सामाजिक सञ्जालमा बिरामीको भिडियो राख्ने र औषधि सिफारिस गर्ने डाक्टरलाई कारबाहीको चेतावनी
काठमाडौँ – नेपाल मेडिकल काउन्सिलले पछिल्लो समय सामाजिक सञ्जाल मार्फत ‘अनलाइन परामर्श’ का नाममा बिरामीको गोपनियता भंग गर्ने र जथाभावी औषधि सिफारिस गर्ने चिकित्सकहरूलाई कारबाही गर्ने चेतावनी दिएको छ।
टिकटक, इन्स्टाग्राम र फेसबुक जस्ता प्लेटफर्ममा चिकित्सकहरूले बिरामीसँग सम्बन्धित भिडियो सामग्री सार्वजनिक गर्ने र प्रत्यक्ष परीक्षण नगरी औषधि सेवनको सल्लाह दिने क्रम बढे पछि काउन्सिलले यस्तो कदम चालेको हो।
बिरामीको स्वास्थ्यमा गम्भीर जोखिम
काउन्सिलले शुक्रबार सूचना जारी गर्दै स्वास्थ्य सेवा जस्तो संवेदनशील क्षेत्रमा बिरामीको उचित परीक्षण र प्रत्यक्ष मूल्याङ्कन नगरी दिइने सल्लाहले गम्भीर जोखिम निम्त्याउन सक्ने बताएको छ। ‘काउन्सिलमा दर्ता भएका चिकित्सकको प्रत्यक्ष संलग्नता बिना औषधि खान सुझाव दिनु वा प्रचार गर्नुले बिरामीको स्वास्थ्यमा दीर्घकालीन हानि पुग्न सक्छ,’ सूचनामा भनिएको छ।
यस प्रकारका क्रियाकलापलाई काउन्सिलले ‘गैरजिम्मेवार र अवैज्ञानिक’ ठहर गरेको छ। यस्ता सूचनाले सर्वसाधारणमा भ्रम फैलाउने र गलत औषधिको प्रयोगले स्वास्थ्यमा अपूरणीय क्षति पुग्ने उच्च सम्भावना रहने काउन्सिलको निष्कर्ष छ।
काउन्सिलको निर्देशन र चेतावनी
काउन्सिलले चिकित्सक तथा स्वास्थ्यकर्मीहरूका लागि स्पष्ट निर्देशन समेत जारी गरेको छ ।
- गोपनीयताको रक्षा: बिरामीसँग सम्बन्धित भिडियो राख्नै पर्ने अवस्था भएमा बिरामीको अनुहार र पहिचान पूर्ण रूपमा गोप्य राख्नु पर्नेछ।
- परीक्षण बिना औषधिमा रोक: सामाजिक सञ्जाल मार्फत परीक्षण नगरी औषधि सिफारिस गर्ने कार्य तुरुन्त बन्द गर्न निर्देशन दिइएको छ।
- आचारसंहिताको पालना: कुनै पनि स्वास्थ्य परामर्श दिँदा वैज्ञानिक आधार, प्रमाणित तथ्य र पेशागत आचार संहिताको पूर्ण पालना गर्नुपर्नेछ।
सर्वसाधारणलाई अपिल
काउन्सिलका रजिष्ट्रार डा. सतिस कुमार देव द्वारा हस्ताक्षरित सूचनामा सर्वसाधारणलाई पनि सचेत रहन आग्रह गरिएको छ। सामाजिक सञ्जालमा देखिने अप्रमाणित सल्लाहका आधारमा औषधि प्रयोग नगरी योग्य र काउन्सिलमा दर्ता भएका चिकित्सकसँग मात्र परामर्श लिन काउन्सिलले अनुरोध गरेको छ।
यी निर्देशनहरू उल्लंघन गरेको पाइएमा मेडिकल काउन्सिल ऐन र प्रचलित कानुन अनुसार कडा कारबाही गरिने व्यहोरा सूचनामा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस