका छन्। भारतमा दुई सय भन्दा धेरै सक्रिय लिभर ट्रान्सप्लान्ट केन्द्र सञ्चालनमा छन्।

लिभर ट्रान्सप्लान्टेशन सोसाइटी अफ इन्डियाका नवनिर्वाचित अध्यक्ष डा. अभिदीप चौधरीले भारतको कलेजो प्रत्यारोपण संरचना विज्ञान, नैतिकता र मानवीय मूल्यको सफल संयोजन भएको बताए। उनका अनुसार, ‘यहाँ प्रत्येक सफल प्रत्यारोपण कडा प्रोटोकल, पारदर्शी डोनर मूल्यांकन प्रणाली र बहुविषयक टोलीको निरन्तर प्रतिबद्धताको परिणाम हो। भारतलाई विशेष बनाउने कुरा केवल प्रत्यारोपणको संख्या होइन, प्रक्रियालाई मार्ग दर्शन गर्ने हाम्रो मूल्य हुन्।’

आईएलडीएलटीका अध्यक्ष प्रा. मोहम्मद रेला भनेका छन् कि भारतमा विकास भएको लिभिङ डोनर लिभर प्रत्यारोपण मोडेल विश्वका लागि स्वर्णिम मानक जस्तै बनेको छ। उनका अनुसार, यो मोडेल असाधारण शल्य कौशललाई कानुनी तथा नैतिक ढाँचासँग जोडेर दातृ र प्राप्तकर्ता दुवैको सुरक्षालाई प्राथमिकतामा राख्छ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : [email protected]

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!