हेमोफिलियाका बिरामीका लागि निःशुल्क औषधि नेपाल आइपुग्यो


काठमाडौं – रगत नजम्ने वंशाणुगत रोग हेमोफिलियाका बिरामीलाई लक्षित गर्दै निःशुल्क वितरण गरिने औषधि नेपाल आइ पुगेको छ। स्वास्थ्य मन्त्रालय र विश्व हेमोफिलिया महासंघ बीच भएको सहकार्य अनुसार उक्त औषधि स्वास्थ्य सेवा विभागमा आइ सकेको छ।

गत फागुन ४ गते दुवै पक्षबीच सम्झौता सम्पन्न भएको थियो। विभाग ले  अब वितरण प्रक्रिया सुरु गर्ने व्यवस्थापन महाशाखाका प्रमुख डा. पवनजंग रायमाझीले जानकारी दिए।

स्वास्थ्य मन्त्री प्रदीप पौडेलले यस अघि माघ १० गते सरकारी अस्पताल मार्फत हेमोफिलिया बिरामीलाई निःशुल्क औषधि उपलब्ध गराउने निर्णय गरेका थिए।

डा. रायमाझीका अनुसार, ‘५ प्रकारका औषधिहरू आएका छन्। आवश्यकताको आधारमा वितरण सूची तयार पारेर अस्पतालहरूमा पठाइनेछ।’

औषधि वितरणका लागि काठमाडौं स्थित त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल, कान्ति बाल अस्पताल र सिभिल अस्पताल छनोट गरिएको छ। यस्तै, सातै प्रदेशका १० प्रादेशिक अस्पतालमा पनि औषधि पठाउने व्यवस्था मिलाइएको मन्त्रालयले जनाएको छ।

हेमोफिलिया रोगको उपचार अत्यन्त महँगो हुने भएकाले बिरामी तथा सरोकारवाला समूहहरूले सरकारले औषधिको व्यवस्था गरि दिन पटक पटक आग्रह गर्दै आएका थिए। उक्त मागको आधारमा स्वास्थ्य .मन्त्रालय र विश्व हेमोफिलिया महासंघ बीच सम्झौता भई वितरण प्रक्रिया अघि बढेको हो।

विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा अझै पहिचानमा नआएका करिब ५ हजार हेमोफिलिया बिरामी हुन सक्ने अनुमान छ। सन् २०२१ को जनगणनाका आधारमा अपांगता भएका व्यक्तिहरूमध्ये ०.८ प्रतिशतमा हेमोफिलिया हुनसक्ने आँकलन गरिएको छ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!