कोशी प्रदेशमा कोक्लियर इम्प्लान्ट शल्यक्रिया सफलतापूर्वक सम्पन्न


बिराटनगर – राजधानी काठमाडौँ बाहिर नोबेल मेडिकल कलेज, बिराटनगरमा दुई जना जन्मजात रूपमा सुन्न र बोल्न नसक्ने बालकको कोक्लियर इम्प्लान्ट शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरिएको छ।

शल्यक्रिया नाक, कान, घाँटी रोग विशेषज्ञ डा. शंकर शाह र शिक्षण अस्पताल महाराजगञ्जका डा. रवीन्द्र प्रधानाङ्गको टोलीबाट सम्पन्न भएको हो।

डा. शाहले अष्ट्रेलियाको सिड्नीस्थित वेस्टमीड अस्पतालबाट कोक्लियर इम्प्लान्टसम्बन्धी एक वर्षे फेलोशिप गरेका छन्।

जन्म देखि नै श्रवण शक्ति गुमाएका ती दुई बालकको उपचार बारे डा. शाहले भने, ‘यो जटिल शल्यक्रिया भए पनि हाम्रो टिमको समन्वय र अत्याधुनिक प्रविधिको प्रयोगले सफल भयौँ। अब यी बालबालिकाले सामान्य जीवन बिताउन सक्नेछन् भन्नेमा हामी ढुक्क छौँ’

अस्पतालको अनुसार, शल्यक्रियापछि बालबालिकाको भाषिक विकासका लागि आवश्यक थेरापी र तालिम कार्यक्रम सञ्चालन गरिनेछ।

कोक्लियर इम्प्लान्ट मार्फत कानको भित्री भागमा इलेक्ट्रोनिक उपकरण जडान गरिन्छ, जसले बाहिरी आवाजलाई विद्युत संकेतमा बदल्दै मस्तिष्क सम्म पुर्‍याउने काम गर्छ। यसले क्रमशः बालबालिकामा सुन्ने र बोल्ने क्षमता विकास गर्छ।

नोबेल मेडिकल कलेजले नवजात शिशुमा श्रवण शक्ति परीक्षण (स्क्रिनिङ) कार्यक्रम सुरु गर्ने तयारी समेत गरि रहेको छ। प्रारम्भिक पहिचान र हस्तक्षेपले श्रवण अपाङ्गता भएका बालबालिका को भविष्यमा ठूलो सुधार ल्याउन सकिने चिकित्सकहरू बताउँछन्।

अस्पतालले कोक्लियर इम्प्लान्ट जस्ता जटिल शल्यक्रियाका लागि आवश्यक सम्पूर्ण प्रविधि, विशेषज्ञ टोली र पूर्वाधार उपलब्ध गराएको जनाएको छ। यसले कोशी प्रदेश र आसपासका क्षेत्रका बिरामीहरूलाई राजधानी जानु नपर्ने गरी सहज उपचार सेवा प्रदान गर्ने अपेक्षा गरिएको छ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : [email protected]

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!