सम्पादकीय

सम्पादकीय: प्लास्टिकको चकचकीमुनि लुकेको मृत्युको छायाँ


सस्तो, टिकाउ, र सजिलो, प्लास्टिकका यी तीन विशेषताले यसलाई हाम्रो दैनन्दिन जीवनको अभिन्न हिस्सा बनाइदिएको छ । तर हालै प्रकाशित अन्तर्राष्ट्रिय अध्ययनले देखाएको यथार्थले हामी लाई गम्भीर प्रश्न सोध्न बाध्य बनाएको छ । के हामी आफ्नो सुविधा साटेर मृत्युलाई निम्त्याइ रहेका छौं?

ईबायोमेडिसिन जर्नलमा प्रकाशित रिपोर्ट अनुसार, प्लास्टिक उत्पादनमा प्रयोग हुने फ्थेलेट्स नामक रसायनले २०१८ मा मात्र विश्वभर ३५६,२३८ मानिसको ज्यान लिएको छ, जसमा ५५–६४ वर्ष उमेर समूहका हृदयघात जन्य मृत्यु मध्ये १० प्रतिशत भन्दा बढीको कारण यही रसायन थियो।

फ्थेलेट्सले शरीरमा प्रणालीगत सुन्न्याई ल्याउँछ, जुन मुटु, फोक्सो, प्रजनन प्रणाली र अन्य अंगहरूमा दीर्घकालीन असर पुर्‍याउँछ। यसले टेस्टोस्टेरोन स्तर घटाउने, पुरुषमा बाँझोपन ल्याउने, र बालबालिकामा हर्मोनल विकृति ल्याउने जस्ता समस्याहरू पनि निम्त्याउने पुष्टि भइसकेको छ।

समस्या यति गहिरो छ कि यसको सुरुवात तपाईँ, हाम्रो, हामी सबैको घर मै हुन्छ। हामी माइक्रोवेभमा तताउने प्लास्टिक कन्टेनर, बालबालिकाका रंगीचंगी खेलौना, कास्मेटिक उत्पादन, एयर फ्रेशनर र दैनिक सरसफाइ सामग्रीहरू प्रयोग गर्दै फ्थेलेट्सलाई अन्जान मै आत्मसात् गरि रहेका छौं।

यो केवल व्यक्तिगत समस्या होइन, सार्वजनिक स्वास्थ्य संकट हो। तर यो विकराल संकट बारे हामी कल्पना पनि गरि रहेका छैनौं। त्यसैले हामी ढुक्क भएर प्लास्टिकसँग लडीबुडी खेल्दै खतरनाक भविष्य निम्त्याइरहेका छौ । के तपाईँ सहर देखि दुर्गम गाउँ सम्ममा कुनै नेपालीको घर, जो प्लास्टिक मुक्त होस, देख्नुभएको छ ?

स्वास्थ्य नीति निर्माताले यस तर्फ गम्भीर ध्यान दिनु आवश्यक छ। तत्कालीन रूपमा फ्थेलेट्स युक्त उत्पादनको वर्गीकरण, चेतावनी लेबल, र दीर्घकालीन रूपमा सुरक्षित विकल्पको प्रवर्द्धन गर्नु आवश्यक छ। विद्यालय देखि स्वास्थ्य केन्द्र सम्म जनचेतना मूलक कार्यक्रम सञ्चालन गरेर समाज लाई जागरूक तुल्याइनु पर्छ।

उपभोक्ताको हैसियतले हामी पनि सचेत हुनु पर्छ। स्टिल, काँच वा काठका सामग्री प्रयोग गर्ने, प्लास्टिक प्याकेजिङ बाट जोगिने, गन्ध युक्त रसायन प्रयोग नगर्ने बानीले नै हामी आफ्ना परिवारलाई सुरक्षित राख्न सक्छौं।

प्लास्टिकको लतबाट मुक्त हुने समय यही हो। हामीले यदि आज चुप बस्यौं भने, भोलिको पुस्ताले हामीलाई उत्तरदायी ठहर गर्नेछ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : [email protected]

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!