प्रा. डा. रामेश्वर पोखरेलको ‘बेसिक्स अफ पिडियाट्रिक सर्जरी’ सार्वजनिक: दुर्गमका चिकित्सक र नर्सलाई पनि उपयोगी
काठमाडौं- नेपालमा बाल शल्य चिकित्सा (पिडियाट्रिक सर्जरी) सम्बन्धी पाठ्य सामग्रीको अभावलाई सम्बोधन गर्ने उद्देश्यका साथ प्रा. डा. रामेश्वर प्रसाद पोखरेलद्वारा लिखित तथा सम्पादित ‘बेसिक्स अफ पिडियाट्रिक सर्जरी’ पुस्तक सार्वजनिक भएको छ।
जन्मजात विकृति, संक्रमण, ट्रमा र बाल क्यान्सर जस्ता जटिल विषय समेटिएको यो पुस्तकले ग्रामीण क्षेत्रका स्वास्थ्यकर्मीलाई समय मै बिरामी रेफर गर्न सघाउने र अन्ततः बाल मृत्युदर न्यूनीकरणमा महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ।
‘बेसिक्स अफ पिडियाट्रिक सर्जरी: ए टेक्स्ट बुक फर मेडिकल स्टुडेन्ट्स एन्ड प्रोफेशनल्स’, का लेखक प्रा. डा. पोखरेलका अनुसार पुस्तक बाल शल्य चिकित्सा सम्बन्धी विषयगत प्रस्तुतीकरणको कमी, रोगको उत्पत्ति, उपचार विधि तथा बिरामीलाई उपयुक्त स्वास्थ्य संस्थामा स्थानान्तरण गर्ने प्रक्रिया सम्बन्धी व्यवस्थित जानकारी अभाव रहेको अवस्थालाई ध्यानमा राखेर तयार गरिएको हो।
बाल शल्य चिकित्सा सम्बन्धी ज्ञान विस्तार गर्दै समय मै उचित उपचार र प्रभावकारी रेफरल प्रणाली अपनाउन सके शिशु तथा बाल मृत्युदर कम गर्न सहयोग पुग्ने विश्वासका साथ पुस्तक लेखिएको उनले उल्लेख गरेका छन।
पुस्तकलाई १८ वटा परिच्छेद अर्थात विभिन्न शारीरिक प्रणालीका आधारमा विभाजन गरिएको छ। प्रत्येक परिच्छेदलाई एउटै ढाँचामा संरचित गरिएको छ, जसलाई पुस्तकको विशेषता मानिएको छ।
प्रत्येक परिच्छेदमा जन्मजात विकृति तथा विकास सम्बन्धी समस्याबाट उत्पन्न हुने रोग, संक्रमण तथा सूजनजन्य शल्य समस्या, ट्रमा, चोट पटक तथा खेलकुदसँग सम्बन्धित अवस्थाहरू समेटिएका छन। साथै सिस्ट, ट्युमर तथा क्यान्सरसँग सम्बन्धित रोग, वातावरणीय प्रभाव, पैत्रिक कारण तथा वंशाणुगत आधारमा हुने बालरोग बारे पनि जानकारी दिइएको छ।
यस सँगै प्रत्येक प्रणाली अन्तर्गत आधुनिक उपचार प्रविधि, उपचार पद्धति तथा बाल शल्य चिकित्सा सेवा सम्बन्धी व्यवहारिक पक्षहरू पनि समावेश गरिएको लेखकले बताएका छन।
प्रा. डा. पोखरेलका अनुसार पुस्तक मेडिकल विद्यार्थी, विभिन्न विधाका एमएस तथा एमडी रेसिडेन्ट, डीएम तथा एमसीएच अध्ययनरत विद्यार्थीका लागि उपयोगी हुने गरी तयार गरिएको छ।साथै दुर्गम क्षेत्रमा कार्यरत चिकित्सक, नर्सिङ समूह तथा प्यारामेडिकल जनशक्तिलाई बाल शल्य चिकित्साका बिरामीको प्रारम्भिक उपचार र सुविधा सम्पन्न अस्पतालमा उचित स्थानान्तरण प्रक्रियामा समेत सहयोग पुग्ने उद्देश्य राखिएको छ।
लेखकले यो पुस्तक नेपाली परिवेश अनुसार तयार गरिएको र नेपालमा बाल शल्य चिकित्सा विषयमा यस प्रकारको पुस्तक पहिलो हुन सक्ने दाबी समेत गरेका छन। साथै पुस्तक नेपाली स्वास्थ्य प्रणालीका लागि उपयोगी हुनुका साथै अन्तर्राष्ट्रिय क्षेत्रमा पनि सान्दर्भिक र प्रभावकारी हुने विश्वास व्यक्त गरेका छन।

प्रतिक्रिया दिनुहोस