राजनीतिक भागबन्डाले थलिएको स्वास्थ्य क्षेत्र: राजनीतिक नियुक्ति पाएकालाई पद त्याग गर्न रवि लामिछाने को आग्रह


काठमाडौँ – नेपालका सरकारी संयन्त्र र विशेष गरी जनस्वास्थ्य सँग प्रत्यक्ष जोडिएका निकायहरू लामो समय देखि राजनीतिक भागबन्डाको शिकार बन्दै आएका छन। योग्यता र क्षमता भन्दा पनि दलप्रतिको बफादारिता र ‘थैली’ को प्रभावमा गरिने नियुक्तिका कारण स्वास्थ्य क्षेत्रले ठुलो क्षति व्यहोर्नु परेको छ। यही बेथिति अन्त्यको संकेत गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सभापति रवि लामिछानेले राजनीतिक नियुक्ति पाएका पदाधिकारीहरूलाई तत्काल पद त्याग गरी मार्ग प्रशस्त गर्न आग्रह गरेका छन।

बिहीबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै लामिछानेले उक्त आग्रह गरेका हुन् ।  विगतका सरकारहरूले आफ्ना आसेपासे र पार्टीका झन्डा बोक्नेहरूलाई विभिन्न पदमा भर्ती गर्दै आएको थियो । त्यस्ता व्यक्तिहरूले स्वेच्छाले राजीनामा दिनुपर्ने लामिछानेले बताए।

स्वास्थ्य क्षेत्रमा ‘हाम्रो मान्छे’ को दबदबा र दुर्गति

दशकौँ देखि स्वास्थ्य मन्त्रालय मातहतका विभाग, सरकारी अस्पताल, परिषद, प्रतिष्ठान,  मेडिकल काउन्सिल, स्वास्थ्य बिमा बोर्ड लगायतका संवेदनशील निकायहरूमा राजनीतिक नियुक्तिको विकृति जकडिएको छ।

विज्ञता भएका ‘राम्रा’ व्यक्तिलाई पाखा लगाएर ‘हाम्रा’ र आर्थिक चलखेलमा संलग्न व्यक्तिहरूलाई जिम्मेवारी दिँदा स्वास्थ्य सेवा प्रवाहमा गम्भीर समस्या देखिएका छन।

यस्ता नियुक्तिले गर्दा नीतिगत भ्रष्टाचार मौलाएको, अस्पतालको उपकरण खरिदमा अनियमितता बढेको र सर्वसाधारणले सहज स्वास्थ्य सेवा पाउन नसकेको अवस्था छ। स्वास्थ्य क्षेत्रलाई कमाइ खाने भाँडो बनाउने र बिचौलियाको सेटिङमा चल्ने परिपाटीले गर्दा सरकारी अस्पतालहरूको अवस्था दिनानुदिन बिग्रँदै गएको छ।

‘हनिमुन पिरियड’ नचाहिने घोषणा

रास्वपा सभापति लामिछानेले नयाँ सरकारलाई काम गर्नका लागि कुनै ‘हनिमुन पिरियड’ को सुविधा नचाहिने र आफूहरू सेकेन्ड सेकेन्ड गनेर काम गर्न मैदानमा उत्रिएको बताए। उनले विगतमा पारदर्शिता र जवाफ देहिताको अभावले गर्दा मुलुकले सही गति लिन नसकेको स्वीकार गर्दै अब सुशासनको वेग नरोकिने उद्घोष गरे।

उनले निजी क्षेत्रलाई आश्वस्त पार्दै भने, ‘बिचौलिया र माफियाहरूले बिगारेको व्यावसायिक वातावरण अब सुधार हुनेछ। अब नीतिहरू बजारमा बिक्री हुने छैनन् र निर्णयहरू कसैको दबाबमा गरिने छैनन्।’

लामिछानेले प्रतिपक्षी दलहरूलाई सरकारको काममा २४ सै घण्टा निगरानी राख्न र बाटो बिराएमा सच्याइदिन समेत आग्रह गरे।

स्वास्थ्य क्षेत्र लगायतका सार्वजनिक निकायमा रहेका राजनीतिक नियुक्तिहरूको पुनरावलोकन गरी योग्य व्यक्तिलाई स्थान दिए स्वास्थ्य सेवामा सुधार आउने अपेक्षा गरिएको छ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : [email protected]

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!