स्वास्थ्य मन्त्रालय जलेर ध्वस्त, भर्चुअल रूपमा सञ्चालन, यही संरचनामा र ठाउँमा पुनः काम सञ्चालन हुने अवस्था देखिँदैन


काठमाडौँ -पूर्ण रूपमा जलि सकेको स्वास्थ्य मन्त्रालयबाट हाल काम गर्ने अवस्था नरहे पछि स्वास्थ्य सचिव देखि लिएर अन्य पदाधिकारीहरू आआफ्नो घर लगायतका स्थानमा रहेर मुख्य रूपमा स्वास्थ्य उपचार र अत्यावश्यक स्वास्थ्य सेवा सुनिश्चित गर्नेमा भर्चुअली केन्द्रित देखिएका छन ।

स्वास्थ्य सचिव डा. विकास देवकोटाले नेपालहेल्थप्रेसलाई भने -‘हाल हामी दैनिक रूपमा चल्ने लाईफ सेभिङ्ग र अत्यावश्यक स्वास्थ्य सेवा सुनिश्चित गराउनमा केन्द्रित छौ र स्वास्थ्य सेवा विभाग मार्फत नियमित काम भइ नै रहेको छ।’ स्वास्थ्य मन्त्रालयकै हातामा भएको स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्र समेत डडेर पूर्ण रूपमा नष्ट भएको छ।

‘अहिले स्वास्थ्य मन्त्रालयबाट केही गर्न सकिने स्थिति छैन’, डा. देवकोटाका अनुसार स्वास्थ्य मन्त्रालय पूर्ण रूपमा जली सकेकोले त्यहाँ बाट काम गर्ने अवस्था छैन । मन्त्रालयले समन्वय गर्ने काम गरिरहेको छ । अहिलेको मुख्य फोकस भने घाइतेको उपचार र अत्यावश्यक स्वास्थ्य सेवा सुनिश्चित गर्नुमा छ,’ उनले अगाडि थपे -‘बाँकी मन्त्रालयको पछि कसरी के गर्ने भन्ने जे निर्णय होला त्यसै अनुसार गर्ने छौ ।’

स्वास्थ्य मन्त्रालयका वरिष्ठ स्वास्थ्य प्रशासक डा.समिर अधिकारीका अनुसार स्वास्थ्य सेवा प्रवाह गर्ने देश भरका अस्पतालहरुमा तोडफोड को कुनै पनि घटना हाल सम्म प्रकाशमा आएको छैन । तर स्वास्थ्य सेवा प्रवाहमा सहयोग गर्ने मन्त्रालय, निर्देशनालय आदि पूर्ण रुपमा काम गर्न नसक्ने अवस्थामा छन् ।

बुधबार मात्र स्वास्थ्य सचिवको यी सबै विषयहरू मा केन्द्रित मुख्य सचिव सँग भर्चुअल बैठक समेत भएको छ। स्वास्थ्य मन्त्रालयका केही पदाधिकारी र कर्मचारीहरू बिहीबार स्वास्थ्य मन्त्रालय गएर वर्तमान अवस्थाको विस्तृत अध्ययन समेत गरेका छन्। उनीहरुले हाल के गर्न सकिन्छ ? कसरी अगाडि बढ्ने भन्ने योजनामा समेत जुटेका छन् ।

‘कम्प्युटर, ल्यापटप, सवारी साधन, लेटर हेड,  छाप लगायत सबै थोक डडेको छ’, स्वास्थ्य मन्त्रालयको अवस्था बारे स्थलगत अध्ययन गरि रहेका केही कर्मचारीले नेपालहेल्थप्रेसलाई भने -‘हामीले अब पुनः कसरी, के गर्ने ? भन्नेमा छलफल केन्द्रित गरेका छौँ, केही दिनको लागि भर्चुअल काम हुने अवस्था छ । फोन, हवाट्स एप, भाईवर आदि बाट मौखिक रूपमा कार्य सम्पादन भइ रहेको छ।’

स्वास्थ्य मन्त्रालयको कुर्ची टेबुल लगायत सबै डढेको छ। एक पदाधिकारीले भने -‘हाम्रो मन्त्रालयको हातामा रहेको २६ वटा भन्दा बढी सवारी साधन नै डडेको देखिन्छ ।’ उनले अगाडी थपे -‘यही संरचनामा यही ठाउँमा पुनः मन्त्रालयको काम सञ्चालन हुने खालको अवस्था देखिँदैन।’

 


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : [email protected]

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!