सन २०५० सम्म क्यान्सरका बिरामी दोब्बर हुने डब्ल्यूएचओको चेतावनी, गरिब देशमा उपचार पाउनै मुस्किल
काठमाडौं-विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले सन २०५० सम्ममा विश्वभर क्यान्सरका नयाँ बिरामीको संख्या झन्डै दोब्बर पुग्ने चेतावनी दिएको छ। तीव्र गतिमा बढिरहेको यो स्वास्थ्य संकट समाधानका लागि तत्काल ठोस र समान कदम नचाले वार्षिक नयाँ बिरामीको संख्या ३ करोड ५० लाख पुग्ने प्रक्षेपण गर्दै डब्ल्यूएचओले स्वास्थ्य सेवामा धनी र गरिब देशबीच रहेको गम्भीर असमानता तत्काल हटाउन विश्व समुदायलाई आग्रह गरेको छ।
डब्ल्यूएचओले अन्तर्राष्ट्रिय क्यान्सर अनुसन्धान एजेन्सी (आईएआरसी) सँगको सहकार्यमा सार्वजनिक गरेको ‘ग्लोबल स्टेटस रिपोर्ट अन क्यान्सर २०२६’ अनुसार हाल विश्वभर वार्षिक करिब २ करोड ६० लाख नयाँ क्यान्सरका बिरामी थपिने गरेका छन भने झन्डै १ करोड मानिसको मृत्यु क्यान्सरका कारण हुने गरेको छ। हरेक दिन २६ हजार भन्दा बढी मानिसले क्यान्सरका कारण ज्यान गुमाइरहेका छन । मुटु तथा रक्तनली सम्बन्धी रोगपछि क्यान्सर विश्वको दोस्रो प्रमुख मृत्युको कारण बनेको छ।
प्रतिवेदनले अहिले नै प्रभावकारी हस्तक्षेप नगरिए सन् २०५० सम्म वार्षिक नयाँ क्यान्सरका बिरामीको संख्या करिब ३ करोड ५० लाख पुग्ने प्रक्षेपण गरेको छ।
डब्ल्यूएचओका महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयससले क्यान्सरले लगभग सबै परिवारलाई कुनै न कुनै रूपमा असर गर्ने भए पनि उपचारबाट बच्ने वा नबच्ने अवस्था व्यक्तिको जन्मस्थान वा आर्थिक हैसियतमा निर्भर हुनु नहुने बताए। उनले प्रतिवेदनले देखाएको असमानता नीतिगत निर्णय र लगानीको परिणाम भएकाले एकीकृत प्रयासबाट त्यसलाई हटाउन सकिने उल्लेख गरे।
उपचार र पहुँचमा गम्भीर असमानता
प्रतिवेदनले क्यान्सरको रोकथाम, परीक्षण, उपचार र सहायक सेवामा देशहरू बीच ठूलो असमानता रहेको देखाएको छ।
उच्च आय भएका देशहरूमा स्तन क्यान्सर भएका ८७ प्रतिशत महिला निदान भएको पाँच वर्ष पछि पनि जीवित रहने गरेका छन। तर न्यून आय भएका देशहरूमा यो दर करिब ४२ प्रतिशत मात्र रहेको छ। त्यस्तै, विश्वका एकतिहाइ भन्दा कम देशहरूले मात्र आफ्नो सार्वभौमिक स्वास्थ्य सेवा (युनिभर्सल हेल्थ कभरेज) मा क्यान्सर उपचारलाई समावेश गरेका छन।
क्यान्सरका अत्यावश्यक औषधिमा पनि ठूलो अन्तर देखिएको छ। न्यून तथा निम्न मध्यम आय भएका देशहरूमा प्राथमिकतामा रहेका २० प्रकारका क्यान्सर औषधिको उपलब्धता ९ देखि ५४ प्रतिशत मात्र छ, जबकि उच्च आय भएका देशहरूमा यो ६८ देखि ९४ प्रतिशत सम्म पुगेको छ।
क्यान्सरको आर्थिक र मानसिक भार
डब्ल्यूएचओले पहिलो पटक क्यान्सर प्रभावित व्यक्तिहरूमाझ गरेको सर्वेक्षणले क्यान्सरले स्वास्थ्य सँगै आर्थिक, मानसिक र सामाजिक जीवनमा गम्भीर असर पार्ने देखाएको छ।
