बालेन्द्रबाट बालेन हुँदै बालेन सरकार, के ‘अबकी बार?’


आखिर बालेन्द्रबाट बालेन बनेका एक सिभिल इन्जिनियरिङमा स्नातक र स्ट्रक्चरल इन्जिनियरिङमा स्नातकोत्तर इन्जिनियर  र्र्‍यापमा रमाउँदै गर्दा राजनीतिको बाटो किन समाते ? र समाते भने पनि कसरी यसरी समाते कि पाँच वर्ष भित्रै देशको प्रधानमन्त्री बन्ने लाइन को अग्र पंक्तिमा पुग्न सम्मको अवस्था निर्माण भयो ।

यी प्रश्नहरूको जवाफ सरल छैन। सहज छैन । अवस्था निर्माण हुनु र त्यो पथमा अगाडि बढ्दै जानु ले नै गन्तव्य प्राप्त हुन्छ नै भन्न सकिने स्थिति पनि छैन। तर यी प्रश्नहरू पछाडि एउटा कुरा छ त्यो हो हालसम्म देखिएको इमान्दारिता । त्यसमा पनि आर्थिक इमान्दारिता ।

र्‍यापको माध्यमले युवाको मन मस्तिष्कमा पुगेर उनीहरूकै भाषामा विद्रोहका कुरा, समानताका चर्चा सहित वास्तविकताको धरातल टेकेर विकासको सपना बाड्न सफल भएका बालेन पछिल्लो चार वर्षे काठमाडौँको मेयर कार्यकालमा देखाएका आर्थिक इमान्दारिता सबैभन्दा बढी र सबै जसोलाई प्रभावित गरेको कुरो हो।

नेपाल जहाँ पछिल्लो समय पैसा वा प्रभाव बिना सरकारी गैरसरकारी लगायतका अधिकांश काम नहुने अवस्था बीच उनको कार्यकालमा काठमाडौँ नगरपालिकामा यस्ता लेनदेन बन्द हुनु वा प्रत्यक्ष रूपमा नदेखिनु नै ठूलो आश्चर्य थियो।

जस ले सबैलाई एउटा आशाको झिल्को जस्तै लाग्यो । नेपाल निर्माणको लागि भविष्यको एक ठूलो सम्भावनाको रुपमा लिए। यो सँगै महानगरपालिकामा पुरातनताको महत्वलाई जोगाउँदै यसलाई थप आकर्षणमा ल्याएर यसबाटै स्थानीय र अन्तर्राष्ट्रिय रूपले चर्चा र महत्व पाउन सकिने प्रयासहरू पनि एउटा आकर्षणको रुपमा देखियो।

आफूले सहरलाई थप राम्रो बनाउन पाएको जिम्मेवारी पूरा गर्न भोट बैंकको राजनीति भन्दा माथि उठेर र शक्तिशाली ठूला राजनीतिक पार्टी हरूको विरुद्धमा गएर गरिएको कार्यहरूले पनि उनलाई एउटा आशाको केन्द्र जस्तो देखायो।

यसको क्लाइमेक्स पछिल्लो जेन्जी आन्दोलन रह्यो। देश, छरछिमेक मात्र नभई विश्व हल्लाउने, कसैले कल्पना समेत नगरेको अवस्था एक्कासी आउनु र १८० डिग्रीको परिवर्तन भएको जेन्जी आन्दोलन मा सहजै प्राप्त भइरहेको राष्ट्रिय प्रमुखको स्थानलाई अस्वीकार गरेर त्यसलाई ससम्मान अर्का व्यक्तिको हातमा दिनु ले उनी एकाएक आम नेपालीको मन मस्तिष्कमा बस्न बाध्य भए ।

सत्ता सहज रूपमा आफ्नो हातमा आउन थालेको बेला त्यसलाई ससम्मान अरुमा हस्तान्तरण गर्ने प्रकरणले उनको राजनीतिक समझदारी लाई झन् बढी स्पष्ट गर्छ । यसले स्पष्ट भयो उनी लामो रेसका घोडा हुन्। र यही बिन्दुले उनलाई सम्भावित राष्ट्रिय प्रमुखको रूपमा सशक्त रूपमा प्रस्तुत गर्दै उपयुक्त दाबेदार बनाएको हो।

बालेनले आफ्नो थर मा मोटो ‘श’ लेख्नु, जसलाई नेपाल को ठकुरी समुदाय हरूसँग जोडिने गरिन्छ ले उनी आफ्नो मधेसी पहिचान लुकाउन खोजेको आरोप समेत लगाइने गरिएको छ । यस्तै उनले आफूलाई मधेससँग जोडन नचाहेको त्यसै अनुरूप (केही समयअघि सम्म) आफूलाई प्रस्तुत गर्न खोजेको र संघीयता विरोधी सार्वजनिक अभिव्यक्ति दिँदै गरेको समेत आरोप लाग्दै आएको हो ।

