वीर अस्पताल : १३६ वर्षको गौरवशाली यात्रा, सेवा, संरचना र प्रविधिमा गुणात्मक फड्को


काठमाडौं – नेपालकै सबै भन्दा पुरानो सरकारी वीर अस्पताल १३६औं वर्षमा प्रवेश गरेको छ । वीरको वार्षिक उत्सवको कार्यक्रम अस्पतालका निर्देशक डा.दिलिप शर्माले प्रतिवेदन सार्वजनिक गर्दै विगत एक वर्षको गतिविधि, सेवा विस्तार, भौतिक पूर्वाधार विकास, प्रविधिको प्रयोग, सामाजिक उत्तरदायित्व, प्रशासनिक सुधार तथा भावी योजना प्रस्तुत गर्दै स्वास्थ्य क्षेत्रमा अस्पतालको अग्रणी भूमिकालाई उजागर गरे।

प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्य मा वार्षिकोत्सव समारोह हुने पूर्व निर्धारित कार्यक्रम भएपनि स्वास्थ्यको कारणले प्रधानमन्त्री कार्यक्रममा सरिक हुन सकेनन उक्त कार्यक्रममा स्वास्थ्य मन्त्री प्रदीप पौडेल सहभागी थिए।

सन् १८८९ मा स्थापना भएको यस अस्पतालले वि.सं. १९४६ साउन १२ गते १५ शैयाबाट सेवा सुरु गरेपछि हाल ९६० शैया सम्मको क्षमता विस्तार गरी देशको एक प्रमुख केन्द्रीय रेफरल अस्पतालको रूपमा आफ्नो उपस्थिति जनाइरहेको छ।

यो वर्ष बहिरङ्ग तथा अन्तरङ्ग सेवामा उल्लेख्य वृद्धि देखिएको छ। २६ हजार भन्दा बढी शल्यक्रिया मध्ये १६२० वटा इमरजेन्सी, १०२२० वटा अन्तरङ्ग र बाँकी बहिरङ्ग मार्फत सम्पन्न भएका छन्।

सेवा विस्तार र प्रविधिमा ऐतिहासिक फड्को

प्रतिवेदन अनुसार, वीर अस्पतालले हालैका वर्षहरूमा सेवा विस्तारको महत्वपूर्ण चरण पार गरेको छ। बर्न सेवा, केडी जोशी बर्न सेन्टरको रूपमा पुनः सञ्चालनमा आएको छ भने पेन मेडिसिन क्लिनिक, कोक्लियर इम्प्लान्ट सर्जरी, कार्डियोथोरासिक तथा भास्कुलर सर्जरी  र पल्मोनरी क्रिटिकल केयर सेवा जस्ता सुपर-स्पेशियालिटी सेवा सुरु गरिएको छ।

न्युरो सर्जरी विभागबाट भिडियो इइजी र डिप ब्रेन स्टिमुलेसन (डिबिएस) जस्ता अत्याधुनिक प्रविधिको प्रयोग सरकारी अस्पतालमा पहिलो पटक गरिएको उल्लेख छ। क्लिनिकल अंकोलोजी विभागबाट अत्याधुनिक टोमोथेरापी मेसिन मार्फत क्यान्सर उपचार सेवा दिइएको छ।

भौतिक पूर्वाधारमा तीव्र विस्तार

अस्पतालले आकस्मिक कक्ष विस्तार गरी ३५ शैया बाट ७० शैयाको मोड्युलर इमरजेन्सी सेवा सञ्चालन गर्ने कार्य अन्तिम चरणमा पुगेको छ। त्यस्तै, पथ्य भवन निर्माण कार्य ३० प्रतिशत सम्पन्न भइसकेको र यस आर्थिक वर्षको पुस मसान्त सम्म सम्पन्न गर्ने लक्ष्य रहेको उल्लेख छ।

आगामी दिनमा सर्जिकल भवन र बहिरङ्ग विभागलाई जोड्ने आकाशेपुल निर्माण, बिरामी कुरुवा घर निर्माण, बहिरङ्ग प्रतिक्षालयमा आधुनिक क्यानोपी निर्माण, र डिजिटल हेल्थ प्रणालीको स्तरोन्नति लगायतका योजनाहरू अगाडि बढाइएका छन्।

