जुर्मुरायो चिकित्सक संघको निर्वाचन: यस्तो छ पछिल्लो अपडेट
काठमाडौँ – प्रतिनिधिसभा निर्वाचनका कारण स्थगित भएको नेपाल चिकित्सक संघको केन्द्रीय कार्यकारिणी समितिको निर्वाचन प्रक्रिया फेरि अघि बढ्ने भएको छ। निर्वाचन समितिले उम्मेदवारहरूसँग छलफल गर्न बैठक बोलाएको छ।
संघका प्रमुख निर्वाचन अधिकृत डा. प्रणय रत्न शाक्यद्वारा जारी सूचना अनुसार प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगले लागू गरेको निर्वाचन आचार संहिताका कारण संघको निर्वाचन कार्यक्रम यस अघि स्थगित गरिएको थियो। आयोगको आचार संहिताको अवधि सकिएप छि निर्वाचन प्रक्रिया अघि बढाउने तयारी गरिएको हो।
निर्वाचन समितिको २०८२ फागुन ३० गते बसेको बैठकले निर्वाचन कार्यक्रम अगाडि बढाउने विषयमा उम्मेदवारहरूसँग छलफल गर्ने निर्णय गरेको छ। सोही निर्णय अनुसार सबै उम्मेदवार वा उनका प्रतिनिधिलाई बैठकमा उपस्थित हुन आग्रह गरिएको छ।
बैठक २०८२ चैत ४ गते बुधबार बिहान ११ बजे नेपाल चिकित्सक संघको केन्द्रीय कार्यालय, प्रदर्शनीमार्गमा बस्नेछ।
यस अघि प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि लागू गरिएको निर्वाचन आचारसंहिताका कारण विभिन्न संघसंस्थाका कार्यक्रम स्थगित गर्न निर्वाचन आयोगले निर्देशन दिएको थियो। सोही निर्देशन पछि नेपाल चिकित्सक संघको निर्वाचन पनि रोकिएको थियो।
चिकित्सक संघको निर्वाचन प्रक्रिया यस अघि अदालतको आदेशका कारण पनि प्रभावित भएको थियो। उच्च अदालत पाटनले निर्वाचन प्रक्रिया नियम अनुसार पूरा नभएको ठहर गर्दै हाललाई निर्वाचन नगर्न अन्तरिम आदेश जारी गरेपछि माघ २ र ३ गतेका लागि तय गरिएको निर्वाचन स्थगित गरिएको थियो।
निर्वाचन तालिका अनुसार उपत्यका बाहिर माघ २ र ३ गते तथा उपत्यका भित्र माघ १५, १६ र १७ गते मतदान गर्ने कार्यक्रम सार्वजनिक गरिएको थियो। तर प्रतिनिधिसभा निर्वाचनका लागि लागू भएको आचारसंहिता पछि निर्वाचन प्रक्रिया पुनः रोकिएको थियो।

प्रतिक्रिया दिनुहोस