नेपालमै पहिलो पटक राष्ट्रिय जन स्वास्थ्य प्रयोगशालामा डिजिटल पिसिआर मेसिन


काठमाडौं – टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा नेपाल मै पहिलो पटक ‘डिजिटल पीसीआर’ मेसिन जडान गरिएको छ। स्वास्थ्य मन्त्री प्रदीप पौडेलले शुक्रबार आयोजित कार्यक्रममा उक्त मेसिन सहित दुई वटा ‘रिपोर्ट भेन्डिङ मेसिन’ को उद्घाटन गर्दै सेवा शुभारम्भ गरेका हुन ।

मन्त्री पौडेलले कार्यक्रममा स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको कार्य योजना अनुरूप सरकारी स्वास्थ्य संस्थाको क्षमता अभिवृद्धि गर्ने कार्य अघि बढिरहेको बताए। उनले नागरिकलाई रोग परीक्षणका लागि विदेशमा नमुना पठाउनु पर्ने बाध्यता हटाउने र खर्च कम गर्ने लक्ष्य सरकारको रहेको स्पष्ट पारे।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा. रञ्जन राज भट्टका अनुसार डिजिटल पीसीआर प्रविधि सामान्य पीसीआर भन्दा धेरै संवेदनशील र सटीक छ। उनले यो पिसिआर डायग्नोस्टिक तर्फ नेपालमै पहिलो पटक जडान गरिएको समेत बताए।

यस प्रविधिबाट न्यून मात्रामा रहेको डीएनए पहिचान गर्न सकिने भएकाले रोगको निदान अझ भर पर्दो हुने डा. भट्टले भने । उनको अनुसार अब नेपालमै क्यान्सर उपचारसँग सम्बन्धित ईजिएफआर, बीसीआर-एबीएल, बीआरएएफ जस्ता म्युटेसन परीक्षण र रगतमा रहेको ट्युमर डीएनए परीक्षण सस्तो र सजिलो हुनेछ।

साथै, सेवाग्राहीलाई सहज बनाउन प्रयोगशालामा ‘रिपोर्ट भेन्डिङ मेसिन’ जडान गरिएको छ।सेवाग्राहीले प्रदान गरिएको युनिक कोड प्रयोग गरी आफैंले रिपोर्ट प्रिन्ट गर्न सक्ने भएका छन्, जसले लामो लाइनमा बस्ने झन्झट हटाउनेछ।

स्वास्थ्य मन्त्रालयले यो प्रविधि विस्तारले नेपालको रोग निदान क्षमता नयाँ स्तरमा पुग्ने र गुणस्तरीय स्वास्थ्य सेवामा आम नागरिकको पहुँच अझ सहज हुने विश्वास व्यक्त गरेको छ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : [email protected]

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!