‘सरकारी छात्रवृत्तिका डाक्टर लाई कोशी सरकारले यातायात कार्यालयमा खटायो : विज्ञले भने, राज्यको लगानीको दुरुपयोग’


काठमाडौँ – देशभरि का  सरकारी स्वास्थ्य निकायमा चिकित्सकको अत्याधिक कमी रहेकै बेला नेपाल सरकारले छात्रवृत्ति करारमा कोशी प्रदेश पठाएका डाक्टरहरूलाई त्यहाँको स्वास्थ्य मन्त्रालयले अस्पताल को सट्टा यातायात व्यवस्था कार्यालयमा खटाएको छ ।

कोशी प्रदेश सरकारको यो निर्णय पछि नेपाल चिकित्सक संघका पदाधिकारीहरू मात्र नभई काठमाडौँ स्थित संघीय स्वास्थ्य मन्त्रालय का उच्च पदाधिकारीले समेत छात्रवृत्तिका चिकित्सक हरुलाई स्थानीय सरकारहरूले बिरामीलाई प्रत्यक्ष जाँच, उपचार गर्ने ठाउँ अस्पताल, हेल्थ पोस्ट आदिमा पठाउनु पर्ने पुन: दोहोर्याएको छ।

सरकारले यो वर्ष मात्र चिकित्साशास्त्रमा स्नातकोत्तर (एमडी / एमएस) गरेका ४३ जना छात्रवृत्तिको चिकित्सकलाई कोशी प्रदेश पठाइएको छ। यस बाहेक वर्षेनी छात्रवृत्तिमा एमबिबिएस, डिएम/एमसिएच गरेका उल्लेख्य सङ्ख्याका चिकित्सकहरूलाई कोशी लगायतका विभिन्न प्रदेशहरूमा पठाउने गरिएको छ।

कोशी प्रदेश स्वास्थ्य मन्त्रालयले सचिव स्तरीय निर्णय गरी छात्रवृत्ति करारका चार जना डाक्टर लाई अर्को व्यवस्था नभए सम्मको लागि यातायात व्यवस्था कार्यालय खटाएको हो ।

काठमाडौँ स्थित संघीय स्वास्थ्य मन्त्रालयका सचिव डा. विकास देवकोटाले  नेपालहेल्थप्रेससँग भने -‘हामीले छात्रवृत्तिका चिकित्सकलाई अस्पतालमा बिरामीको परीक्षण उपचार गर्न खटाउनको लागि पठाएका हौँ।’

स्थानीय यातायात विभागले चिकित्सक राख्नु छ भने विज्ञापन गरेर राख्नुपर्ने जनाउँदै डा. देवकोटाले यस बारेमा थप जानकारी लिन प्रदेशको स्वास्थ्य सचिवसँग कुरा गर्ने समेत बताए।

संघीय स्वास्थ्य मन्त्रालयको नीति योजना अनुगमन महाशाखा प्रमुख डा. कृष्ण पौडेलको अनुसार छात्रवृत्तिका चिकित्सकलाई प्रदेश अन्तर्गतको निकायमा खटाउन प्रदेशलाई नै जिम्मा दिइएको बताए। तर खटाउने बेलामा यस्ता चिकित्सकलाई पालिका अन्तर्गत बनेका ५, १० र १५ सैयाको आधारभूत अस्पतालमा प्राथमिकता साथ राख्न अनुरोध समेत गरिएको उनले  जनाए ।

नेपाल चिकित्सक संघ,  कोशी शाखाका अध्यक्ष डा.राजेन्द्र चौधरी आफ्नो प्रदेशको सरकारी स्वास्थ्य निकायमा दिगो स्वास्थ्य सेवा पाउनलाई ७५ देखि ८०% चिकित्सकको कमी रहेको तथ्याङ्क प्रस्तुत गर्दै भन्छन् -‘प्रदेशमा भएका १५ वटा अस्पतालमा चिकित्सक लगायत चिकित्साकर्मी जनशक्तिको व्यापक कमी छ। केन्द्रबाट छात्रवृत्ति अन्तर्गत आउने डाक्टरले यसमा धेरै न्यून भए पनि भरथेग गर्ने गरिरहेकोमा,  त्यसलाई पनि स्थानीय सरकारले अस्पताल नभई अन्यत्र पठाइरहेका छन्।’

