रगतको सामान्य परीक्षणबाटै डिप्रेसन र आत्महत्याको जोखिम पहिचान गर्ने सम्भावना, नयाँ अध्ययनले देखायो
काठमाडौँ- डिप्रेसन र आत्महत्या सम्बन्धी सोच जस्ता गम्भीर मानसिक स्वास्थ्य अवस्थाको पहिचान अब भविष्यमा रगत परीक्षण मार्फत थप वस्तुगत र वैज्ञानिक ढङ्गले गर्न सकिने सम्भावना देखिएको छ।
ल्याबमेड डिस्कभरी जर्नलमा प्रकाशित नयाँ अध्ययनले रगतमा रहेका केही विशिष्ट मेटाबोलाइट (रासायनिक अणु) को विश्लेषणबाट डिप्रेसनको अवस्था, यसको गम्भीरता तथा आत्महत्याको जोखिम समेत अनुमान गर्न सकिने संकेत दिएको हो। ल्याबमेड डिस्कभरी मा प्रकाशित यो अध्ययनलाई 👉 यहाँ क्लिक गरेर पढ्न सकिन्छ।
हाल डिप्रेसनको पहिचान मुख्यतः चिकित्सकसँगको अन्तर्वार्ता, व्यवहार मूल्याङ्कन तथा बिरामी आफैँले भर्ने प्रश्नावलीहरूमा आधारित हुने गरेको छ।
पेसेन्ट हेल्थ क्वेस्चनेयर–९ (पीएचक्यू–९) र बेक डिप्रेसन इन्भेन्टोरी–२ (बीडीआई–२) जस्ता उपकरण व्यापक रूपमा प्रयोग भए पनि ती व्यक्तिगत अनुभव र आत्म प्रतिवेदनमा निर्भर हुने भएकाले कतिपय अवस्थामा वास्तविक अवस्था छुट्न सक्ने वा उपचारमा ढिलाइ हुन सक्ने चुनौती रहेको अध्ययनले उल्लेख गरेको छ।
यसै चुनौतीलाई सम्बोधन गर्न अनुसन्धानकर्ताहरूले रगतमा हुने साना जैविक अणु अर्थात मेटाबोलाइटहरूको विस्तृत अध्ययन गर्ने ‘मेटाबोलोमिक विश्लेषण’ विधि प्रयोग गरेका छन। जापानका तीन चिकित्सा संस्थाबाट सङ्कलित नमुनाको बहु संस्थागत अनुसन्धानमा मूड डिसअर्डर भएका बिरामी र स्वस्थ व्यक्तिको प्लाज्मा नमुना तुलना गरिएको थियो।
अनुसन्धानमा १०० भन्दा बढी मेटाबोलाइटको परीक्षण गर्दा डिप्रेसनसँग लगातार सम्बन्ध देखिएका पाँच प्रमुख तत्व पहिचान भएका छन। ती हुन: थ्री–हाइड्रोक्सीब्युटिरेट (३एचबी), बेटाइन, साइट्रेट (साइट्रिक एसिड), क्रिएटिनिन र गामा एमिनोब्युटिरिक एसिड (गाबा)।
अध्ययन अनुसार थ्री हाइड्रोक्सीब्युटिरेट शरीरमा ऊर्जा स्रोतका रूपमा काम गर्ने मात्र होइन, सूजन कम गर्ने र मस्तिष्कको अनुकूलन क्षमता सुधारसँग पनि सम्बन्धित देखिएको छ। बेटाइनले मिथाइलेसन तथा कोशिकीय तनाव नियन्त्रणमा भूमिका खेल्छ भने साइट्रेट शरीरको ऊर्जा उत्पादन प्रक्रियाको प्रमुख हिस्सा हो। गाबा मस्तिष्कको प्रमुख अवरोधक न्युरोट्रान्समिटर मानिन्छ, जसको कमी डिप्रेसनसँग सम्बन्धित हुन सक्ने संकेत अध्ययनले दिएको छ। क्रिएटिनिनको स्तर भने शरीरको मांसपेशी अवस्था र ऊर्जा चक्रसँग जोडिएको देखिएको छ।
