हेटौंडामा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको भवन बन्दै: असारभित्रै काम सक्ने लक्ष्य
हेटौंडा – बागमती प्रदेश सरकारको गौरवको आयोजना मानिएको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले आफ्नै शैक्षिक भवन पाउने भएको छ। हेटौंडा उपमहानगरपालिका-१० स्थित टिसिएन क्षेत्रमा बिहीबार देखि प्रिफ्याब भवन निर्माणको काम औपचारिक रूपमा सुरु गरिएको हो।
अहिले भाडाका कोठामा शैक्षिक कार्यक्रम चलाइरहेको प्रतिष्ठानले आफ्नै संरचना बनाउन ८ करोड ६१ लाख १७ हजार ९ सय १ रुपैयाँ खर्च गर्दैछ। यो भवन निर्माण भएपछि कक्षाकोठा, प्रयोगशाला र प्रशासनिक काम एउटै छानामुनिबाट सञ्चालन हुनेछन।
मुख्यमन्त्रीको आग्रह: ‘समयमै काम सक्नुस्, बोनस लैजानुस’
भवनको शिलान्यास गर्दै बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले निर्माण कम्पनीलाई गुणस्तरीय काम गर्न र तोकिएको समय अगावै आयोजना सम्पन्न गर्न आग्रह गरे। उनले समयमै काम सक्ने कम्पनीलाई सरकारले बोनस दिने व्यवस्था गरेको समेत स्मरण गराए।
कार्यक्रममा पूर्व मुख्यमन्त्री डोरमणि पौडेल, भौतिक पूर्वाधार विकास मन्त्री डा. दिनेशचन्द्र देवकोटा, स्वास्थ्य मन्त्री किरण थापा लगायतको उपस्थिति थियो। वक्ताहरूले यस प्रतिष्ठानलाई प्रदेशकै स्वास्थ्य शिक्षाको ‘हब’ बनाउने योजना रहेको बताए।
किन आवश्यक थियो यो भवन?
प्रतिष्ठानले हाल दक्ष स्वास्थ्य जनशक्ति उत्पादनका लागि विभिन्न शैक्षिक कार्यक्रम चलाइरहेको छ। तर, स्थायी भौतिक पूर्वाधार नहुँदा पठन पाठनमा कठिनाइ भइरहेको थियो। प्रतिष्ठानका उपकुलपति डा. प्रदीप ज्ञवालीका अनुसार नयाँ भवन बनेपछि शैक्षिक र प्राविधिक गतिविधिहरू थप व्यवस्थित हुनेछन ।
निर्माण कम्पनीसँग आगामी असार १५ गतेभित्रै काम सक्ने गरी सम्झौता भएको छ। प्रदेश सरकारले यसको नियमित अनुगमन गर्ने र असार भित्रै भवन हस्तान्तरण हुने अपेक्षा गरिएको छ।
आयोजनाको मुख्य विवरण
- कुल लागत: रु ८ करोड ६१ लाख (करिब)
- प्रविधि: प्रिफ्याब (छिटो तयार हुने आधुनिक संरचना)
- सम्पन्न गर्नुपर्ने मिति: २०८३ असार १५ गतेभित्र
- विशेषता: आधुनिक कक्षा कोठा, व्यवस्थित ल्याब र प्रशासनिक ब्लक

प्रतिक्रिया दिनुहोस