गंगालालमा कोरियाली चिकित्सक सँगै सात बालबालिकाको सफल शल्यक्रिया, संक्रमण घटाउन विशेष कार्यशाला


काठमाडौँ- दक्षिण कोरियाका विज्ञ चिकित्सकहरूसँगको सहकार्यमा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रले जटिल मुटुरोग भएका सात बालबालिकाको सफल शल्यक्रिया गरेको छ। कोरियाको सोल नेशनल युनिभर्सिटीका विशेषज्ञ र गंगालालका चिकित्सकहरूको संयुक्त टोलीले ६ दिनमा यी शल्यक्रिया सम्पन्न गरेको हो।

अस्पतालले शल्यक्रियासँगै सेवाको गुणस्तर बढाउन र अस्पतालजन्य संक्रमण न्यूनीकरणका लागि सोल नेशनल युनिभर्सिटीका चिकित्सकहरूको सहभागितामा शनिबार एक दिने विशेष कार्यशालाको समेत आयोजना गरेको छ।

कार्यशालामा अस्पतालमा हुने संक्रमणका जोखिम, त्यसको रोकथाम र न्यूनीकरणका उपायबारे छलफल भएको केन्द्रका निमित्त कार्यकारी निर्देशक डा. रविन्द्र भक्त तिमलाले जानकारी दिए। प्राप्त सुझावहरू लाई अस्पतालमा क्रमशः कार्यान्वयन गर्दै लैजाने उनको भनाइ छ।

सोल नेशनल युनिभर्सिटी अन्तर्गत जे.डब्ल्यू. ली ग्लोबल मेडिकल सेन्टर र गंगालालका चिकित्सकको संयुक्त टोलीले ६ दिनमा जटिल मुटुरोग भएका सात बालबालिकाको सफल शल्यक्रिया गरेको हो।

कोरियाली बाल हृदय शल्य चिकित्सक डा. वुङ हाङ किम नेतृत्वको टोलीले गत आइतबार देखि शुक्रबार सम्म यी शल्यक्रिया गरेको हो। शल्यक्रिया गरिएका सबै बालबालिकाको स्वास्थ्य अवस्था अहिले सामान्य छ।

केन्द्रलाई अन्तर्राष्ट्रिय स्तरको बनाउन यस्ता सहकार्य र प्रविधि हस्तान्तरणले ठूलो सहयोग पुग्ने डा. तिमलाले बताए। विदेशी विशेषज्ञसँगको सहकार्यबाट प्राप्त ज्ञान र सीपले उपचार सेवाको गुणस्तर थप सुधार हुने अपेक्षा केन्द्रको छ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : [email protected]

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!