डा. गोविन्द केसीले भदौ १५ देखि सत्याग्रह सुरु गर्ने घोषणा


काठमाडौं – प्राध्यापक डा. गोविन्द केसीले सरकारले लिएको पछिल्लो निर्णयले स्वास्थ्य सेवा र मेडिकल शिक्षाको गुणस्तरमा प्रत्यक्ष नकारात्मक असर पर्ने भन्दै भदौ १५ गते, आगामी आइतबार देखि सत्याग्रह सुरु गर्ने घोषणा गरेका छन्।

बिहीबार जारी गरिएको प्रेस विज्ञप्तिमा उनले प्रधानमन्त्री (नेता) र चिकित्सा शिक्षा आयोगका पदाधिकारीहरूले गरेका स्वार्थपरक निर्णयले केवल गरिब जनता मात्र होइन, बुद्धिजीवी, पत्रकारसहित सम्पूर्ण नेपालीको स्वास्थ्य प्रभावित हुने चेतावनी दिएका छन्।

डा. केसीले भनेका छन्, ‘मानव जातिको सबै भन्दा महत्त्वपूर्ण पक्ष भनेकै स्वास्थ्य हो। गुणस्तरीय, निःशुल्क तथा सस्तो शिक्षा र स्वास्थ्य सेवामा सबै नेपालीको समान पहुँच सुनिश्चित गर्न हामी निरन्तर लड्दै आएका छौं र लडिरहने छौं।’

उनका अनुसार सरकार सँग पटक–पटक निर्णय फिर्ता लिन आग्रह गर्दा समेत बेवास्ता भएकाले शारीरिक अशक्तता हुँदाहुँदै पनि सत्याग्रहमा जान बाध्य भएको स्पष्ट गरिएको छ।

यस बीच, डा. केसी केही समय अघि दुर्घटनामा परेर खुट्टामा चोट लाग्दा प्लास्टर गरिएको थियो। उनले नेपालहेल्थप्रेस सँग कुरा गर्दै भनेका छन्, ‘१० दिन अझ प्लास्टर राख्नुपर्ने थियो। तर सत्याग्रह बस्नु पर्छ भनेर अस्ति नै निकालियो। हाल राम्ररी हिँड्न सक्दिन, कोठा भित्र लठ्ठीको सहारामा अलि अलि हिँड्छु, तर दुख्छ। तर के गर्नु, आफ्नो समस्या देशको समस्या भन्दा ठूलो त हैन नि।’ डा. केसीले आगामी भदौ १५, २०८२ देखि सत्याग्रह आरम्भ गर्ने औपचारिक जानकारी गराएका छन्।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : [email protected]

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!