नेपालमा पहिलो पटक डा. रवीन्द्र भक्त तिमलाको नेतृत्वमा ‘डबल रुट ट्रान्सलोकेसन’ शल्यक्रिया सफल


काठमाडौं – शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा ‘डबल रुट ट्रान्सलोकेसन’ नामक जटिल मुटु शल्यक्रिया पहिलो पटक सफलतापूर्वक सम्पन्न गरिएको छ।

यो शल्यक्रिया कास्की जिल्लाबाट आएका सात वर्षीय बालकमा गरिएको हो। जन्म देखि नै शरीर निलो देखिने, दगुर्न नसक्ने, तौल नबढ्ने र सास फेर्न गाह्रो हुने समस्याबाट ग्रस्त बालकको मुटुको बनावटमा गम्भीर त्रुटि रहेको थियो।

शल्यक्रिया टोलीका अनुसार बालकको मुटुबाट निस्कनु पर्ने दुई प्रमुख धमनीहरू – एओर्टा र पल्मोनरी आर्टरी – सामान्य अवस्थाको ठीक उल्टो दिशाबाट उत्पत्ति भएका थिए। साथै, पल्मोनरी भल्भ साँघुरिएको अवस्था समेत देखिएको थियो। यसले गर्दा अक्सिजन युक्त रगतको प्रवाहमा अवरोध भई शरीरमा अक्सिजनको अभाव हुने समस्या उत्पन्न भएको थियो।

शल्यक्रियामा दुवै धमनीहरूलाई जरै देखि हटाई आवश्यक स्थानमा पुनः प्रत्यारोपण गरिएको थियो, जसले शरीरमा अक्सिजन युक्त रगतको सामान्य प्रवाह सम्भव बनायो।

‘डबल रुट ट्रान्सलोकेसन’ शल्यक्रिया चीनको बेइजिङ स्थित फुवाई अस्पतालमा विकास गरिएको विधि हो। अत्यन्तै जटिल मानिने यो शल्यक्रिया विश्व भर सीमित शल्य चिकित्सक हरूले मात्र गर्ने गरेका छन्।

शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा सम्पन्न उक्त ऐतिहासिक शल्यक्रिया बाल मुटुरोग शल्यक्रिया युनिट प्रमुख डा. रवीन्द्र भक्त तिमलाको नेतृत्वमा सम्पन्न भएको थियो। शल्यक्रिया टोलीमा डा. मारीशा अर्याल र डा. गौरव ठकुरी सहभागी थिए। एनेस्थेसिया टोलीमा डा. सन्दीप भण्डारी र डा. आशिष अमात्य थिए।

१३ घण्टा लामो उक्त शल्यक्रियामा करिब पाँच घण्टा सम्म मुटु पूर्ण रूपमा बन्द गरिएको थियो। हाल शल्यक्रिया पछि बालकको स्वास्थ्य अवस्थामा सुधार आएको छ र उनी घर फर्कने तयारीमा रहेको जनाइएको छ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : [email protected]

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!