विश्व मौसम विज्ञान संगठनको चेतावनी: ढोकामै आइपुग्यो ‘एल निन्यो’, दक्षिण एसियामा कम वर्षा र चरम मौसमको जोखिम
काठमाडौँ- प्रशान्त महासागरको उष्णकटिबन्धीय क्षेत्रमा समुद्री सतह असामान्य रूपमा तातिँदै गएसँगै विश्वभर तापक्रम र वर्षाको ढाँचामा ठूलो परिवर्तन ल्याउने ‘एल निन्यो’ प्रणाली सक्रिय हुन थालेको छ। विश्व मौसम विज्ञान संगठन (डब्लुएमओ) ले आगामी महिनाहरूमा यसको प्रभावका कारण दक्षिण एसिया सहित विश्वका विभिन्न क्षेत्रमा अत्यधिक गर्मी, खडेरी, बाढी र अन्य चरम मौसमी घटनाको जोखिम बढ्ने चेतावनी दिएको छ।
वर्ल्ड मेटियोरोलोजिकल अर्गनाइजेशन (डब्लुएमओ) ले सार्वजनिक गरेको ‘एल निन्यो/ला निन्या अपडेट’ अनुसार सन २०२६ को जुन देखि अगस्ट सम्म एल निन्यो विकसित हुने सम्भावना ८० प्रतिशत रहेको छ। यसको प्रभाव कम्तीमा नोभेम्बर सम्म कायम रहने सम्भावना ९० प्रतिशत वा सो भन्दा बढी रहेको अनुमान गरिएको छ। अधिकांश पूर्वानुमान मोडेलहरूले एल निन्योलाई कम्तीमा मध्यम स्तरको र सम्भवतः शक्तिशाली हुन सक्ने संकेत गरेका छन।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले यसलाई तत्काल ध्यान दिनु पर्ने जलवायु चेतावनीका रूपमा व्याख्या गरेका छन। उनले भिडियो सन्देश मार्फत भने, ‘विज्ञान स्पष्ट छ, आगामी महिनाहरूमा एल निन्यो ९० प्रतिशत निश्चितता सहित हाम्रो ढोका सम्म आइपुग्दैछ। तातिरहेको विश्वमा यसले थप दबाब सिर्जना गर्नेछ र यसको असर सीमापार सम्म तीव्र रूपमा फैलिन सक्छ।’
डब्लुएमओका अनुसार अप्रिल अन्तिम देखि मेको मध्य सम्म मध्य तथा पूर्वी भूमध्यरेखीय प्रशान्त क्षेत्रमा समुद्री सतहको तापक्रम एल निन्योको सीमा नजिक पुगेको देखिएको छ। महासागरको सतह मुनिको तापक्रम औसत भन्दा ६ डिग्री सेल्सियस भन्दा बढी रहेको र यही अतिरिक्त ताप ऊर्जा सतहलाई थप तातो बनाउन जिम्मेवार रहेको बताइएको छ।
एल निन्योसँग सम्बन्धित वायुमण्डलीय सूचक ‘सदर्न असिलेसन इन्डेक्स’ ले पनि एल निन्यो अवस्था विकसित हुँदै गएको पुष्टि गरेको डब्लुएमओले जनाएको छ।
डब्लुएमओकी महासचिव सेलेस्ते साउलोले सम्भावित शक्तिशाली एल निन्योका लागि तत्काल तयारी आवश्यक रहेको बताएकी छन।उनका अनुसार यसले खडेरी, अत्यधिक वर्षा, स्थल र समुद्रमा तापलहर तथा अन्य चरम मौसमी घटनाको जोखिम बढाउनेछ। ‘२०२३–२४ को एल निन्यो अभिलेखमा रहेका पाँच सबैभन्दा शक्तिशाली घटनामध्ये एक थियो, जसले २०२४ मा विश्वव्यापी तापक्रम नयाँ कीर्तिमानमा पुग्न भूमिका खेलेको थियो,’ उनले भनिन।
एल निन्यो पृथ्वीको सबैभन्दा प्रभावशाली प्राकृतिक जलवायु प्रणालीमध्ये एक ‘एल निन्यो-सदर्न असिलेसन (इएनएसओ)’ को तातो चरण हो। यो मध्य तथा पूर्वी भूमध्यरेखीय प्रशान्त महासागरको सतही तापक्रम बढ्दा विकसित हुन्छ। सामान्यतः यो प्रत्येक २ देखि ७ वर्षमा देखा पर्छ र ९ देखि १२ महिनासम्म कायम रहन सक्छ।
डब्लुएमओले जारी गरेको विश्वव्यापी मौसमी जलवायु अद्यावधिक अनुसार जुन-जुलाई-अगस्ट अवधिमा विश्वका लगभग सबै क्षेत्रमा औसतभन्दा बढी तापक्रम रहने अनुमान गरिएको छ। यसले तापजन्य जोखिम, खडेरी तथा बहुआयामिक जलवायु संकटलाई थप गम्भीर बनाउन सक्छ।
वर्षाको ढाँचामा पनि एल निन्योसँग मिल्दोजुल्दो परिवर्तन देखिने अनुमान गरिएको छ। केही क्षेत्रमा अत्यधिक वर्षा र बाढीको जोखिम बढ्नेछ भने अन्य क्षेत्रमा सुख्खापन र खडेरी बढ्न सक्छ।
क्षेत्रीय जलवायु पूर्वानुमानले दक्षिण एसियामा यस वर्ष औसत भन्दा कम मनसुन वर्षा हुने संकेत गरेको छ। त्यस्तै मध्य अमेरिका, अष्ट्रेलिया, इन्डोनेसिया र अफ्रिकाका केही क्षेत्रमा पनि सुख्खा अवस्था बढ्न सक्ने अनुमान गरिएको छ।
यद्यपि डब्लुएमओले जलवायु परिवर्तनले एल निन्योको आवृत्ति वा तीव्रता प्रत्यक्ष रूपमा बढाएको प्रमाण नरहेको जनाएको छ। तर तातो महासागर र वायुमण्डलले यससँग सम्बन्धित प्रभावलाई थप तीव्र बनाउन सक्ने चेतावनी दिएको छ।
डब्लुएमओले सरकार, मानवीय सहायता निकाय तथा कृषि, स्वास्थ्य, ऊर्जा र जल व्यवस्थापन जस्ता जलवायु-संवेदनशील क्षेत्रलाई समय मै तयारी गर्न आग्रह गरेको छ। संगठनले पूर्व सूचना प्रणाली, मौसमी पूर्वानुमान र प्रमाणमा आधारित निर्णयलाई जनजीवन र अर्थतन्त्रमा पर्ने असर कम गर्ने महत्वपूर्ण उपायका रूपमा उल्लेख गरेको छ।

प्रतिक्रिया दिनुहोस