‘सम्भावित डेङ्गु संक्रमण सँग जुध्ने तयारीः काठमाडौंमा लामखुट्टे को लार्भा नष्ट गर्ने अभियान’


काठमाडौं– यो वर्ष सम्भावित डेङ्गु संक्रमणमा बृद्घि लाई दृष्टिगत गरी काठमाडौं महा नगरपालिका को स्वास्थ्य विभागले लामखुट्टेको वासस्थान र लार्भा नष्ट गर्ने पाँच दिने अभियान थालेको छ ।

स्मरण रहोस् संघीय स्वास्थ्य मन्त्रालय ले यो वर्ष मनसुन सँगै लामखुट्टे को प्रजननको लागि अनुकूल अवस्था बन्न सक्ने र डेङ्गु सङ्क्रमितको सङ्ख्यामा बढोत्तरी हुन सक्ने जनाइ सकेको छ । जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार नेपाल मा यो वर्ष सरदर भन्दा बढ वर्षा हुने आकलन गरिए पछि स्वास्थ्य मन्त्रालयले डेङ्गु संक्रमणमा बृद्घि हुन सक्ने चेतावनी जारी गरेको थियो ।

काठमाडौं महा नगरपालिकाले यो अभियान अन्तर्गत ६ सय ५४ जना परिचालित गरेको छ । ३२ वटै वडामा यो कार्यक्रम असार ९ गते बाट शुरु भएको हो ।

‘डेङ्गु नियन्त्रणको लागि लामखुट्टे र लार्भाहरू खोजेर नष्ट गर्नु (सर्च एण्ड डेस्ट्रोय) नै महत्वपूर्ण रहेकोले पहिलो चरणमा यो अभियान शुरु गरिएको हो’, महा नगरपालिकाको स्वास्थ्य विभागका, महामारी रोकथाम तथा नियन्त्रण को फोकल पर्सन ऋषि भुसालले नेपालहेल्थप्रेससँग कुरा गर्दै भने–‘यस अन्तर्गत हामी लार्भा नष्ट गर्न लार्भीसाइड छर्कने, स्थानीय व्यक्तिहरूलाई डेङ्गु विरुद्ध सचेतना फैलाउने लगायतका काम समेत गरिरहेका छौ ।’

भुसालका अनुसार, यस अभियानमा ६४ जना स्वास्थ्य कर्मी, ३२ जना लार्भिसाइड छर्कने स्वयंसेवक र ५ सय ५८ जना महिला स्वास्थ्य स्वयंसेविका परिचालन गरिएको छ ।

लामखुट्टेको लार्भा नष्ट गर्न छर्किन थालिएको जैविक औषधि लार्भिसाइड लाई पानीको माथिल्लो भागमा छर्किने थालिएको छ । यो औषधिले लार्भाको पेटमा विष उत्पन्न गरेर पाचन प्रक्रिया नष्ट गर्छ । यसले गर्दा पूर्ण विकसित हुन नपाउँदै लार्भा को मृत्यु हुन्छ । लार्भीसाइडले डेङ्गु लगायत चिकनगुनिया, जिका, यलो फिभर, फाइलेरिया, औलो फैलाउने लगायतका सबै प्रजातिका लामखुट्टेका लार्भा र प्युपा नष्ट हुने गर्छ ।

डेङ्गु एडिस एजेप्टाई नामको पोथी लामखुट्टेले टोक्दा हुने भाइरल संक्रमण हो । संक्रमित व्यक्तिलाई टोकेको लामखुट्टेले स्वस्थ व्यक्तिलाई टोक्दा डेङ्गुको संक्रमण हुन्छ । डेङ्गु भाइरसले संक्रमित लामखुट्टेले टोकेको ३ देखि १० दिनभित्र शरीरमा लक्षण देखा पर्न थाल्छ ।

डेङ्गुको संक्रमण बयस्कको दाँजोमा बालबालिका र बूढापाकामा बढी देखिन्छ । एडिस जातका लामखुट्टे पानी जम्मा भएको जुनसुकै भाँडोमा हुर्कन सक्छ । डेङ्गु वाट जोगिन लामखुट्टेले फुल पार्न सक्ने सम्भावित घर, विद्यालय, मानव वस्ती भित्र र वरपरका पानी जम्ने सबै ठाउँहरू र पानी राख्ने भाडो वा पानी जम्मा हुने ठाउँ खोजी सफा गरेर लामखुट्टेको फुल नष्ट गर्नु पर्छ ।

काठमाडौं महा नगरपालिकामा डेङ्गु संक्रमण बारेमा परामर्श दिन निःशुल्क हटलाइन ११८० टेलिफोन २४ सै घण्टा सञ्चालनमा रहेको छ । भुसालले अस्पताल जानु पर्ने बिरामीले १०२ नम्बरमा सम्पर्क गरेर निःशुल्क एम्बुलेन्स प्रयोग गर्न सक्ने समेत बताए ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!