सर्वेक्षण अनुसार कम्तीमा ४५ प्रतिशत बिरामी आर्थिक कठिनाइमा परेका छन। आधा भन्दा बढीले मानसिक स्वास्थ्य सम्बन्धी समस्या भोगिरहेको बताएका छन भने अधिकांश हेरचाहकर्ताले निःशुल्क स्याहार, सामाजिक एक्लोपन र अतिरिक्त जिम्मेवारीको बोझ खेप्नुपरेको बताएका छन।
एसियामा सबैभन्दा बढी भार
सन २०२४ को तथ्यांक अनुसार विश्वका ५०.७ प्रतिशत नयाँ क्यान्सरका बिरामी र ५६.५ प्रतिशत मृत्यु एसियामा भएका थिए। युरोपले विश्वको कुल जनसंख्याको करिब ९ प्रतिशत मात्र ओगटे पनि विश्वका २१ प्रतिशत क्यान्सरका बिरामी र २० प्रतिशत मृत्यु त्यही क्षेत्रमा भएका छन। अफ्रिकाका धेरै देश र एसियाका केही भागमा क्यान्सरको दर कम भए पनि मृत्युदर भने असाधारण रूपमा उच्च रहेको प्रतिवेदनमा उल्लेख छ।
विश्वभर फोक्सोको क्यान्सर सबै भन्दा धेरै ज्यान लिने क्यान्सर बनेको छ। पुरुषमा फोक्सो, प्रोस्टेट र कोलोरेक्टल (आन्द्रा) क्यान्सर बढी देखिन्छ भने महिलामा स्तन, फोक्सो र कोलोरेक्टल क्यान्सर प्रमुख छन्।
४० प्रतिशत क्यान्सर रोक्न सकिने
प्रतिवेदन अनुसार विश्वभर हुने करिब ४० प्रतिशत क्यान्सर रोकथाम गर्न सकिने जोखिम कारकसँग सम्बन्धित छन्। एचपीभी, हेपाटाइटिस बी र सी, हेलिकोब्याक्टर पाइलोरी संक्रमण, सुर्तीजन्य पदार्थ, मदिरा, मोटोपना, शारीरिक निष्क्रियता, अस्वस्थ खानपान तथा वायु प्रदूषण प्रमुख जोखिम कारकका रूपमा उल्लेख गरिएका छन
आईएआरसीकी निर्देशक डा. एलिसाबेटे वाइडरपासले केही देशमा रोकथाम सम्बन्धी नीतिका कारण क्यान्सर घट्न थाले पनि विश्वव्यापी प्रगति अपेक्षाअनुसार हुन नसकेको बताइन। उनका अनुसार मोटोपना, शारीरिक निष्क्रियता, अस्वस्थ आहार र वायु प्रदूषणका कारण क्यान्सरको जोखिम बढ्दै गएकाले रोकथामलाई राजनीतिक प्राथमिकतामा राख्न आवश्यक छ।
केही क्षेत्रमा सुधार, तर चुनौती कायमै
सन २०१० यता विश्वभर सुर्तीजन्य पदार्थको प्रयोग २७ प्रतिशतले घटेको प्रतिवेदनमा उल्लेख छ, जसका कारण केही क्षेत्रमा फोक्सोको क्यान्सर कम हुन थालेको छ। साथै, सन २०१० मा ५० प्रतिशत देशसँग मात्र राष्ट्रिय क्यान्सर नियन्त्रण योजना रहेकामा अहिले ८२ प्रतिशत देशहरूले यस्तो योजना लागू गरेका छन। खोप कार्यक्रम र संक्रमण नियन्त्रणका कारण संक्रमणसँग सम्बन्धित केही क्यान्सर पनि घट्दै गएका छन।
यद्यपि यी उपलब्धि सबै देशका नागरिक सम्म समान रूपमा पुग्न नसकेको भन्दै डब्ल्यूएचओले अब बिरामी-केन्द्रित क्यान्सर नियन्त्रण प्रणाली निर्माण गर्नुपर्नेमा जोड दिएको छ।
प्रतिवेदनले क्यान्सर नियन्त्रणका लागि तीन प्रमुख रणनीतिक परिवर्तन प्रस्ताव गरेको छ। ती मध्ये क्यान्सर सेवालाई सार्वभौमिक स्वास्थ्य सेवामा समेट्ने र स्वास्थ्य जनशक्तिमा लगानी बढाउने, बिरामी तथा उनीहरूको अनुभवलाई नीतिको केन्द्रमा राख्दै सामाजिक सुरक्षा सुदृढ गर्ने तथा अनुसन्धान, नवप्रवर्तन र अत्यावश्यक उपचारमा सबैको समान पहुँच सुनिश्चित गर्ने विषयलाई प्राथमिकता दिइएको छ।

प्रतिक्रिया दिनुहोस