अध्ययनले डिप्रेसनलाई एउटै रोग नभई फरक फरक जैविक विशेषता सहितको अवस्था हुन सक्ने अवधारणा पनि अघि सारेको छ। उदासी, अपराधबोध, आत्ममूल्यहीनता र आत्महत्या सम्बन्धी सोच जस्ता लक्षणहरूसँग फरक फरक मेटाबोलाइटको सम्बन्ध देखिएको अनुसन्धानकर्ताहरूले बताएका छन।
विशेष रूपमा आत्महत्या सम्बन्धी सोचको मूल्याङ्कनमा रगतमा पाइने साइट्रेट र काइनुरेनिन जस्ता तत्वहरूको संयोजनलाई आर्टिफिसियल इन्टेलिजेन्स (एआई) तथा मेसिन लर्निङ मोडेल मार्फत विश्लेषण गर्दा जोखिमको स्तर अनुमान गर्न सकिने सम्भावना देखिएको छ। यसले उच्च जोखिममा रहेका व्यक्तिको समय मै पहिचान र हस्तक्षेपमा सहयोग पुग्न सक्ने अपेक्षा गरिएको छ।
यस सँगै अन्य क्लिनिकल अध्ययनहरूले थ्री हाइड्रोक्सीब्युटिरेटको उच्च स्तर भएका बिरामीमा आत्महत्या सम्बन्धी सोच बढी देखिएको र केही एन्टिडिप्रेसेन्ट उपचार प्रति प्रतिक्रिया अनुमान गर्न समेत यसको उपयोगिता हुन सक्ने संकेत दिएका छन।
मानव अध्ययन सँगै जनावरमा गरिएको अनुसन्धानले पनि तनाव र डिप्रेसन बीच जैविक सम्बन्ध रहेको देखाएको छ। अध्ययन अनुसार दीर्घ मानसिक तनावले आन्द्राबाट ट्रिप्टोफान नामक आवश्यक एमिनो एसिडको अवशोषण घटाउन सक्छ। ट्रिप्टोफान सेरोटोनिन र काइनुरेनिन उत्पादनको आधार भएकाले यसको कमीले न्युरो ट्रान्समिटर सन्तुलन बिग्रिनुका साथै मस्तिष्कमा सूजन बढ्ने प्रक्रिया सक्रिय हुन सक्छ। यसले आन्द्रा, प्रतिरक्षा प्रणाली र मस्तिष्क बीचको सम्बन्धलाई थप स्पष्ट बनाएको अध्ययनले जनाएको छ।
यद्यपि अनुसन्धानकर्ताहरूले यो प्रविधि अझै प्रारम्भिक चरणमा रहेको र तत्काल नियमित स्वास्थ्य सेवामा प्रयोग गर्न नमिल्ने बताएका छन। रक्त सङ्कलन, परीक्षण प्रक्रिया, भण्डारण तथा विश्लेषणका अन्तरले नतिजामा असर पार्न सक्ने भएकाले अन्तर्राष्ट्रिय स्तरमा एकीकृत मापदण्ड आवश्यक रहेको उनीहरूको भनाइ छ।
तर आगामी दिनमा यस्तो रक्त आधारित परीक्षण प्रणाली विकसित भए मानसिक अस्पताल मात्र होइन, सामान्य स्वास्थ्य जाँच, कार्यस्थल स्वास्थ्य परीक्षण र समुदाय स्तरको स्वास्थ्य सेवा मार्फत पनि डिप्रेसनको प्रारम्भिक पहिचान, जोखिम वर्गीकरण र उपचार व्यवस्थापनमा नयाँ सम्भावना खुल्ने विश्वास गरिएको छ।

प्रतिक्रिया दिनुहोस