निपाह भाइरस दुर्लभ तर अत्यन्त गम्भीर, हाल प्रकोप पश्चिम बङ्गाल मै सीमित: डब्लुएचओ प्रमुख
अतुल मिश्र (काठमाडौँ)-भारतको पश्चिम बंगाल राज्यमा निपाह भाइरस संक्रमणका दुई पुष्टि भएका घटना पछि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले सतर्कता अपनाउन आग्रह गरेको छ। डब्लुएचओका महानिर्देशक डा. टेड्रोस अधानोम घेब्रेयेससले निपाहलाई ‘गम्भीर रोग’ भन्दै जोखिमलाई हल्का रूपमा नलिन चेतावनी समेत दिएका छन।
स्मरण रहोस गत वर्ष डब्लुएचओले ३० खतरनाक भाइरस र ब्याक्टेरियाहरू पहिचान गरेकाे थियो जसले भविष्यमा महामारीको अवस्था सिर्जना गर्न सक्छ । डब्लुएचओले ती किटाणुहरूको सूची समेत जारी गरेको थियो। उक्त सूचीमा डब्लुएचओले निपाह भाइरस समेत सामेल गरेको थियो । उक्त भाइरस त्यस ताका नै छिमेकी मुलुक भारतमा देखि सकिएको थियो ।
डा. टेड्रोसले सामाजिक सञ्जाल ‘एक्स मार्फत सार्वजनिक गरेको जानकारी अनुसार पश्चिम बंगालमा देखिएको यो घटना सन १९९८ मा निपाह भाइरस पहिलो पटक पहिचान भएयता सो राज्यमा देखिएको तेस्रो प्रकोप हो। ‘हाल सम्म यस प्रकोप सँग जोडिएको कुनै पनि घटना अन्य देशमा रिपोर्ट भएको छैन,’ उनले उल्लेख गरेका छन।
डब्लुएचओका अनुसार भारतको राष्ट्रिय अन्तर्राष्ट्रिय स्वास्थ्य नियमावली (आईएचआर) फोकल प्वाइन्टले २६ जनवरी २०२६ मा पश्चिम बंगालमा दुई स्वास्थ्यकर्मीमा निपाह भाइरस संक्रमण पुष्टि भएको जानकारी दिएको हो। दुवै संक्रमित उत्तर २४ परगना जिल्लाको बारासत स्थित एक निजी अस्पतालमा कार्यरत नर्स हुन। उनीहरूमा संक्रमणको पुष्टि १३ जनवरीमा पुणे स्थित राष्ट्रिय भाइरोलोजी संस्थानले गरेको थियो।
संक्रमित मध्ये एक जना महिला नर्स गम्भीर अवस्थामा मेकानिकल भेन्टिलेसनमा उपचाररत छन् भनेे अर्का पुरुष नर्समा गम्भीर स्नायुगत समस्या देखिए पनि स्वास्थ्य अवस्थामा सुधार आएको छ। दुवैको उमेर २० देखि ३० वर्ष बीच रहेको र उनीहरू डिसेम्बर २०२५ को अन्त्य तिर बिरामी परेका थिए।
१९० भन्दा बढी सम्पर्कमा आएका व्यक्ति निगरानीमा
डा. टेड्रोसका अनुसार भारतीय स्वास्थ्य अधिकारीहरूले १९० भन्दा बढी सम्पर्कमा आएका व्यक्तिको पहिचान गरी निगरानी गरिरहेका छन। ‘अहिले सम्म उनीहरू मध्ये कसैमा पनि रोग विकसित भएको छैन,’ उनले लेखेका छन। परीक्षण गरिएका सबै नमुनाको नतिजा नेगेटिभ आएको डब्लुएचओले जनाएको छ।
उनका अनुसार भारतीय अधिकारीहरूले रोग निगरानी र परीक्षणलाई थप विस्तार गरेका छन। स्वास्थ्य संस्थाहरूमा संक्रमण रोकथाम तथा नियन्त्रणका उपाय कडाइका साथ लागू गरिएको छ भने आम नागरिकलाई आत्म-सुरक्षा बारे निरन्तर जानकारी दिइँदै आएको छ।
निपाह भाइरस के हो
निपाह भाइरस एक दुर्लभ तर गम्भीर जुनोटिक रोग हो, जो जनावरबाट मानिसमा सर्छ। मुख्य रूपमा फलफूल खाने चमेरा (प्टेरोपस प्रजाति) यसको प्राकृतिक स्रोत मानिन्छ। संक्रमित जनावरको र्याल, पिसाब वा दिसाले दूषित खाना तथा मानिसबाट मानिसमा नजिकको सम्पर्क मार्फत पनि संक्रमण हुन सक्छ।
यसको इन्क्युबेसन (ओथार) अवधि सामान्यतया ३ देखि १४ दिनसम्म रहने भए पनि केही अवस्थामा ४५ दिनसम्म देखिएको छ। ज्वरो, टाउको दुखाइ, मांसपेशी दुख्ने, बान्ता र घाँटी दुखाइ प्रारम्भिक लक्षण हुन्। गम्भीर अवस्थामा मस्तिष्क सुन्निने (एन्सेफालाइटिस), दौरा र कोमा सम्म पुग्न सक्ने डब्लुएचओले जनाएको छ ।
बंगलादेश, भारत, मलेसिया र सिंगापुरमा देखिएका प्रकोपमा मृत्युदर ४० देखि ७५ प्रतिशत सम्म रहेको छ। हाल सम्म निपाह भाइरस विरुद्ध कुनै स्वीकृत खोप वा विशेष औषधि उपलब्ध छैन। समय मै सहयोगात्मक उपचारले मात्र ज्यान जोगाउने सम्भावना बढ्ने डब्लुएचओको भनाइ छ ।
जोखिम मूल्याङ्कन र प्रतिक्रिया
डब्लुएचओले पश्चिम बंगालको यस घटनालाई उप राष्ट्रिय स्तरमा मध्यम जोखिमको रूपमा मूल्याङ्कन गरेको छ। राष्ट्रिय, क्षेत्रीय र विश्वव्यापी स्तरमा भने जोखिम कम रहेको निष्कर्ष निकालेको छ।
भारत सरकारले पश्चिम बंगाल सरकारसँग समन्वय गरी सम्पर्क पहिचान, निगरानी विस्तार, स्वास्थ्यकर्मीलाई सचेतना, संक्रमण रोकथाम तथा नियन्त्रणका उपायहरू लागू गरेको छ। डब्लुएचओले पनि घटनासम्बन्धी सूचना आदान- प्रदान, जोखिम मूल्याङ्कन र प्राविधिक सहयोग गरिरहेको जनाएको छ।
जनस्वास्थ्य सन्देश
डब्लुएचओले निपाह भाइरसको जोखिम कम गर्न काँचो खजुरको रस उमालेर मात्र पिउन, फलफूल राम्ररी धुने र छिलेर खाने, चमेराले टोकिएको देखिने फल नखाने सुझाव दिएको छ। साथै संक्रमित वा शंकास्पद व्यक्तिसँग नजिकको असुरक्षित सम्पर्कबाट बच्न र स्वास्थ्यकर्मीले कडाइका साथ संक्रमण रोकथामका मापदण्ड पालना गर्न आग्रह गरिएको छ।
हालको अवस्थाका आधारमा डब्लुएचओले यात्रा वा व्यापारमा कुनै प्रतिबन्ध सिफारिस गरेको छैन।

प्रतिक्रिया दिनुहोस