यो वर्ष बहिरङ्ग तथा अन्तरङ्ग सेवामा उल्लेख्य वृद्धि देखिएको छ। २६ हजारभन्दा बढी शल्यक्रिया मध्ये १६२० वटा इमरजेन्सी, १०२२० वटा अन्तरङ्ग र बाँकी बहिरङ्गमार्फत सम्पन्न भएका छन्।

सामाजिक उत्तरदायित्व र स्वास्थ्य बीमा कार्यक्रम

वीर अस्पतालले सामाजिक सुरक्षा कोष, केन्द्रीय कारागार, विपन्न नागरिक, आन्दोलनका घाइते लगायतका लागि क्रेडिटमा उपचार सेवा दिएको छ। आर्थिक वर्ष २०८१/८२ मा अस्पतालले गरीबी तथा विपन्नका लागि मात्र रु ६ करोड ४५ लाख बराबरको छुट दिएको प्रतिवेदनमा उल्लेख छ।

स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत ३६ हजारभन्दा बढी विमितले बहिरङ्ग सेवा लिएका छन् भने ८ हजारभन्दा बढीले आकस्मिक सेवा तथा ५४ सयभन्दा बढीले भर्ना सेवा लिएका छन्। तर, स्वास्थ्य बीमा बोर्डबाट रु ४६ करोडभन्दा बढी भुक्तानी अझै बाँकी रहेको अस्पतालले जनाएको छ।

प्रशासनिक सुधार र डिजिटल हेल्थमा प्राथमिकता

‘सही ठाउँमा सही व्यक्ति’ को अवधारणा सहित मानव स्रोत व्यवस्थापनमा दक्षता र पारदर्शिता कायम गरिएको छ। खरिद प्रक्रिया प्रतिस्पर्धात्मक बनाइएको र गैर प्रयोग योग्य सामानहरू लिलामी गरिएको छ।

डिजिटल हेल्थलाई कार्यान्वयन गर्दै फाइल व्यवस्थापन प्रणाली, विद्युतीय हाजिरी, कर्मचारी अनुगमन प्रणाली, स्वचालित तथ्यांक प्रणाली, तथा युनिक हेल्थ आईडी अनिवार्य गरिएको छ। एकीकृत अस्पताल सूचना व्यवस्थापन प्रणाली लाई दीर्घकालीन रणनीतिक रूपमा लागू गर्ने योजना अघि सारिएको छ।

दुवाकोट परियोजना: भावी विकासको मेरुदण्ड

वीर अस्पतालको दीर्घकालीन विकासमा दुवाकोट स्वास्थ्य परियोजनालाई मेरुदण्डको रूपमा लिइएको छ। हाल बहिरङ्ग मात्र सञ्चालनमा रहेको यस परियोजनामा प्रसूति र वालरोग सेवा पुनः सञ्चालनका लागि पूर्वाधार विकास तीव्र बनाइने उल्लेख गरिएको छ।

चुनौतीहरू र सुधारको आवश्यकता

हाल अस्पतालमा नर्सिङ र एनेस्थेसिया जनशक्तिको कमीका कारण केही सेवा सञ्चालनमा बाधा उत्पन्न भएको प्रतिवेदनमा स्वीकार गरिएको छ। बढ्दो बिरामी संख्यालाई ध्यानमा राख्दै जनशक्ति, उपकरण तथा पूर्वाधारमा लगानी आवश्यक भएको बताइएको छ। अस्पताललाई केन्द्रीय रेफरल केन्द्रको रूपमा पुनःसंरचना गर्न नीतिगत प्राथमिकता आवश्यक भएको प्रतिवेदनले औंल्याएको छ।

अस्पतालका भविष्यका योजनाहरू

  • आकासे पुलनिर्माण
  • विरामी कुरुवा घर
  • बहिरङ्ग प्रतिक्षालयमा क्यानोपी
  • डिजिटल हेल्थको स्तरोन्नति
  • रेडियोलोजी विभागमा पिएसिएस प्रणाली
  • दुवाकोट परियोजना अन्तर्गत प्रसूति तथा बालरोग सेवा पुनः सञ्चालन

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!