डा. चौधरीले छात्रवृत्तिको चिकित्सकलाई अस्पताल, हेल्थ पोस्ट को सट्टा अन्य निकायमा पठाइ रहेको बारे स्थानीय सरकार नजिक ज्ञापन पत्र सहित पुग्ने तयारीमा रहेको बताए।

नेपाल मेडिकल काउन्सिलका सदस्य डा. हुलास अग्रवाल ले छात्रवृत्ति अन्तर्गत सरकारी स्वास्थ्य निकायमा काम गर्न आएका डाक्टरहरु लाई प्रत्यक्ष बिरामीको परीक्षण, उपचार प्रक्रियामा लगाउनुको सट्टा अन्यत्र प्रयोग गर्नु उच्च स्तरीय दक्ष जनशक्तिको व्यापक दुरुपयोग रहेको आरोप लगाए।

डा. अग्रवालले भने -‘देश भरिमा छात्रवृत्तिबाट चुनिएर चिकित्सक बनेका उत्कृष्ट जनशक्ति लाई बिरामीको उपचार सेवा भन्दा फरक  काम गर्न लाउनु राष्ट्रले गरेको करोडौंको लगानीको दुरुपयोग हो। यो मोफसलमा रहेका आम नेपाली जनता लाई गुणस्तरीय चिकित्सकीय उपचार प्रक्रिया पाउनुबाट वञ्चित राख्ने अपराध हो ।’

उनले संघीय सरकारले छात्रवृत्तिमा डाक्टरी पढाउने नीति को मूल मान्यता र नीति को विपरीत काम कोशी सरकारले गरि रहेको आरोप समेत लगाए ।

‘राज्यले करोडौ लगानी गरेर छात्रवृत्तिमा चिकित्सक फिटनेस सर्टिफिकेट बाँड्नको लागि बनाएका होइनन’, डा. अग्रवालले भने-‘कोशी सरकारले अविलम्ब आफ्नो गल्ती सच्याउनुपर्छ र भविष्यमा समेत ‘यदि, होइन भने, तर’, आदि नगरी छात्रवृत्तिको पढाइ सकाएर यो क्षेत्रको अस्पतालमा काम गर्न पठाइएका डाक्टरहरूलाई प्रत्यक्ष जनताको उपचार प्रक्रियामा समावेश गर्नु पर्छ।’

नेपाल सरकारको छात्रवृत्ति प्रक्रियाबाट डाक्टर बनेका उत्कृष्ट मध्ये एक चिकित्सकहरू लाई कोशी प्रदेश सरकारले यातायातको लाइसेन्समा आँखा र रगत जाँच गर्न यातायात व्यवस्था विभागमा पठाइरहेको जनाउँदै नेपाल चिकित्सक संघका अध्यक्ष डा.अनिल विक्रम कार्की ले भने – ‘सरकारको नीतिमा मात्र होइन नियतमा पनि समस्या छ।’

डा.कार्कीको अनुसार यो कदम छात्रवृत्ति परिचालन निर्देशिकाको विपरीत छ ।  सरकारले स्वास्थ्य मन्त्रालय अन्तर्गतको अस्पताल,  स्वास्थ्य केन्द्र आदिमा चिकित्सकलाई खटाउनु पर्नेमा यातायात, बीमामा खटाउनु अख्तियारको दुरुपयोग समेत हो।

तर कोशी प्रदेशका स्वास्थ्य सचिव डा. राधिका थपलिया ले नेपालहेल्थप्रेस सँग कोशी प्रदेशको स्वास्थ्य मन्त्रालयले अन्य मन्त्रालयको आग्रहमा मात्र चार जना चिकित्सकलाई यातायात व्यवस्था कार्यालय मा एक महिनाको लागि खटाएको बताइन ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : [email protected]

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!