तर यी लगायत अन्य केही उनी माथि लगाउने गरिएको आरोपहरू समाज, राष्ट्रियको अहितमा छैन। निहायत व्यक्तिगत छन, जसको राष्ट्रिय निर्माण,  इमान्दारिता, विकास निर्माण आदि सँग रतिभर साइनो छैन। र यही पक्षले उनलाई निर्धक्क अघि बढ्न असहज पार्दैन ।

सँगै उनको व्यक्तित्वमा एउटा ‘तिलस्मियता’ पनि देखिने गरिन्छ । कालो चस्मा, बढी हैन, फ्याट्ट मात्र चुरो कुरो बोल्ने । हरदम हरेक ठाउँमा हरेकका लागि प्रस्तुती सम्भव नहुने जस्ता अवस्थाले उनी के हुन् त्यो खोज्ने उत्सुकता जगाउने गरेको छ। जसले मान्छे झन् झन् बढी जान्न खोज्छन् । यसले समेत उनको आकर्षण बढाएको हुन सक्ने कुरा अस्वीकार गर्न सकिन्न ।

उनले गरेका विभिन्न संवादहरु जो आम व्यक्तिले श्रव्य दृश्य माध्यमले स्क्रीनमा हेर्छन् वा प्रत्यक्ष रूपमा मञ्चबाट हेर्छन् त्यसमा अधिकांश जसोमा श्रोता र वक्ता बीच प्रत्यक्ष आँखा जुध्ने जस्तो अवस्था हुन्न। यसले मानवीय स्वभाव स्वरूप थप जान्ने बुझ्ने उत्सुकता प्रदान गर्छ। उनले लगाउने कालो चस्मा त ‘स्टाइल’ नै भएको कसैसँग लुकेको छैन।

र सबै भन्दा बढी क्यालकुलेटिभ, सबैलाई चौकाउने खालको उच्चस्तरको जोखिम लिने उनको बानीले बालेनलाई अन्य व्यक्ति भन्दा पृथक बनाउँछ। यसको पछिल्लो उदाहरण पूर्व प्रधानमन्त्री नेपाल कम्युनिस्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीको चुनावी क्षेत्र मा गएर चुनाव लड्ने घोषणा समेत हो। यो सामान्य घोषणा होइन, अत्यन्त जोखिमपूर्ण भए पनि यसमा सफल भए उनी नेपालको सत्ताको शीर्षमा केही समय सम्म उत्कृष्टता सहित बसि रहने कुरामा कसैले चुनौती दिन सक्दैन।

यो खतरा उनी त्यतिखेर मोलेका हुन् जब जेन्जी आन्दोलन पछि काठमाडौँको जुन सुकै क्षेत्रमा उम्मेदवारी दिए आफू प्रचार गर्न नगए पनि विजय हुन सक्ने अवस्था देखिएको छ । यति मात्र नभई मधेसको केही क्षेत्रबाट पनि उनी ग्यारेन्टी चुनाव जित्न सक्ने अवस्थामा छन। यतिको सरल चुनाव छोडेर उनी एमालेको गढमा गएर राजनीतिका माहिर खेलाडी केपी शर्मा ओलीलाई चुनौती दिने आँट गर्नु सामान्य कुरा होइन ।

र यसरी आश्चर्य चकित पार्न सक्ने खालको खतरा मोल्ने उनको कार्य योजनाले नेपाली समाजको मनोभावना बुझ्दै उनलाई जित दिलाउन सक्ने ‘साइको-जियो-पोलिटिकल’, रणनीति हो कि ? गृहकार्य, सूचना सङ्कलन त्यस आधारमा गणना र त्यस पछि रणनीतिक रूपमा अगाडि बढ्नु । कथम कदाचित लड्यो भने लड्दा तल ‘गद्दा’, नै हुने गरी योजना निर्माण आदि आदि र इत्यादि ।  यसैले ३६ वर्षे बालेन्द्रलाई बालेन हुँदै ‘बालेन सरकार’ तर्फ उन्मुख गरेको छ। (अतुल मिश्र वरिष्ठ पत्रकार हुन उनी विज्ञान प्रविधि,  स्वास्थ्य र  राजनीति क्षेत्रमा कलम चलाउँदै आएका छन्।)


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : [email protected]

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!