चिकित्सक संघको दोस्रो राष्ट्रिय सम्मेलन सुरु


काठमाडौ – नेपाल चिकित्सक संघको ‘महामारीपछिको चुनौती, उपलब्धी र अवसर’ विषयमा केन्द्रीत दोस्रो राष्ट्रिय सम्मेलन मंगलबार सुरु भएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले दुई दिनसम्म चल्ने उक्त सम्मेलनको औपचारिक उद्घाटन गरेका हुन ।

विभिन्न सात विषयमा छलफल हुने दोस्रो सम्मेलनमा देशभरबाट पाँच सयभन्दा बढीको सहभागिता रहेको छ ।

सम्मेलनको पहिलो दिन मंगलबार ‘पहिलो राष्ट्रिय सम्मेलनको उपलब्धी’, ‘सुर्तीजन्य पदार्थले स्वास्थ्य र स्वास्थ्य प्रणालीमा पारेको असर’ र ‘चिकित्सा र स्वास्थ्य क्षेत्रका जनशक्तिलाई स्वदेशमै हौसला, अवसर र प्रेरणा’ विषयमा छलफल भएको छ।

स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोखरेलले सम्मेलनमा छलफल पछि आएका निचोड र सुझावका आधारमा स्वास्थ्य मन्त्रालयलये नीति तथा कार्यक्रमहरु बनाउन सक्ने जनाए ।

विश्व स्वास्थ्य संगठनका नेपाल प्रतिनिधि डा. राजेश संभाजीराव पाण्डवले कोभिड महामारीसँगै आगामी दिनमा आउनसक्के जोखिम तथा समस्याको समाधानका लागि पनि तयारी अवस्थामा रहनुपर्ने बताए ।

संघका अध्यक्ष डा. लोचन कार्कीले आगामी दिनमा स्वास्थ्यको नीति के हुनुपर्ने, पाँच वर्ष, १० वर्षमा स्वास्थ्य क्षेत्रमा के काम हुनुपर्छ र के कुरामा जोड दिनुपर्छ भन्ने विषयमा सम्मेलन मा गहन छलफल गर्ने बताए ।

सम्मेलन आयोजक समितिका अध्यक्ष डा अन्जनीकुमार झाले समसामयिक र नेपालको विद्यमान परिस्थितिसँग सुहाउँदिलो विषयहरु सम्मेलनमा छलफलका लागि छनोट गरिएको बताए ।

सम्मेलनको दोस्रो दिन बुधबार ‘महामारीपछि स्वास्थ्य क्षेत्रका चुनौती र अवसरहरु’, ‘खोप, औषधि र उपकरणहरुको उचित भण्डारण, ढुवानी र वितरण’, ‘नेपालमा स्वास्थ्य पर्यटनको संभावना’ र ‘चिकित्सा शिक्षामा असर र अवसर’ गरी चार वटा विषयमा छलफल हुनेछ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!