डाक्टरलाई पनि सातामा दुई दिन बिदा दिन माग, चिकित्सकमा बढ्दो ‘बर्न आउट’ प्रति मेडिकल एसोसिएसनको चिन्ता


काठमाडौँ – नेपाल चिकित्सक सङ्घले सरकारले हालै घोषणा गरेको सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णयको स्वागत गर्दै उक्त व्यवस्था चिकित्सक र स्वास्थ्यकर्मीहरूको हकमा पनि अनिवार्य रूपमा लागू गर्न माग गरेको छ।

स्वास्थ्यकर्मीहरूमा अत्यधिक कार्य बोझका कारण मानसिक र शारीरिक थकान अर्थात ‘बर्न आउट’ को समस्या बढ्दै गएकाले उनीहरूलाई पनि दुई दिने बिदा आवश्यक रहेको सङ्घको ठहर छ।

सङ्घले जारी गरेको विज्ञप्तिमा अन्य पेसाकर्मी सरह स्वास्थ्यकर्मी लाई पनि शनिबार र आइतबार बिदा दिँदा उनीहरूको कार्य क्षमतामा सुधार आउने र बिरामीले गुणस्तरीय सेवा पाउने उल्लेख गरिएको छ।

निरन्तरको ड्युटी र ‘बर्न आउट’ को जोखिम

सङ्घका अनुसार हाल नेपाली चिकित्सक र स्वास्थ्यकर्मीहरूले दैनिक २४ देखि ७२ घण्टासम्म लगातार सेवामा खटिनुपर्ने चुनौतीपूर्ण अवस्था छ। अन्तर्राष्ट्रिय श्रम सङ्गठनले सातामा ४२ घण्टाको कार्य समय तोकेको भए तापनि नेपालमा स्वास्थ्यकर्मीहरू त्यो भन्दा कयौँ गुणा बढी समय काममा जोतिनु परेको छ।

लामो समय सम्म आराम बिना काम गर्दा स्वास्थ्यकर्मीहरूमा ‘बर्न आउट’ (अत्यधिक कार्य तनावका कारण उत्पन्न हुने शारीरिक र मानसिक शिथिलता) देखिने गरेको छ। यसले गर्दा चिकित्सकहरूको व्यक्तिगत जीवन मात्र नभई उनीहरूले प्रदान गर्ने उपचारको गुणस्तरमा समेत गम्भीर असर पर्न सक्ने औँल्याइएको छ।

मानसिक स्वास्थ्य र कार्यकुशलता

‘चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई समेत शारीरिक तथा मानसिक तनाव व्यवस्थापन गर्न अन्य पेसाकर्मीलाई जस्तै पर्याप्त आरामको आवश्यकता छ,’ महासचिव डा. सञ्जीव तिवारीद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

सङ्घले स्वास्थ्यकर्मीहरू मानसिक रूपमा स्वस्थ र तरोताजा भए मात्र अस्पतालहरूमा बिरामीको चापलाई प्रभावकारी ढङ्गले व्यवस्थापन गर्न सकिने तर्क गरेको छ।

सङ्घले दुई दिने बिदाको निर्णयलाई स्वास्थ्य क्षेत्रमा पनि पूर्ण रूपमा कार्यान्वयन गराउन नेपाल सरकारलाई विशेष आग्रह गरेको छ। यसो गर्दा स्वास्थ्यकर्मीहरूले पर्याप्त विश्राम पाउने र पुनः नयाँ ऊर्जाका साथ बिरामीको सेवामा समर्पित हुन सक्ने सङ्घको विश्वास छ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : [email protected]

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!